शिक्षकलाई विद्यार्थीको चिठी « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

शिक्षकलाई विद्यार्थीको चिठी


१२ बैशाख २०७७, शुक्रबार


आदरणीय टिचर नमस्कार ।

विषय होमवर्क सम्बन्धमा ।

आराम छु । पक्कै तपाई पनि आराम हुनुहुन्छ होला ? किनकि अहिले सम्म शिक्षकलाई कोरोना भाइरसको संक्रमण भएको समाचार आएको छैन । यसैबाट मैले तपाई सन्चै भएको अनुमान गरेको छु । अन्य रोग त औषधी खाए ठिक हुन्छन् । त्यसैमा तपाई त झनै सबै कुरा जान्ने सोचेका मेरा बाबा आमा भन्दा पनि धेरै जानेको मान्छे पर्नु भयो । पत्र लेख्नुपर्ने नै ठुलो कारण त थिएन । तर कोरोना भाइरसले घरमै लक भएर बस्नु पर्दा तपाइलाई सम्झे ।

लकडाउन भएको केही दिन त विद्यालय पनि बन्द भएकोमा म खुसी थिए । हरेक दिन विद्यालय जानु पर्दा विद्यालय मन पर्दैन थियो । अहिले भित्रै कोचिएर बस्नु भन्दा विद्यालय जानु नै ठिक जस्तो लाग्दै छ । त्यसैमा झन् बाबा मम्मी “पढ” मात्र भन्नुहुन्छ । तपाई आफै भन्नु न ? के पढ्नु मैले ? पुरानो पढौँ परीक्षा भइसक्यो । नयाँ पढौँ रिजल्ट भएको छैन। हरेकपल्ट तपाई नै भन्नुहुन्थ्यो । “यो परीक्षा आउँछ राम्रोसँग पढ्नु । ”अहिले पढेर के गर्नु पुरानोको परीक्षा भइसक्यो नयाँको कहिले परीक्षा हुन्छ थाहा नै छैन । परीक्षामा नआउने कुरा के पढ्नु । पत्र लेख्नु पर्ने कारण भन्दा भन्दै अरू तिर पो गए छु ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन यति लामो हुन्छ भन्ने थाहा भएको भए तपाईँलाई म पहिले नै पत्र लेख्थ्ये होला । अस्ति एक दिन बाबाले मोबाइल चार्जमा राखेर कता जाँदा यसो लुकेर मोबाइल हेरेको थिए ।त्यसमा लकडाउनमा विद्यार्थीले के गर्ने ? अभिभावकले के गर्ने ? शिक्षकले के गर्ने ? जस्ता कुराहरू लेखेका समाचार हेरेको थिए । तर पुरा हेर्न नपाउँदै बाबा आइहाल्नु भयो ।

एक दनक दिइहाल्नु भयो । त्यसपछि यसो सोचे मैले पनि हुजुरलाइ लकडाउनको गृहकार्य दिँदा ठिक्कै हुन्छ जस्तो लाग्यो । किन पत्र लेख्नु नै पर्‍यो र जस्तो पनि नलागेको हैन । फेरि तपाईँले नै भनेको सम्झे ।“विद्यालय औपचारिक संस्था हो । यहाँ हुने सबै कार्य औपचारिक हुन्छन् । त्यसैले विद्यालय नआउने दिन निवेदन लेख्नु पर्छ । ”यसबाट तपाई पनि औपचारिक जस्तो लाग्यो । त्यसैले औपचारिक पत्र लेख्ने जमर्को गरे । पत्रको विषय पढ्दा नै तपाइलाई हल्का रिस उठ्न पनि सक्छ । मैले वर्षभरि होमवर्क गरेकै छु त रिसाएको छैन। त्यसैले तपाई पनि नरिसाउनु होला । हुन त तपाईँले नै एक दिन भन्नु भएको हो ।

“रिसाउँदा स्वास्थ्यलाई असर गर्छ ।” सबै जाने बुझेको मान्छे किन रिसाउनु होला र ? छोडौँ यी सबै कुरा । मैले घरमा कुनै काम बिगार्दा बाबाले ठुलो स्वरमा भन्नु हुन्छ ।“स्कुलमा शिक्षकले यही सिकाउँछन् ?” त्यति बेला मलाई तपाईँको महत्त्व थाहा हुन्छ । अबको नयाँ कक्षामा भेट हुँदा सम्मको लागि म तपाईँलाई होमवर्क दिँदै छु । तपाईँले दिएको होमवर्क त म सधैँ गर्थे र गर्नेछु पनि । तपाईँले दिने होमवर्क तपाई चेक त गर्नु हुन्छ । तर अलि गहिरोसँग हेर्नु भएन जस्तो लाग्छ मलाई । तपाई सही कति छन् , भन्ने भन्दा पनि गलत कति छन्, त्यो धेरै खोजे जस्तो लाग्छ ।

त्यहाँ पेन्सिलले लेखको धर्को भित्र मेरी मम्मीको चड्कन देखिने छाप पनि हुन्छ तर त्यो पनि देखिनु पर्ने । तर कहिल्यै देखि जस्तो लागेन। त्यो पेन्सिलले लेखिएको होमवर्कमा मेरा बाबाको धम्कीले झरेको आँसुले लतपतिएको हुन्थ्यो । खेल्न नपाएको निराशा त्यो कपिको पन्ना भरिएको हुन्छ । त्यो पनि देखे जस्तो लाग्दैन। पेन्सिलको धर्को त केवल तपाईँलाई भ्रम मात्र परेको हो।त्यो भ्रम मेरा बाबा र मम्मी दुबैलाई छ । तपाईँहरू सबैको भ्रम देख्दा लाग्छ मेरा बाबा, मम्मी र तपाई उस्तै उस्तै हो । अक्षर देख्ने आँसु नदेख्ने । गलत देख्ने सही नदेख्ने ।

तपाईँले दिने होमवर्कमा सिहंदरवार भित्र को बस्छन् भन्ने प्रश्नलाई तिम्रो छिमेकी को हुनुहुन्छ नाम लेख भन्ने बनाउन मिल्दैन ? समुन्द्र बस्ने जनावरको नाम लेख भन्ने प्रश्नलाई तिम्रो घर नजिकको पोखरीमा के बस्छन् भन्ने बनाउन मिल्दैन ? बाल अधिकार भनेको के हो ? सोध्नुभन्दा तिमी बस्ने बेन्च ठिक छ ?, शिक्षकको व्यवहार कस्तो लाग्छ ? भनेर सोध्न मिल्दैन ? अरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्दा तिमीलाई हामीले कस्तो व्यवहार गर्दा खुसी लाग्छ भन्ने बनाउँदा कस्तो होला ? मलाई यो देशमा कति जना प्रधानमन्त्री भए सोध्नु भन्दा पहिले कति जना तिम्रा मिल्ने साथी छन् भन्दा कस्तो होला ? माया के हो ? त्यो नसोध्नुस् ! बरु माया कसरी गर्ने ? सोध्ने कि ? ओ माई टिचर ! मेरा बाबा मम्मी र तपाईँमा एउटा समानता देख्छु । त्यो हो “गर कम भन्ने नगर” धेरै भन्ने ।

म जे गर्दा पनि `नगर´ भन्नू हुन्छ`गर´ कहिल्यै भन्नुहुन्न ।यता नगर ,उता नगर । म आफै गिलासमा पानी राख्न सक्छु । तर तपाईँहरू भन्नू हुन्छ `नगर´ पोखिन्छ । म विस्तार हिँड्न मात्र हैन दौडिन पनि सक्छु तर तपाईँहरू `नगर´ लडिन्छ भन्नुहुन्छ । मलाई टिभीको रिमोट चलाउन मज्जाले आउँछ । बाबा त्यो पनि “नगर” बिग्रन्छ भन्नुहुन्छ । तपाईँहरूले पावरवाला चस्मा लगाएर चलाउने मोबाइल म त्यतिकै चलाउन सक्छु । फेरि भन्नुहुन्छ `नगर´ बिग्रन्छ । म तपाईँले दुई पटकमा चढ्ने भर्‍याङको सिँढी एकै पटक पार गर्न सक्छु । तर तपाई भन्नुहुन्छ `नगर´लडिन्छ ।

म उस्तै परे बाटो मै नाचिदिन्छु तर तपाईँहरू भन्नुहुन्छ “नगर” लाज हुन्छ । मैले गर्ने के हो ?? सबै नगर भन्नुहुन्छ यता नजा, उता नजा , यो नखाऊ ,नचलाऊ, नबोल , नदौड , पेन्सिल नकाट , हल्ला नगर , ननाच , नाहेर , नसुत , आदि कति छन् कति ? साँच्चै ! कसम ! पक्का टिचर मलाई अहिले तपाईँहरू “नगर” भन्ने कुरा तपाइहरूले म जस्तै हुँदा गर्नु भएन ? भगवान् कसम भन्नू न ? कि तपाईँहरूको बा र आमाले अहिलेकै तपाईँहरू जस्तै जन्माउनु भएको थियो कि ? तपाईँ लड्नु भएन ? खेल्नु भएन ? , दौडिनु भएन ? चकचक गर्नु भएन ? केही गर्नु भएन ? म तपाई जस्तै बन्न बोल्न पर्छ । तपाई `नबोल´ भन्नुहुन्छ ।

इन्जिनियर बन्न कापीमा केरकार धेरै गर्नुपर्छ ।तपाईँ कापी `नकोर´ भन्नुहुन्छ । खेलाडी बन्न दौडिनु पर्छ तपाईँ `नदौड´ भन्नुहुन्छ ।कलाकार बन्न `नाच्न , बोल्न , गाउन´ पर्छ तपाईँ ननाच, नगाऊ नबोल ´ भन्नुहुन्छ । लेख्ने र पढ्ने मात्र गर अरू सबै `नगर´ भन्नुहुन्छ । किन ?? डोन्ट माइन्ड माई रेस्पेक्टेड टिचर । तपाई यो जान्नु भएको छैन भनेर सोधेको हैन ।

नजानेको भए त कसरी मेरो टिचर हुनुभयो होला र ! तर कतै व्यवहारमा प्रयोग गर्दा कमजोरी गर्नु भयो की भन्ने थोरै शङ्का भने छ मलाई । तपाईँको आज्ञाकारी विद्यार्थी भएकोले यति शङ्का गर्ने अधिकार त छ होला मलाई ? अनि अर्को कुरा किन मलाई मात्र होमवर्क दिनुहुन्छ ? अलि अलि मेरा बाबा मम्मीलाई दिने कि ? मैले घरमा तपाईँले दिएको होमवर्क गर्दा मेरा बाबा मम्मीले के गर्नु पर्छ । त्यो पनि दिने की ? यो तपाईँको लकडाउन होमवर्क ल ।अनि मात्र मलाई । अनि म पनि साच्चिकै पेन्सिलले होमवर्क गर्नेछु, आँसुले हैन । ओके, बाइ ! सी यु सुन ! अफ्टर लकडाउन ! स्टे होम !

उही तपाईँको आज्ञाकारी
स्टुडेन्ट

Tags :
प्रतिक्रिया दिनुहोस