पृथ्वी दिवस, २०२० ‘जलवायु प्रतिकार्य’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पृथ्वी दिवस, २०२० ‘जलवायु प्रतिकार्य’


११ बैशाख २०७७, बिहिबार


विश्व पृथ्वी दिवस अर्थात् अन्तर्राष्ट्रिय मातृ भूमि दिवसको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना । वास्तवमा आज भन्दा ५० वर्ष अघि नै प्रकृति संरक्षणका लागि अनुभूतिमूलक वातावरणीय ह्रास, बढ्दो वायु, जल प्रदूषण, फोहोर मैला तथा प्राकृतिक स्रोतसाधनको अवैज्ञानिक, अव्यवस्थित प्रयोगबाट तत्कालीन र दीर्घकालीन रूपमा समग्र थलमञ्डल, जलमञ्डल र वायुमण्डलमा पर्नसक्ने नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्नका लागि सचेतना र आवश्यक नीति नियमको तर्जुमा गरी न्यूनीकरणका कार्यक्रम र उपायहरु अवलम्बन गराउने कार्यलाई प्रोत्साहन गर्नका लागि यो दिवस मनाउन लागिएको बुझिन्छ। अथवा भोगिरहेका र भोग्नुपर्न सक्ने वातावरणीय सङ्कटबाट मुक्ति पाउने उद्देश्यले यो दिवस सुरु गरिएको हुनुपर्दछ।

यस वर्षको दिवसको मुलनारा ‘जलवायु प्रतिकार्य’ (क्लाइमेट एक्सन), जुन दिगो विकास लक्ष्यहरू मध्येको एक प्रमुख लक्ष्य पनि हो। त्यति मात्रै पनि होइन जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि (युएनएफसीसीसी) को नेतृत्वमा विश्वव्यापीकरण देखा परिरहेको जलवायु परिवर्तनको न्यूनीकरण मार्फत मानवजातिको सुरक्षाका लागि लिइएको एक नीति पनि हो। यस महासन्धिको २१ औँ सम्मेलन मार्फत जलवायु परिवर्तन सम्बन्धी महत्वकाक्षी लक्ष्य तथा क्रियाकलापहरू राखी साझा सम्झौताको रूपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता आङ्गिकार गरिएको थियो। उक्त पेरिस सम्झौतालाई विश्व पृथ्वी दिवसकै अवसरमा हस्ताक्षरका लागि खुला गरिएको थियो। उक्त सम्झौताको लागि कुल विश्वव्यापी उत्सर्जनको ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्ने महासन्धिका कम्तीमा ५५ पक्षराष्ट्रहरुले समर्थन, स्वीकृत र सम्मिलन गर्नुपर्ने व्यवस्था अनुसार न्यूनतम पक्षराष्ट्रहरु सङ्ख्या प्राप्त भइसके पछि ४ नोभेम्बर, २०१६ देखि लागू भएको थियो। हालसम्म उक्त सम्झौताको पक्षराष्ट्रहरुको सङ्ख्या नेपाल सहित १८९ छ। जलवायु परिवर्तनका विरुद्ध क्षमता अभिवृद्धि गर्न र न्यून कार्बनयुक्त दिगो भविष्य निर्माण गर्नाका लागि आवश्यक कार्य र लगानीलाई बढाउन र अझ तीव्रता प्रदान गर्नका निमित्त महासन्धि अन्तर्गत गरिएको महत्त्वपूर्ण आधारशिलाका रूपमा यस सम्झौलाई लिइएको छ।

यस सम्झौताले तापक्रम वृद्धिलाई पूर्व औद्योगिक अवधिको भन्दा यस शताब्दीमा २ डिग्री सेल्सियस भन्दा सकेसम्म कम राख्ने र हर सम्भव १.५ डिग्री सेल्सियससम्म सीमित राख्न अधिकतम प्रयास गर्दै जलवायु परिवर्तनका खतरा विरुद्धको विश्वव्यापी प्रयासहरूलाई सुदृढीकरण गर्ने प्रमुख उद्देश्य लिएको छ। सम्झौताको तापक्रम सम्बन्धी यस दीर्घकालीन लक्ष्यका सम्बन्धमा जलवायु परिवर्तन सम्बन्धी प्रमुख सूचकका तापक्रमका सम्बन्धमा विश्व मौसम सङ्गठनले पृथ्वी दिवसको अवसरमा प्रकाशन गरेको प्रतिवेदनबाट केही कुरा यहाँ साभार गर्ने प्रयास गरिएको छ।

सन् १९७० देखि पृथ्वी दिवस मनाउन सुरु गरिएको थियो जतिवेला विश्वको तापक्रम पूर्व औद्योगिक समयभन्दा ०.२४ डिग्री सेन्टिग्रेडले मात्र बढी थियो भने सन् १९७० देखि हालसम्म उक्त वृद्धि ०.८६ डिग्री सेल्सियसले बढेको छ।

सन् १८५० यताका सबैभन्दा गर्मी वर्षहरू मध्ये १८ वटा वर्षहरू विगत २ दशकको अवधिमा देखा परेका छन्। १९८० यताका हरेक दशकहरूमा पछिल्लो अवधि भन्दा गर्मी हुँदै गइरहेको देखाएको छ। उदाहरणका लागि पछिल्ला पाँच वर्षको अवधि (सन् २०१५–२०१९) को अवधिको तापक्रम वृद्धि १.१ डिग्री सेल्सियस छ, जुन अवधि लगातार सबै भन्दा गर्मी वर्षहरूको रूपमा अवलोकन गरिएको छ। उक्त वृद्धिदर सन् २०११–२०१५ को अवधिको तुलनामा ०.२ डिग्री सेल्सियले बढी हो। सन् २०१६ र २०१९ सबैभन्दा बढी गर्मी महसुस गरिएका वर्षहरू मध्ये पहिलो र दोस्रो स्थानमा पर्दछन्।

उक्त तथ्याङ्कहरूले पूर्व औद्योगिक अवधिको भन्दा हाल देखिएको परिवर्तनहरूका वहुप्रमाणहरुले जीवजन्तु, मानव जाती र पारिस्थितिकीय प्रणालीमा प्रभाव परिरहेको सिद्ध गरेको छ। उक्त मानव सृजित गर्मिपनाका कारण जलवायु प्रणालीमा धेरै परिवर्तनहरू देखा परिसकेका छन् । जमिन र समुद्री तापक्रममा वृद्धि, सामुद्रिक तहमा वृद्धि, तातो हावा वहने बारम्बार तामा वृद्धि, अति जन्य मौसमी घटनाको आवृत्ति र प्रकृतिमा वृद्धि हुनु आदि। यसरी जलवायु परिवर्तनको कारण विश्वको कुनै पनि स्थान अछुतो रहेको छैन।

समुद्र भन्दा जमिन, उच्च पर्वत र अन्टार्टिक क्षेत्रमा बढी उष्णता हुने पाइएको छ। पृथ्वीको औसत तापक्रम पूर्व औद्योगिगस्तर भन्दा औसत तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भैसकेको छ, उक्त वृद्धिदर समय र भौगोलिक स्थान अनुसार ०.८ देखि १.२ डिग्री सेल्सियसको अन्तरालमा रहेको छ। यस प्रकारको वर्तमान वृद्धिदर कायम रहिरहेमा सन् २०३० र २०५२ को अवधिमा वैश्विक उष्णता १.५ डिग्री सेल्सियस पुग्ने वैश्विक उष्णताको प्रभाव सम्बन्धमा नीतिप्रसाङ्गिक सूचनाहरू प्रदान गर्ने जलवायु परिवर्तन अन्तर सरकारी समूह आईपीसीसी को विशेष प्रतिवेदनमा पनि जनाएको थियो।

जमिन सतहको तापक्रम वृद्धिदर सामुद्रिक सतहको भन्दा बढी छ, जुन क्रमशः १.७ र ०.८३ डिग्री सेल्सियस रहेको छ। सन् २०१४–२०१९ को अवधिमा सामुद्रिक सतहमा प्रति वर्ष ५ मिलिमिटरले वढिरेहेको देखाएको छ। उक्त सामुद्रिक उकासमा हिमनदी योगदान ०.८३ मिलिमिटर प्रति वर्ष रहेको छ। पछिल्लो दशकमा प्रति वर्ष ३०० गिगाटनका दरले हिउँको अंश विलीन हुन गएको छ। विगतका ५ वर्षहरूमा मुख्यतः तातो हावाको लहरमा वृद्धि हुनाले विश्वका विभिन्न स्थानहरूमा वन डढेलोका घटनाहरूमा वृद्धि भइरहेको छ भने तापजन्य बिमारीको अनुपात सन् १९८० यता उल्लेख्य वृद्धि भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। जसका अनुसार विश्वका कुल जनसङ्ख्याको ३०प्रतिशत मानिसहरूले बर्सेनि औसतमा २० दिन अति उच्च तापक्रममा वस्नुपरिरहेको छ। जुन स्वास्थ्यका लागि घातक साबित छ। यसै गरी बढी, पहिरो, खडेरी, असिना, चट्याङ, चक्रवात, टोर्नाडो, शितलहरका समस्यहरु पनि हालका वर्षहरूमा बढ्दो क्रममा रहेका छन्।

विश्व वातावरण कार्यक्रमका अनुसार हरेक चार महिनामा मानवमा एक नयाँ रोगको सङ्क्रमण हुने गर्दछ, जस मध्ये ७५प्रतिशत पशुमार्फत सर्ने गर्दछ। यसर्थ मानव, पशु र वातावरणीय स्वास्थ्य एक(आपसमा अन्तरसम्वन्धित छन्। जलवायु परिवर्तनका कारण नयाँ रोगहरू देखा पर्ने, सङ्क्रमण प्रबलता बढ्ने गरेको विभिन्न क्षेत्रगत अध्ययनले पनि देखाएको छ। यसर्थ जलवायु सुहाउँदो व्यवहार आजको आवश्यकता हो। हालको कोभिड महामारीको कारण सामाजिक(आर्थिक गतिविधिहरूको दुःखद घट्टोत्तरीले अस्थायी रूपमा देखिएको वायु गुणस्तरको सुधार तथा हरित गृह ग्यासहरूको उत्सर्जन न्यूनीकरण सकारात्मक पक्ष भएता पनि यस असहनशिल माहामारि लगत्तै तीव्रतर नकारात्मक अवस्था बढ्ने निश्चित छ।

यसै गरी हिमालको काखमा अवस्थित नेपाल आकारमा सानो र विकासको हिसाबले पछाडि परेको देश भएता पनि जलवायु परिवर्तनका कारण यहाँको प्राकृतिक स्रोत सम्पदा, हावापानी र मौसमी प्रणालीमा अधिकतम नकारात्मक प्रभाव पारिहेरेको छ। मूख्यतयाः दक्षिण एसियाली मनसुन प्रणाली मार्फत हुने वर्षा र हिम श्रृखलाहरुको अवस्थितिमा ठुलो विचलन आएको छ। नेपालको औषत तापक्रम विगत करिब ५० वर्षको अवधिमा ०.८ डिग्री सेल्सियसले बढिसकेको छ भने जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकतम तापक्रम एक दशकमा ०.५६ डिग्री सेल्सियसले वृद्धि भईरेहको छ।

जल तथा मौसम सम्बद्ध प्रकोपहरूको हानी नोक्सानी, अतिजन्य र नवीन प्रकोपहरूको घटनाहरूमा वृद्धि भइरहेको छ। औषत तापक्रम यस शताब्दीको अन्तसम्ममा १.७ देखि ३.६ डिग्री सेल्सियससम्म बढ्ने र हिउँले ढाकेको आधा भाग विलय हुने अनुमान गरिएको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिका प्रावधान, पेरिस सम्झौता, दिगो विकास लक्ष्य तथा राष्ट्रिय नीति कार्यक्रमहरुः पन्धौं आवधिक योजना, राष्ट्रिय जलवायु परिवर्तन नीति र जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदानले निर्दिष्ट गरेका क्रियाकलापहरूको कार्यान्वयन मार्फत जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्दै जलवायु उत्थानशील विकास गर्नु आजको आवश्यकता हो।यसर्थ मानव र पृथ्वीको सुरक्षाका लागि हाम्रा आर्थिक–सामाजिक क्रियाकलापहरूलाई थप दिगो वानउन आवश्यकतालाई यस वर्षको पृथ्वी दिवसले सन्देश गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस