खाद्य कम्पनी जोगाउँदै सरकारको साख « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खाद्य कम्पनी जोगाउँदै सरकारको साख


११ बैशाख २०७७, बिहिबार


काठमाडौँ । सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारको साख जोगाउँदै छ ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना कहरले नेपाललाईसमेत छोपेसँगै छाएको सन्त्रासका बिच घोषित उद्देश्य प्राप्तिमा सफलता हासिल गर्दै गएको कम्पनीले सरकारको साख मात्रै जोगाएको छैन कि खरो रूपमा बजार प्रतिस्पर्धामा समेत उत्रेको छ ।

निजी क्षेत्रबाट सञ्चालित अनलाइन पोर्टलहरूले मात्रै होम डेलिभरीको व्यवस्था गर्दै आएकोमा पहिलो पटक सरकारी कम्पनीका रूपमा अनलाइन सुरुसँगै व्यापारिकरुपमा समेत फड्को मारेको छ ।
सेवा सुरु गरेको दुई सातामै खाद्य कम्पनीले ७२ क्विन्टल बढी खाद्यान्न होम डेलिभरी गरिसकेको छ ।

लकडाउनका बेला उपभोक्तालाई सहज होस् भन्ने हेतुले गत चैत्र २६ गतेबाट सुरु भएको अनलाइन डेलिभरी सेवा आइतबारसम्म चामल र सिमी गरेर ७२ क्विन्टल ८९ किलोग्राम होम डेलिभरी गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।

‘दुईदेखि तीन जनाको समूहमा दैनिक तीन वटा टोलीले उपत्यकाको चक्रपथभित्र होम डेलिभरी गर्दै आएको छ’, सुवेदीले भनिन्, ‘दैनिक १५ देखि २० वटा अर्डर आइरहेको छ, यो बढ्दो क्रममा छ ।’

यो भनेको दुईदेखि पाँच हजार बिचको अर्डर हो । सामान मगाउँदा कम्तीमा दुई हजार रुपैयाँको हुनुपर्नेछ भने अधिकतम पाँच हजारसम्मको उपभोग्य वस्तु मात्रै कम्पनीले होम डेलिभरी गर्दै आएको छ ।

अहिले कम्पनीले जापनिज चामल, सोना चामल र सिमी होम डेलिभरी गर्दै आएको छ । जसमध्ये जापनिज चामल सबैले मन पराएको सूचना अधिकारी न्यौपानेले बताइन् ।

कम्पनीले नेपालफुड डट जीओभी डट एनपी अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको दैनिक उपभोग्य वस्तु अर्डर गर्न सकिन्छ । लकडाउन अवधिभर सामान अर्डर गर्ने उपभोक्तालाई थप डेलिभरी चार्ज नलिने र खाद्यान्नको मूल्यमा १० प्रतिशत छुट कम्पनीले दिँदै आएको छ ।

हाल कम्पनीसँग एक लाख ९९ हजार क्विन्टल चामल, पाँच सय ५० क्विन्टल दाल(सिमी) र ६ सय ७० क्विन्टल फापर मौज्दात रहेको छ । जसमध्ये ३७ हजार सात सय ९० क्विन्टल खाद्यान्न सरकारले तोकेका दुर्गम २४ वटा जिल्लाका लागि स्टक राखिएको छ ।

खाद्य कम्पनीसँग स्टक हुन्जेल सम्म कसैले भोकै बस्न नपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीको भनाई छ ।

‘हामीसँग उपलब्ध भएको चामल र दाल उपत्यका भित्र होम डेलिभरी गर्ने र स्थानीय तहलाई राहतका लागि उपलब्ध गराउने गरेका छौँ’ प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने, ‘थप आइटमहरूसमेत बढाउन लागेकोले समस्या हुँदैन’

त्यसो त उपत्यकामा घुम्ती सेवामार्फत दैनिक एक लाख बढीको व्यापार गर्न थालिसकेको कम्पनीले उपभोक्तालाई सर्वसुलभ मूल्यमा टोल टोलमा दैनिक उपभोग्य वस्तुहरू पुर्याउदै आएको छ । कम्पनीले पुस १६ गतेदेखि उपत्यकाका रिङ रोड भित्रका आधा दर्जन जति ठाउँहरूमा घुम्ती सेवा सुरु गरिसकेको छ । हाल लकडाउनका कारण भिडभाड हुने भएकोले तत्काललाई रोकेर अनलाइनबाट सेवा दिन थालेको हो ।

सरकारले साबिकको नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ आपसमा गाभेर नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाएसँगै थप व्यापार गर्न सक्ने समेत बाटो खुलाएको छ । यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू उपभोक्तासम्म पु¥याई बजार मूल्य नियन्त्रणमा समेत सघाउ पुग्ने देखिन्छ ।

कोरोना सङ्क्रमणको रोकथाम पछि उपत्यका बाहिरका स्थानहरूमा पनि घुम्ती सेवा र अनलाइनमार्फत होम डेलिभरी सेवालाई बिस्तार गर्दै लैजाने योजना बनाएको सुवेदीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस