घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


११ बैशाख २०७७, बिहिबार


रामपुर । पाल्पाको रम्भा गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ ।

गाउँपालिकाका दुई हजार ५५७ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण भएको छ ।

गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनका समयमा समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दङ्ग छन् ।

यसबाहेक गाउँपालिकाले दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

तरकारी किन्न किसानकै बारीमा
लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएसँगै पाल्पाका गाउँगाउँमा कृषकको घर तथा खेतबारीमा तरकारी खरीद गर्न जाने क्रम बढ्दो छ । रामपुर नगरपालिका वडा नं ७ बहखोलाका सुकदेव न्यौपानेलाई तरकारी टिपेर बेच्न भ्याइनभ्याई छ । बन्दाबन्दीको समय लम्बिँदै जान थालेपछि उनको घरमा तरकारी खरीद गर्न व्यापारी तथा ग्राहक पुग्ने गरेका छन् ।

रामपुरका बेझाड र किसानबारी बजारदेखि ग्राहक तथा व्यापारी घरमै पुगेर तरकारी खरीद गर्न थालेपछि व्यवसायीमा उत्साह बढेको न्यौपानेले बताउनुभयो । “पहिला बजारमा लिएर जानुपथ्र्यो, अहिले घरमै आएर खरीद गरी लैजाने गरेका छन्, तरकारी बेच्न भ्याईनभ्याई छ”, उनले भने ।

उनले करीब पाँच रोपनी जग्गामा काँक्रा, लौका, घिँरौला र करेला जातका तरकारी लगाएका छन्। उनी लकडाउनयता अहिलेसम्म खर्च कटाएर रु एक लाख ५० हजार बराबरको कृषिजन्य उत्पादन बिक्री गरिएको बताउँछन् ।

कोरोना भाइरस संक्रमणबाट जोगिन घरमा तरकारी लिन आउनेलाई दूरी कायम गरेर मात्र कृषकले बिक्री गर्ने गरेका छन् । सोही ठाउँकै तुलसी न्यौपानेलाई पनि तरकारी लगाउन र बेच्न भ्याइनभ्याई छ । बिहानको समय तरकारी बिक्री गर्ने तथा बाँकी समय बिरुवा लगाउने र गोडमेल गर्दैमा बित्ने गरेको उनले अनुभव सुनाए ।

लकडाउनले आफूलाई कृषि कार्यमा व्यस्त बनाएको अर्का कृषक रामपुर –४ बस्ने दिलबहादुर थापाले बताए । “पहिला घरमा एकछिन काम सकाएर साथीभाइसँग गफ गर्ने, विभिन्न ठाउँमा घुमफिर गर्ने गरिन्थ्यो,” उनले भने, “अहिले घरबाट बाहिर जान नभएपछि तरकारी लगाउने, टिप्ने बेच्ने कार्य भइरहेको छ ।”

उनले करीब दश रोपनी जग्गामा करेला, घिरौँला, लौका र बोडी जातका तरकारी लगाएका छन् । उनले लकडाउनकै बेला रु एक लाखभन्दा बढीको तरकारी बिक्री गरिसकेका छन्। जिल्लामा दुई हजार १२६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । जिल्लाका सबैजसो स्थानमा तरकारी खेती गरिए पनि मदनपोखरा, हार्थोक, पोखराथोक र मुझुङ्ग क्षेत्र तरकारीको मुख्य क्षेत्र मानिन्छन् । लकडाउनका कारण धेरैका भान्सामा कम तरकारी पाक्ने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस