अध्यक्ष ओली र दाहालबाट पार्टीका सांसद्हरुसँग छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अध्यक्ष ओली र दाहालबाट पार्टीका सांसद्हरुसँग छलफल


प्रशासन संवाददाता

१० बैशाख २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगतरुपमा छलफल शुरु गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज सुदूरपश्चिम प्रदेशका सांसद्हरु सहभागी भएका र यसपछि आज र बिहीबार गरी क्रमशः प्रदेश नं १ र बागमती प्रदेश हुँदै सबै प्रदेशका सांसद्सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिने जनाइएको छ । ती विषयमा पार्टीभित्रै विभिन्न मतहरु व्यक्त भइरहेका बेला नेतृत्वबाट यस प्रकारको छलफल आयोजना भएको हो ।

अध्यक्षद्वयले आजै पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यहरु जारी गरी पार्टी एकतालाई अझ सुदृढ र बलियो बनाउन र कम्युनिष्ट आन्दोलनको लक्ष्यमा निरन्तर क्रियाशील हुन नेता कार्यकर्तालाई आव्हान गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस