आशंका उत्पन्न हुने र पार्टी एकतामा आधात पुग्ने काम नगरौँ -नेता नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आशंका उत्पन्न हुने र पार्टी एकतामा आधात पुग्ने काम नगरौँ -नेता नेपाल


९ बैशाख २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् ।

विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै उनले पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने र पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आआफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसर पारेर उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।’

कोरोनाले नेपाललाई पनि आक्रान्त पारिरहेको भन्दै उनले भनेका छन्, ‘यस विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनु हुँदैन ।’

मंगलबार सरकारले दल त्यागसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछिको अवस्थामा नेपालले विज्ञप्ति जारी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस