कोराना भाइरसको संक्रमण रोक्न स्थानीय तहको भूमिका « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोराना भाइरसको संक्रमण रोक्न स्थानीय तहको भूमिका


८ बैशाख २०७७, सोमबार


इतिहासको विभिन्न कालखण्डमा विश्वका विभिन्न देशहरू र ती देशका मानिसहरूले अपूरणीय क्षतिहरू व्यहोर्दै विभिन्न प्रकारका विपदहरुको कडा सामना गरेका देखिन्छन् । १४ औँ शताब्दी १३४६-५३ मा ब्ल्याक डेथ महामारी, सन् १८८९-१९९० मा रसियन फ्लु, सन् १९१०-११ मा कोलेरा (हैजा), सन् १९१८-२० मा स्पेनिस फ्लु, सन् १९५६ मा एसियन फ्लु, सन् १९५७ मा हङ्कङ फ्लु, सन् १९७६ मा एच् आइभी एड्स, सन् २००२ मा सार्स, सन् २००९ मा स्वाइन फ्लु जस्ता महामारीहरू फैलिएका थिए । हाल वर्तमान समयमा चीनको हुवेई प्रान्तको वुहान सहरबाट २०१९ डिसेम्बरबाट नोबोला कोरोना भाइरस सुरु भई विश्वलाई नै आक्रान्त र त्रसित बनाइरहेको छ ।

विश्वका २१० भन्दा बढी देशहरूमा यस भाइरसको संक्रमण फैलिसकेको छ । संसारका धनी-गरिब, विकसित-विकासशील-अविकसित, साना-ठुला सबै देशहरूलाई यस विषाणुले प्रत्यक्षरुपमा नकारात्मक असर पार्दै प्रभावित बनाएको हुँदा विश्व नै यस विषाणुको नियन्त्रण र रोकथामका लागि अहोरात्र प्रयत्नशील र क्रियाशील छन् । विश्वका अधिकांश मुलुकहरू बन्दाबन्दीमा गुज्रीरहका छन् । यस महामारीले प्रत्यक्ष रूपमा मानवीय, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक र भौतिक विकास आदि क्षेत्रमा नकारात्मक असर पार्दै गएको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वमा लगडाउनका कारण आर्थिक शिथिलता एवम् आर्थिक मन्दी सुरु भएको छ ।

हाल फैलिरहेको कोरोना भाइरसको महामारीले विश्वव्यापी रूपमा सङ्कट बढाएको छ । मानिसको जीवनयापनलाई अस्तव्यस्त बनाएको छ । यसर्थ संयुक्त राष्ट्र सङ्घको विशिष्टकृत संस्था विश्व स्वास्थ्य सङ्गठनले इन्टरनेशनल हेल्थ रेगुलेसन २००५ अनुसार कोरोना भाइरसले विश्वभर समस्या सिर्जना गर्न सक्ने भनी तीन महिनाको लागि विश्व सङ्कट काल घोषणा गरेको छ । हालसम्म (यो लेखनसम्म) विश्वका करिब २१० राष्ट्रका २४ लाख भन्दा बढी मानिसहरू संक्रमित भएका छन् भने १ लाख ६५ हजार मानिसहरूको मृत्यु भइसकेको छ । यसरी यस महामारीले ठुलो विपद् निम्त्याएको छ। कुनै गैर प्राकृतिक तथा प्राकृतिक कारणहरूबाट अकास्मत, अस्तव्यस्त तवरले आउने विपत्तिपूर्ण अवस्थालाई विपद् भनी परिभाषित गरिन्छ। जस कारणले मानवीय भौतिक आर्थिक र वातावरणीय रूपमा असर पुगी आपत्कालीन अवस्थाको सिर्जना भएको हुन्छ । यस विपद्लाई व्यवस्थापन गर्न आज विश्वको चुनौती थपिएको छ । विपद् व्यवस्थापन मुख्यतः ४ चरणमा गर्न सकिन्छ:

१. अल्पीकरण

२. पूर्व तयारी

३. प्रतिकार्य योजना

४. पुनर्लाभ

हालसम्म (यो लेखनसम्म) नेपालमा ३१ जना मानिसहरू यस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् तर कुनै व्यक्तिको मृत्यु भने भएको छैन । तर पनि विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि अति संवेदनशील देशको रूपमा घोषणा गरिसकेको छ । मुलुक ४ हप्तादेखि बन्दा बन्दीको अवस्थामा रहेको छ । नेपालको यो पृष्ठभूमिमा यस महामारीको विपद् व्यवस्थापनको लागि पूर्व तयारी र प्रतिकार्य योजनामा विशेष ध्यान दिई सरकार, सरोकारवाला सबै क्षेत्रबाट पूर्ण जिम्मेवार, संवेदनशील भई सक्रिय हुन जरुरी छ । यस विषाणुको संक्रमणको रोकथामको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न राजनीतिक दलहरू, नागरिक समाज, सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरू, उद्योगी, व्यापारी, सञ्चारकर्मी, स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरू सबै सरोकारवालाहरू लागी परेका छन् । यस पृष्ठभूमिमा नेपालले तत्काल निम्नानुसार कदम चाल्नु सान्दर्भिक देखिन्छ :

तयारीको चरण :
यस चरणमा निम्नानुसारको पूर्व तयारी गर्न सकिन्छ :
• रणनैतिक योजना तयार गर्ने
• बजेट, साधन, स्रोतको पर्याप्त व्यवस्था गर्ने
• आवश्यक नीति, कार्यविधि, मापदण्ड तयार गर्ने
• सूचना प्रविधिको व्यवस्था गर्ने
• जनशक्ति व्यवस्थापन गर्ने
• विपदमा खटिने जनशक्ति/कर्मचारीहरूलाई उचित तालिमको व्यवस्था गर्ने
• चेतनामूलक सूचनाहरू सञ्चार गर्ने
• उपचार तथा शरणको लागि अस्पताल/भवनहरू निमार्ण गर्ने
• उपचारका लागि आवश्यक सामग्रीहरू तथा साधनहरूको व्यवस्था गर्ने
• जोखिममा रहेको क्षेत्र तथा मानिसहरूको तथ्याङ्क/लगत सङ्कलन गर्ने

प्रतिकार्य योजना :
यस चरणमा निम्नानुसारको पूर्व तयारी गर्न सकिन्छ :
• योजना अनुसार काम बढाउने एवम् प्रभावकारी कार्यान्वयन गर्ने
• नीति, कानुन, कार्यविधि, मापदण्ड तथा आचारसंहिताको पूर्ण पालना गर्ने, गराउने
• बजेट, साधन स्रोत, जनशक्तिको अभाव हुन नदिने
• विपदमा परेका मानिसहरूको खोजी गरी चाँडै उदार/उपचार गर्ने
• सङ्कटमा परेका मानिसहरूको मानवीय समस्या समाधान गर्ने
• तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्ने
• सूचना प्रविधिको माध्यमबाट चेतनामूलक सन्देशहरू प्रसारण र प्रकाशन गर्ने
• सबै क्षेत्रलाई सहयोग गर्न प्रोत्साहन गर्ने
• खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरूको आपूर्ति सहज र सर्वसुलभ रूपमा गर्ने

हाल नेपालमा तीन तहका सरकार रहेका छन्: सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । नेपालमा सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित सङ्घीय शासन व्यवस्था रहेको छ । यी तीन तहका सरकारले यसै मोडेल अनुसार यस कोरोना भाइरस संक्रमणको नियन्त्रण र रोकथाम गर्नको लागि क्रियाशील हुन पर्दछ। जनता एवम् नागरिकको सबैभन्दा नजिकको उपस्थितिमा स्थानीय सरकार रहेको छ। नेपालमा ७५३ वटा स्थfनीय सरकारहरू (पालिकाहरू) रहेका छन् । यस परिस्थितिमा स्थानीय सरकारहरू सक्रियताको साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।

स्थानीय तहको भूमिका :
कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय तहको निम्नानुसार भूमिका रहनेछ :
• सङ्घीय सरकार र प्रदेश सरकारद्वारा तयार गरिएका योजना, नीति, कानुन, कार्यविधि, आचारसंहिताको पूर्ण रूपमा कार्यान्वयन र परिपालना गर्ने, गराउने
• सङ्घीय सरकार, प्रदेश सरकार, राजनीतिक दल, सरकारी तथा गैर सरकारी सङ्घ संस्था, नागरिक समाज, उद्योगी, व्यापारी, प्रकोप तथा विपद् क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू, सामुदायिक सङ्घ संस्थाहरू, प्रहरी प्रशासन, सञ्चारकर्मी आदि सरोकारवालाहरू सबै क्षेत्रसँग प्रभावकारी रूपमा समन्वय र सहकार्य गर्ने
• कोरोना भाइरस के हो, यसको लक्षण र यसको संक्रमणबाट कसरी बच्न सकिन्छ ? सो विषयमा विषाणुको संक्रमणबाट बच्नको लागि बारम्बार साबुन पानीले हातमुख धुने, हातमा सेनिटाइजर प्रयोग गर्ने, पोसिलो अनि प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरूमा जोड दिने, लगडाउनको पूर्णरुपमा परिपालना गर्ने, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने, निस्किनु परेमा सर्जिकल मास्क र ग्लोब्स प्रयोग गर्ने, सामाजिक तथा शारीरिक दुरी कायम गर्ने, अनावश्यक भेला र मेलामा उपस्थित नहुने, हो-हल्ला तथा अफवाहबाट दिग्भ्रमित नभई संययमता अपनाउने, धैर्य गराउने र मनोबल बढाउने, सकारात्मक सोच बनाउने, सकारात्मक व्यवहार गर्ने गराउने आदि चेतनामूलक सन्देश प्रवाह गर्ने
• नागरिकहरूलाई स्वास्थ्य तथा सरसफाइ सम्बन्धी चेतनामूलक सन्देश प्रवाह गर्ने,
• नेपाल सरकारद्वारा घोषित बन्दाबन्दीको पूर्णरुपमा परिपालना गर्न लगाउने
• आफ्नो पालिकामा बसोबास गर्ने मानिसहरू, बाहिर गएका मानिसहरूको लगत सङ्कलन एवम् अद्यावधिक गर्ने
• आफ्नो क्षेत्रभित्र काम गर्ने मजदुर वर्ग, असहाय र विपन्न परिवारको लगत सङ्कलन र अद्यावधिक गर्ने
• पालिकस्तरीय तथा वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने
• स्थानीय तहमा कोरोना नियन्त्रण र उपचारको लागि स्थानीय तह प्रकोप व्यवस्थापन कोष खडा गर्ने
• जनशक्ति तथा स्वयम् सेवकहरूको व्यवस्थापन र परिचालन गर्ने
• कर्मचारी/स्वास्थ्यकर्मी अन्य कर्मचारीहरूलाई उच्च मनोबलका साथ परिचालन गर्ने साथै उनीहरूको सुरक्षामा पनि ध्यान पुर्‍याउने
• सङ्घीय सरकार र प्रदेश सरकारसँग प्रभावकारी रूपमा समन्वय र सहकार्य गर्ने
• आवश्यक औषधि, व्यक्तिगत सुरक्षा उपकरण, इन्फ्रारेड थर्मोमिटर लगायत अन्य सामग्रीहरूको व्यवस्थापन गर्ने ,एम्बुलेन्सहरूको व्यवस्था गरी तयारी अवस्थामा राख्ने
• क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार पालिका क्षेत्रभित्रमा क्वारेन्टिन र आइसोलेशनहरुको स्थापना र सञ्चालन गर्ने
• स्थानीय पालिका क्षेत्रहरूमा हेल्प डेस्क स्थापना र सञ्चालन गर्ने
• बाह्य मुलुक तथा बाह्य क्षेत्रबाट पालिका प्रवेश गर्ने मानिसहरूको ट्रयाकिङ-ट्रेसिङ गर्ने, उनीहरूलाई होम क्वारेन्टिन वा क्वारेन्टिनमा बस्ने व्यवस्था गर्ने
• सेल्फ होम क्वारेन्टिनमा बस्ने मानिसहरूको नियमित ट्रयाकिङ गर्ने, अनुगमन र विशेष निगरानी गर्ने
• असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ र कोभिड-१९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन २०७६ अनुसार एक द्वार प्रणालीबाट आफ्नो पालिकाभित्रका श्रमिक, मजदुर वर्ग, असहाय, विपन्न वर्गहरूलाई राहत स्वरूप खाद्यान्न तथा अत्यावश्यक वस्तु र सेवाहरू वितरण गर्ने
• राहत वितरणलाई सस्तो लोकप्रियताको सिद्धान्तसँग गाँसेर अस्वस्थ, अवैज्ञानिक, अपारदर्शी नबनाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने
• कतै अलपत्र वा अप्ठ्यारामा परेका श्रमिक तथा मजदुर वर्ग अन्य मानिसहरूलाई गन्तव्य स्थलसम्म पुर्‍याउन सहयोग गर्ने
• स्थानीय बजारमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिने
• बजारमा विक्रेता/व्यापारीहरूको प्रभावकारी रूपमा अनुगमन गरी कृत्रिम अभाव र कालोबजारी हुन नदिने
• खाद्यान्न तथा अत्यावश्यक वस्तुहरूको सप्लाई चेनका लागि सहजीकरण गरी अग्रणी भूमिका निर्वाह गर्ने
• मानिसहरूको दैनिक जीवनयापनलाई सरल र सहज बनाउने
• यस विषाणुको संक्रमण बढ्दै गएमा स्थानीय नाकाहरूमा मानिसहरूको आवतजावत बन्द गर्ने तर आपत्कालीन आवतजावतलाई भने निषेध नगर्ने
• संक्रमित बढेको वा बढ्ने सम्भावना भएको क्षेत्रहरूलाई सिल गरी त्यस क्षेत्रका मानिसहरूको यथाशक्य चाँडो आरडीटी र पीसीआर परीक्षण व्यवस्था मिलाउने यसका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गर्ने
• भारतसँगको खुला सिमानाबाट भागी आउने मानिसहरूको सङ्ख्या बढ्दो भएकोले त्यस्ता मानिसहरूको खोजी गर्ने एवम् नेपाल सरकारद्वारा भएको अन्तर्राष्ट्रिय सिमानाको कडा निगरानी/सिललाई सहयोग गर्ने
• बाह्य क्षेत्र तथा बाह्य देशहरूबाट आउने केही मानिसहरू गाउँ गाउँमा भागी लुकीछिपी बस्ने प्रवृत्ति बढ्दै गएकाले स्थानीय मानिसहरू, टोल सुधार समितिहरू तथा वडा कार्यालयहरूलाई सक्रिय बनाइ खबरदारी र रखवारी गर्न लगाउने
• कार्यालयमा नागरिकका अत्यावश्यक तथा अन्य काम परेमा विद्युतीय माध्यम एवम् सूचना प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने
• जनता/नागरिकमाझ स्थानीय सरकारको उपस्थितिलाई सबल, सक्षम, प्रभावकारी र उत्तरदायी बनाउँदै सरकारको विश्वसनीयता बढाउने

कोरोनाको कहरलाई नियन्त्रण र रोकथाम गर्नको लागि तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज, गैर सरकारी सङ्घ संस्था, प्रहरी प्रशासन, सेना, समुदाय, समुदायका आम नागरिक, सञ्चारकर्मी सबै सक्रिय रूपमा परिचालित हुन जरुरी छ । साझा बल, प्रयत्न, क्रियाशीलता र सक्रियतामा मात्र यस महामारी वा विपद्लाई परास्त गर्न सकिन्छ । नागरिकले सरकारलाई सहयोग गर्दै नागरिकले पूरा गर्नु पर्ने दायित्वलाई पूर्ण रूपमा परिपालना गरौँ, सुरक्षित रहौँ अरू मानिसको पनि सुरक्षा गरौँ । सारा विश्व नै यस कोरोनाको महामारीलाई परास्त गर्न अहोरात्र लागी परेको छ । सबै तह, क्षेत्र, देश र विश्व नै आ-आफ्नो दायित्व पूरा गर्दै सक्रियता र इमानदारीका साथ लागी पर्ने हो भने निकट भविष्यमा अवश्यम्भावी यो कोरोनाको प्रकोप श्रंखलालाई रोक्न सकिन्छ र कोरोनाको संक्रमण र महामारीलाई परास्त गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस