न्यानोपना उस्तै छ,
राती जुनले पनि उस्तै गरी शीतलता नै दिइरहेछन् ।
यो वसन्त ऋतुको मौसम भएकोले होला,
फूल उस्तै गरी फुलिरहेछन् जसरी विगतमा फुल्थे,
चराहरू पनि सखारै उस्तै गरी चिर्विराइरहेछन् ।
तर,
तर फरक छ अहिलेको परिवेश,
सहरका क्याफेहरूमा प्रेमिल जोडीहरू छैनन्,
ढिलो गरी सुत्ने पार्टी र डिस्को थेगहरूबाट आवाज आउँदैन अचेल ।
एकाबिहानै मर्निङवाकमा निस्कने साथी संगीहरु
देखिँदैनन्,
चोकहरूमा चिया खाँदै गफिनेहरू सुनिँदैनन्,
बिहानै ब्याट बोकेर कोर्टमा भेला हुन छोडेको महिनौँ भइसक्यो,
चौतारीहरू एक्लै सिरसिर हावा बहाइरहेछन्
सुस्ताउने बटुवाहरू देखिँदैनन् अचेल ।
जताततै फुस्रा अनुहार लिएर भौतारिइ रहेका केही थान अलपत्र मान्छेबाहेक,
उछिनपाछिन गर्दै हुइँकिने सवारीहरू छैनन् अचेल सडकमा,
सडक डरलाग्दो बनेर लमतन्न परि एक्लै पसारिएको छ ।
सहर सङ्कटमा छ यति बेला, केबल बत्तीको उज्यालोले ब्युँझिए जस्तै देखिए पनि,
धेरै त्रस्त मनहरू बोकेर सुतेको छ सहर,
केवल जीवन बचाउनकै लागि मात्र सुताइएको छ सहर ।