कोरोना : प्रकृतिको आक्रोश, नेपालमा भोकमरीको सङ्केत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना : प्रकृतिको आक्रोश, नेपालमा भोकमरीको सङ्केत


८ बैशाख २०७७, सोमबार


करिब दुई लाख वर्ष पहिले मानव जाति पनि प्रभाव र महत्त्वको हिसाबले अन्य जीवहरूकै हैसियतमा थियो । मानवको जीवनचक्र पनि अन्य जीवजस्तै जन्मिने, बाच्नको लागि सङ्घर्ष गर्ने, सन्तान उत्पादन गर्ने र सामान्य जीवनयापन गरेर मृत्युवरण गर्ने थियो । तर, समयको विकास क्रमसँगै मानवले अन्य जीवहरूलाई उछिन्यो । आफ्नो जीवनचक्रलाई विशिष्टिकृत गर्दै गयो ।

पछिल्लो १ लाख वर्षदेखि मानव जाति ब्रह्माण्डमा सर्वश्रेष्ठ प्राणीको रूपमा शासन चलाइरहेको छ । मानव अरूभन्दा बाठो भएर सर्वश्रेष्ठ बनेको होइन, उसमा ज्ञान, विवेक, दया, माया, करुणा, सबै कुरा भएकाले सर्वश्रेष्ठ भएको हो । उसले आफ्नो बाठोपनलाई विज्ञानमा लगायो । व्यापारमा लगायो । हरेकतिर लगायो । आज मानवले आकाश, जमिन र पाताल सबैतिर आफ्नो साम्राज्य विस्तार गरिरहेको छ ।

सुरुमा मानवले आफ्नो धर्म नछाडेर विवेकपूर्ण ढङ्गले हरेक प्राणीलाई माया गरेर, प्रकृतिको पूजा गरेर समुचित जीवन व्यथित गर्‍यो । बिस्तारै उसमा प्रलोभन, लालच, बुद्धिको घमन्ड, ईर्ष्या, रिस, प्रतिशोध र स्वार्थ तीव्र रूपले वृद्धि हुँदै गयो । त्यसपछि उसले अन्य जीवजन्तु र प्रकृति माथिको दमन बढाउँदै गयो । आफ्नो स्वार्थका लागि कुनै पनि अन्य जीवमाथिको दमन अन्त्य गरेन । प्रकृतिमाथिको दोहन छाडेन ।

यति हुँदा पनि प्रकृतिले मानव जातिलाई हरेक कुरा दियो । मानवप्रतिको आफ्नो जिम्मेवारी कहिल्यै भुलेन । तर, मानिस प्रकृतिप्रतिको कर्तव्यबाट सधैँ विचलित भइरह्यो । प्रकृतिको नियम मसिनले कतै पनि आत्मसात् गरेन । न खाद्य चक्र मान्यो न त अन्य नाइट्रोजन चक्र, जल चक्र सञ्चालनमा सहयोग गर्‍यो । मानव जातिले बरु चन्द्रमा र मङ्गललाई पृथ्वीको विकल्प बनाउन खर्वौँ खर्चियो । तर, आफू बाँची रहेको पृथ्वीलाई सुन्दर बनाउन कहिल्यै चाहेन । मानिसले प्रकृतिलाई चारैतिरबाट आक्रमण गरिरह्यो, गरिरह्यो । आफ्नो स्वार्थ पूरा गर्नका लागि गरिएका मानवीय क्रियाकलापका कारण आज ७५ प्रतिशत भू-वातावरण र ६६ प्रतिशत सामुद्रिक वातावरण परिवर्तन भइसकेको छ ।

वातावरणमा आएको परिवर्तनका कारणले नै मानवलाई कहिले स्पेनिस फ्लुले सतायो, कहिले बिफोर, सार्स, प्लेन त कहिले इबोलाले मानव जाति आक्रान्त बन्यो । अहिले मानव कोभिड-१९ नामक भाइरसले थलिएको छ । प्रकृतिलाई हदैसम्म बिगार्ने मानव आज घरको ढोका थुनेर लुक्न बाध्य भएको छ । उसले खडा गरेको विज्ञान अझ चिकित्साशास्त्रको साम्राज्य अहिले धरमराएको छ । पृथ्वी नपुगेर अन्तरिक्षमा समेत आफ्नो साम्राज्य विस्तार गर्न तम्सिएको मानव आज आफ्नै अस्तित्वको भिख मागिरहेको छ ।

यो विषम परिस्थितिमा मानिसले कोरोनाबाट मृत्युवरण मात्रै गर्ने छैन । भोकमरी, अभाव र आर्थिक मन्दीबाट थिचिएर, यो प्रतिकूल समय र परिस्थितिसँग जुध्न र समायोजन हुन नसकेर लङ्गडो हुनेछ । आफूमाथि आइपरेको यो विषय परिस्थितिले कुन हदसम्म हानी पुर्‍याउँछ, त्यो बाच्नेहरूले देख्न पाउने नै छन् । यस्तो परिस्थिति कसरी आयो भनेर सोच्नु पनि अपरिहार्य भएको छ । मानवले बुझ्न सक्नु पर्छ कि प्रकृतिले मानवमाथि पोखेको आक्रोश हो कोभिड-१९ ।
कोभिड-१९ ले मर्ने कि भोकमरीले

कोभिड-१९ ले अहिले विश्व मानव नै हायलकायल भएको छ । विभिन्न देशरुबीचको सम्पर्क टुटेको छ । हवाई, जल र स्थल मार्ग प्राय अहिले ठप्प छन् । जसका कारण आवश्यक सामग्रीहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।

जसका कारण कोभिड-१९ विरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य संसाधनको मात्रै अभाव भएको छैन, बाँच्नका लागि चाहिने खाद्य पदार्थको पनि अभाव चुलिएको छ । यस्तो अवस्थामा नेपालजस्ता अधिकांश परनिर्भर मुलुकहरूमा गम्भीर अवस्थाको सिर्जना हुँदै छ । एउटा प्रश्न उठ्दै छ, कतै कोभिड-१९ ले होइन, भोकमरीले त मरिँदैन ?

यो परिस्थितिले अझै भयानक रूप लियो भने भारतले नेपाललाई सामान निर्यात पैठारी गर्ने अवस्था नआउन सक्छ । यता नेपालमा भएका उत्पादनमूलक केही उद्योग पनि हाल बन्द छन् । खेतीका लागि आवश्यक बीउ बिजन र मल पाउन गाह्रो छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार जम्मा ४८.२% घरपरिवार मात्र आफ्नो जमिनको उब्जनीबाट वर्षभरि खान पुग्ने स्थितिमा छन् ।

रोजीरोटीका लागि गरिरहेका काम ‘लकडाउन’का कारण अहिले बन्द छन् । ‘लकडाउन’ कहिलेसम्म जारी रहने हो त्यो पनि थाहा छैन । अन्य उत्पादनको स्रोत छैन । यस्तो अवस्थाले कयौँ परिवारको चुलो बल्न छाड्ने अवस्था आइरहेको छ । उनीहरूका लागि एउटा उपाय राहत त हो ।अर्थ मन्त्रालयले बनाएको मापदण्ड अनुसार लक्षित परिवारलाई ३० के.जी चामल, २ केजी दाल,२ प्याकेट नुन ल, २ लिटर तेल ४ वटा साबुन र २ किलो चिनी दिइने उल्लेख छ । पहिलो कुरा त यति राहतले कतिन्जेल धानिने? अर्को कुरा यो दरमा प्राय लक्षित वर्गले राहत पाएका छैनन् ! त्यही राहत पनि समाजका हुने खाने कहलिएकहरुले आफ्नो खल्ती भरिरहेका हुन्छन् ।

नेपाल विश्व भोकमरी सूचकांकमा हाल ७२ औ स्थानमा छ । ११% बेरोजगारी र १८.७% गरिबी र लकडाउन पूर्वकै तथ्यांकमा थियो । आर्थिक विकासका पक्षहरू कृषि,उद्योग,व्यापार,पर्यटन,रोजगार र पूर्वाधार मध्ये कृषि र व्यापारमा आंशिक अवरोध हुँदा अन्य क्षेत्र पूर्ण बन्दै जस्तै अवस्थामा छन् । विश्वव्यापीकरण र विश्व बजारीकरणले धानेको नेपालको खाद्यान्न व्यवस्थापन भयावह रूपमा खलबलिने निश्चित छ । आ.व. २०७५/७६ मा कुल वैदेशिक व्यापारको ९४% आयातले ओगट्दा १ खर्व ३८ अर्व ६ करोड रुपियाँको कृषिजन्य वस्तु मात्र आयात भएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पछिल्लो तथ्याङ्क नियाल्दा, लकडाउनको अवधिमा दैनिक औसत करिब २०० मेट्रिक टन चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री वितरण गर्ने गरेको छ । मासिक करिब ५५००-६००० मेट्रिक टन चामल बिक्री वितरण हुनेछ । मन्त्रालयका अनुसार खाद्य कम्पनी सङ्ग अब करिब ५ मे.ट. चामल र १४ मे.ट धान मौज्दात छ । यसले करिब ३ महिना मात्र धान्न पनि हम्यहम्य देखिन्छ ।

कोरोनाको सङ्क्रमण दिनहुँ तीव्र रूपमा बढिरहेको छ । कतैबाट पनि रोकिने सङ्केत छैन । आशा जीवित राख्ने कुनै स्पष्ट औषधि पनि त बनाउन सकिएको छैन । लकडाउन कति दिन वा महिनासम्म गर्न सकिएला र ! यही अवस्था तीन महिनासम्म रहिरहे के हुन्छ, त्यो सोच्न पनि सकिँदैन । कुनै एक देशको सङ्कट हुँदो हो त अरू देशले साथ र सहयोग गर्ने थिए । जसले गर्दा सङ्कट टर्न सक्थ्यो । तर, अहिले पुरै विश्व भयावह परिस्थितिबाट गुज्रिरहेको छ । अवस्था यस्तै रह्यो भने नेपाल मात्र होइन पुरै विश्व नै भोकमरीले पिल्सिन दिन धेरै टाढा छैन । घरबाट ननिस्किएर कोरोनाबाट त बाचौँला, भोकमरीबाट कसरी बाँच्ने ?

Tags :
प्रतिक्रिया दिनुहोस