तानसेनका घरघरमा तरकारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तानसेनका घरघरमा तरकारी


८ बैशाख २०७७, सोमबार


तानसेन । तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पुर्‍याउने गरिएको छ । नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै सहुलियत दरमा बिक्रीका लागि पुर्‍याउन शुरु गरेको परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताए ।

कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि बाहिरी जिल्लाको तरकारी भित्रिन नदिने निर्णय नगरपालिका, कोरोना संक्रमण रोकथाम एवं व्यवस्थापन आपूर्ति व्यवस्थापन समितिले गरेको हो । परिषद्ले बारीमा कुहिएर जानबाट जोगाएर तरकारी अभाव झेलेका उपभोक्तासामु तरकारी पुर्‍याउन लागेकामा खुशी भएर सहकारीको गाडी नै उपलब्ध गराएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज न्यौपानेले बताए ।

बन्दाबन्दीमा तरकारी उत्पादनको मुख्य क्षेत्रका रुपमा परिचित तानसेनका अर्गली, मदनपोखरा र बौघापोखराथोकमा तरकारी बारीमै कुहिन्छ कि भन्ने चिन्ता लागेकामा अब नगरपालिकाले उपभोक्तासम्म पुर्‍याइदिने भएकाले खुशी लागेको सहकारी संस्थाका अध्यक्ष तथा कृषक न्यौपाने बताउँछन् ।

उपभोक्ताले तरकारी खान नपाउने र कृषकका बारीमा तरकारी कुहिएर जाने अवस्था आउन नदिन कृषकको मूल्यअनुसार आफूहरुले बजारसम्म लैजाने समितिका महासचिव धनु घिमिरेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस