नेपालमा कोरोना भाइरसको संक्रमण कम देखिनुका यस्ता छन् कारण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा कोरोना भाइरसको संक्रमण कम देखिनुका यस्ता छन् कारण


७ बैशाख २०७७, आइतबार


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण न्यून देखिनुमा केही महत्वपूर्ण कारण रहेका छन् । जसले गर्दा नेपालमा कोरोनाको संक्रमण ज्यादै न्यून देखिएको छ । सरकारले परीक्षणको दायरा बढाएर परीक्षण पढाएपछि भने केहीमा कोरोनाको संक्रमण देखिएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । पुष्टि भएका सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने अन्यलाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार भइरहेको छ । सङ्क्रमण भएको आशङ्का भएका तर प्रयोगशालाबाट परीक्षणको परिणामा नआएका केही मानिसहरू पनि आइसोलेशनमा छन्।

नेपालमा भेटिएका कोरोना संक्रमित विदेशबाट आएका व्यक्ति रहेका छन् । नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई क्वारन्टीनमा नराखेका नेपालमा अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशङ्का छ।

तर केही विज्ञहरू नेपालमा अहिलेसम्म कुनै पनि एउटा स्थानमा एकैखाले लक्षण देखिएर धेरै मानिस बिरामी भएको वा तिनको मृत्यु भएको नदेखिएकाले त्यस्तो आशङ्का पुष्टि गर्न नसकिने तर्क गर्छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुन सक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरू बताउँछन्।

यस्ता छन् कारण :

१. परीक्षण नै नहुनु
कतिपय चिकित्सकहरूका अनुसार नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्। उनीहरूका भनाइमा जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन। स्वास्थ मन्त्रालयका अनुसार वैशाख ६ गते शनिवारसम्म कुल ८,०१७ वटा नमुनाको परीक्षण गरिएको छ।

त्यसमध्ये ३१ वटामा मात्र सङ्क्रमण देखियो। केही नमुनाको प्रयोगशालाबाट परिणाम आउन बाँकी छ। अहिलेसम्मको तथ्याङ्कका आधारमा परीक्षण गरिएकामध्ये एक प्रतिशतभन्दा कममा सङ्क्रमण भएको पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनुपर्ने बताउँछन्। उनले त्यस्तो सङ्क्रमण समयक्रममा आफैँ निको भएर गएको हुन सक्ने बताएका छन्।

२. नेपालीको जीवनशैली
कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्। तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम सङ्क्रमण भएको हुन सक्ने बताउँछन्।

३. नेपालीको प्रतिरक्षा प्रणाली बलियो हुनु
केही विज्ञ तथा चिकित्सकहरु नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस सङ्क्रमण कम भएको हुन सक्ने बताउँछन्।

परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोना भाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।

उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुन सक्छन्।

४. बीसीजी खोपको प्रभाव
क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।

एक अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको जनाएको छ। नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ।

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरूको तर्क छ।

विकसित देशमा जमिनमुनि सब वे र मेट्रो रेलजस्ता यातायातका संरचनाहरू रहेका छन्। नेपालमा प्रायः यातायातका साधनहरूमा भिडभाड भए पनि घामको प्रकाशमै हिँड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नचढ्ने गरेकाले सङ्क्रमण कम भएको हुन सक्ने वुझिएको छ ।

त्यस्तै ठूलाठूला लिफ्टजस्ता पूर्वाधारमा कोचिएर मानिसहरू बस्ने तथा एक जनाले छोएको स्थानमा अर्कोले छुने क्रियाकलाप हुने गर्छन्।

नेपालमा काठमाण्डूभित्र केही स्थानमा बाहेक अन्यत्र यस्ता पूर्वाधार नै नभएकाले पनि सङ्क्रमण विस्तार नभएको हुन सक्ने चिकित्सकको भनाइ छ । बीबीसीको सहयोगमा

Tags :
प्रतिक्रिया दिनुहोस