कोरोना बिरामी डिस्चार्जसँगै स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको बधाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना बिरामी डिस्चार्जसँगै स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको बधाई


६ बैशाख २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्। शनिवार कोरोना भाइरसबाट सङ्क्रमित दोस्रो बिरामीको डिस्चार्ज भएको खबर थाहा पाए लगत्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्।

ओलीले ट्वीटरमार्फत् डिस्चार्ज भएकी बिरामीको आरोग्यताको कामना गर्दै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्। ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद।’

दोस्रो कोरोना बिरामी युवती कोरोनासँगको २७ दिन लामो लडाइँलाई जितेर शनिवार घर फर्किएकी हुन्। डिस्चार्ज भएसँगै नेपालमा कोरोना सङ्क्रमण निको भएर घर फर्किने उनी दोस्रो व्यक्ति हुन्। यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकको डिस्चार्ज भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ।

शनिवार डिस्चार्ज भएकी युवती स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन्। उनमा चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो। उनी पूर्ण निको भएर डिस्चार्ज भएकी हुन्। उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस