काठमाडौँ । सर्वोच्च अदालतले सीमा क्षेत्रमा रहेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता ल्याउन र उद्दारका लागि आवश्यक गृहकार्य गर्न आदेश दिएको हो ।
अधिवक्ता सोमप्रसाद लुईटेलको निवेदनको सुनुवाईपछि जारी आदेशमा भनिएको छ, ‘नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर र संवेदनशील तरिकाबाट विना भेदभाव, बिना स्वेच्छाचारी र विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फर्ता ल्याउने, उद्दारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकिय पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ ।’