लकडाउन लम्बिएसँगै राहत वितरण दाताहरूको सक्रियता बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लकडाउन लम्बिएसँगै राहत वितरण दाताहरूको सक्रियता बढ्यो


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७७, बिहिबार


काठमाडौँ, वैशाख ४ गते । ‘लकडाउन’ प्रभावित गरिब, मजदुर, श्रमिक तथा ज्यालादारी गरी गुजारा गर्ने सर्वसाधारणका लागि विभिन्न सामाजिक संघसंस्था तथा दाताहरू राहत वितरणमा अग्रसर देखिएका छन् ।

सरकारले सञ्चालन गरेको प्रत्येक नगरपालिका तथा गाउँपालिकाको वडास्तरिय राहत वितरण कार्यक्रम पर्याप्त नभएकाले सामाजिक सङ्घसंस्था र दाताहरू पनि अग्रसर देखिएका हुन । यो एक हप्तामा काठमाडौँमा एक करोड भन्दा बढीको राहत वितरण भएको छ ।

कुलेश्वरका थोक खाद्य स्टोर व्यापारीहरूले कुलेश्वर-कालिमाटीक्षेत्रमा तीन हजार परिवारलाई चामल, दाल, तेल, नुन र गेडागुडी लगायतका खाद्य सामग्री वितरण गरेको छ । युवा व्यवसायी जीवन चलाउनेले भरिया, मजदुर, श्रमिक र विपन्नलाई राहत वितरण गरिएको बताए ।

स्थानीय वडा र प्रहरीसँगको समन्वयमा युवा व्यवसायीहरू तथा खाद्य स्टोर व्यापारीहरू सहकार्य गरी राहत वितरण गरिएको हो । राहत लिन आउनेहरूलाई सामाजिक दुरी कायम राखी सहभागी भएका सबैलाई राहत वितरण गरिएको जानकारी उनले दिए ।

त्यस्तै, ठमेलस्थित लर्ड अफ डिङ्स नेपाल (एलओडी) संस्थाले पनि करिब पाँच सय घरपरिवारलाई पाँच किलो चामल, एक-एक किलो दाल, गेडागुडी, तेल, आलु लगायतका राहत सामग्री वितरण गरेको छ ।

एलओडी नेपालका सञ्चालक भूपेन्द्र जङ्ग कुँवरले राहतका लागि गरिब, मजदुर तथा श्रमिकहरूले सरकारकै मुख ताक्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताए । ठमेल, सोह्र खुट्टे र गल्कोपाखो क्षेत्रका मजदुर र गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

यसैबिच, इविजा लायन्स क्लब ठमेल र फायर क्लबले पनि रात्रिकालीन व्यवसायमा आबद्ध श्रमिक महिलाहरूलाई राहत वितरण गरेको छ । डिस्को, डान्स र दोहोरीमा आबद्ध महिलालाई सरकारी राहतले नसमेटेकाले क्लबहरूले राहत वितरण गरेको अध्यक्ष दावाङ तामाङले बताए ।

यसअघि सुमी फर्मास्युटिकल्स प्रालिले पनि सर्वसाधारणको राहतका लागि नेपाल सरकारलाई एक करोड मूल्य बराबरको सेनिटाइजर प्रदान गरेको छ । कोरोना संक्रमण महामारी रोकथाम तथा नियन्त्रण कोषमा नगदका अतिरिक्त सेनिटाइजर प्रदान गरेको प्रालिले जनाएको छ ।

लकडाउन लम्बिएसँगै विशेष गरी ज्यालादारी खाने मजदुर वर्ग, भरिया, मगन्ते, वृद्धा आश्रम, बालगृहहरूमा खाद्य सङ्कट देखिएको छ । त्यसका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि डोर–टु–डोर राहत वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका क्रममा घरभित्र नै बन्दी बनेका सर्वसाधारणले राहत वितरणलाई प्राथमिकता दिन आग्रह गरेका छन् । तर, काठमाडौँ महानगरपालिकाले भने व्यवस्थित ढङ्गले राहत वितरणमा समस्या देखाएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान प्रधानले काठमाडौँमा बस्ने सबै नागरिकलाई राहत वितरण सम्भव नभएको बताउनुभयो । राहत लिन आउनेहरूको चापले कतिपय वडा कार्यालयहरूलाई वितरण गर्न समस्या परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस