भन्सार अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भन्सार अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौँमा बुधवार मुद्दा दायर गरेको छ ।

५५ लाख १० हजार ५ सय ९६ रुपैयाँ ३३ पैसा राजस्व चुहावट गरेको आरोपमा भन्सार अधिकृत विकसहित ५ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अधिकृत विक र नायव सुब्बा सनद खतिवडाले पैठारीकर्तासँगको मिलेमतोमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको देखिन आएकोले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको उनले बताए ।

सागर एन्ड साधना बिजनेस प्रालि काठमाडौँका सञ्चालकहरू गङ्गाबहादुर घिमिरे र लीला बहादुर घिमिरे तथा भन्सार एजेन्ट प्रतिनिधि दीपेन्द्रराज पाण्डे विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

भन्सार अधिकृत र नायव सुब्बासँगको मिलेमतोमा पैठारी हुने वस्तुको यथार्थ विवरण नखुलाई सामानको नाम मात्र राखी जाँच पासमा सघाएको आरोपमा अख्तियारले उनीहरू विरुद्ध मुद्दा दायर गरेको कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस