वडाका १३० घर परिवारलाई राहत वितरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडाका १३० घर परिवारलाई राहत वितरण


३ बैशाख २०७७, बुधबार


डोल्पा । डोल्पामा राहत वितरणको काम सुरु गरिएको छ । ठुली भेरी नगरपालिकाका विभिन्न वडाहरूमा राहत वितरण सुरु गरिएको हो ।

नगरपालिकाको वडा नम्बर ६ मा १३० विपन्न घर परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए ।

अध्यक्ष बुढाका अनुसार प्रति घरपरिवार ३० केजी चामल,एक पोका तेल र दुई पोका नुन विपन्न तथा दलित घरपरिवार वितरण गरिएको छ ।

विद्यालयको प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै एकमुष्ट रूपमा वितरण गरिएको वडा सदस्य मानबहादुर बुढाले जानकारी दिए ।

उनले भने दलित परिवार धेरै छन् जो दैनिक ज्याला मजदुरी गरेर छाक टार्छन् त्यसैले सबैभन्दा धेरै समस्यामा दलित परिवारहरू रहेका छन् ।

नेपाल सरकारले अनुदानमा दिने खाद्यान्नको चामल वडाले खरिद गरेर विपन्न तथा दलित घर परिवारलाई वितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए ।

उनका अनुसार नगर कार्य पालिकाको बैठकले पारित गरेको राहत वितरण तथा व्यवस्थापन कार्यविधि अनुसार नगरपालिका भित्रका सबै वडामा राहत वितरण भई रहेको बताए ।

सरकारले गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खानकोहरुको चुलो बल्न समेत धौधौ भएको बेलामा नगरपालिकाले राहत गाउँमै पुर्‍याएर वितरण गर्न थालेको हो ।

हालसम्म ठुली भेरी नगरपालिकाका वडा नम्बर ५,६,७,८ र ९ मा मात्रै राहत वितरण भएको वडाध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार अन्य वडामा पनि अध्यक्षहरू लागि रहेको तर केही ढिला भने भएको बताए । उनले भने वडा भित्रको कुनै पनि नागरिक भोकै बस्ने अवस्था आउने छैन नगरपालिका लागि रहेको छ ।

त्यसैगरि काईके गाउँपालिका,जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिकाले समेत राहत वितरणका काम थालेका छन् । खाद्यान्नको चामल,नुन,तेल र साबुन राहतका प्राथमिकता हुन ।

यता सदरमुकाम रहेको ठुली भेरी नगरपालिकाको दुनैमा भने राहत वितरणमा ढिलाइ भई रहेको छ । राहतमा पनि आफ्नो पराइ बनाएको भन्दै एक युवतीले दुख व्यक्त गरिन् ।

सदरमुकाममा बाहिरबाट आएर भाडामा बसोबास गर्ने धेरै रहेको र त्यस मध्य पनि कामदार अर्थात् ज्यालमजदूरी गर्ने धेरै रहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस