निको भएर घर फर्किएका ११६ मा पुनः कोरोना सङ्क्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निको भएर घर फर्किएका ११६ मा पुनः कोरोना सङ्क्रमण


प्रशासन संवाददाता

३ बैशाख २०७७, बुधबार


जीवन खत्री । दक्षिण कोरियामा कोभिड–१९ बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका ११६ जनामा पुनः सङ्क्रमण देखिएको छ । यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुनसक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुनसक्ने आशय व्यक्त गरेका छन् ।

पछिल्लो समय दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लागिरहेको छ । यसले कोभिड–१९ रोकथामका लागि कोरिया विश्वभर प्रशंसित हुँदैछ । तर पुनः सङ्क्रमितको सङ्ख्या देखिनु दुखद् कुरा भन्दै यहाँका स्वास्थ्य अधिकारीले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमानसमेत गरेका छन् । यसका साथै यो भाइरस कसरी पुनः सक्रिय भयो भन्नेबारेमा पनि वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको जनाएका छन् । तर केही विज्ञहरुले भने गलत परीक्षणका कारण यस्तो भएको हुनसक्ने पनि शङ्का गरेका छन् ।

चीनको वुहान शहरबाट कोरोनाको माहामारी फैलिएपछि लगत्तै सङ्क्रमण उच्च भएको मुलुक दक्षिण कोरियाले नेपालमा जस्तो लकडाउन नगरेरै कोभिड–१९ सङ्क्रमण रोक्न सफलता प्राप्त गरेको देखिन्छ । यहाँ हालसम्म १० हजार ५३७ जनाको सङ्क्रमण देखिएको छ भने २१७ ले ज्यान गुमाइसकेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस