लक-डाउनका बेला केटाकेटीहरूको सिकाइ सहजीकरण कसरी गर्ने ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लक-डाउनका बेला केटाकेटीहरूको सिकाइ सहजीकरण कसरी गर्ने ?


३ बैशाख २०७७, बुधबार


मानव सभ्यताको विकासक्रमलाई हेर्ने हो भने सिकाइ घरबाटै भएको पाइन्छ। घरमा आमाले छोरीलाई र बुवाले छोरालाई जीवन उपयोगी सीपहरू सिकाउँथे र निश्चित उमेर पछि गुरु आश्रममा शिक्षा ग्रहण गर्न पठाउँथे। त्यसबेला कुनै औपचारिक विद्यालय थिएन। गुरु आश्रमपछि शैक्षिक क्रियाकलाप बिस्तारै मठ-मन्दिर तथा कक्षाकोठामा हुन थाले र औपचारिक रूपमा डेस्क, बेन्च, पाठ्यक्रम, पाठ्यपुस्तकको अभ्यास हुँदै आज शिक्षा पुनः होम बेस्ड लर्निङको अभ्यासमा छ। फरक छ त केबल प्रविधि।

प्रविधिले आज शिक्षण सिकाइ सरल बनाइदिए पनि आम अभिभावकलाई घर बसेका नानी-बाबुहरूलाई के गरेर भुल्याउने भन्ने चिन्ता रहेको पाइन्छ। यस्तो अवस्थामा होम बेस्ड लर्निङ के हो, कस्ता उमेर समूहका नानी-बाबुहरूलाई के कस्ता क्रियाकलापहरूमा सहभागी गराउन सकिन्छ भन्ने सामान्य जानकारी भए अभिभावकहरूलाई केटा-केटीहरूसँगको यो समय साँच्चै रमाइलो र फलदायी भएको महसुस हुने थियो।

होम बेस्ड लर्निङ के हो ?
शैक्षिक विकासको विभिन्न कालखण्डमा थुप्रै शिक्षाविद्हरूले विद्यालयमा आधारित शैक्षिक प्रणालीको विरोध गरे। यसै क्रममा १९६०-१९७० को दशकमा औद्योगिकीकरणले लादेको अनिवार्य शिक्षाको विरुद्धमा घरमा आधारित शिक्षाको वकालत भएको पाइन्छ अ.डिष्टिफानो, के.इ. रुडिस्टम, आर जे सिल्भरम्यान(२००५), पृष्ठ २२१ । साथै १९७०-०८० को दशकमा इलिचको डिस्कुलिङ सोसाइटी(१९७०) रेइमरको स्कुल इज डेड(१९७१) र जोन हल्टको टीच योर वन(१९८१) जस्ता पुस्तकहरूले विद्यालयको पर्खाल भत्काइ त्यसको विकल्प खोज्न जोड दिएका छन्।

यसर्थमा कक्षाकोठाको चार भित्ते घेराबाट केटा-केटीहरूलाई बाहिर निकाली खुला प्रकृतिमा आफ्नो रुचि अनुसार आफ्नै गतिमा अनुभव गरेर सिक्ने वातावरण सृजना गर्नु नै होम बेस्ड लर्निङ हो भन्न सकिन्छ। यस सिकाई प्रक्रियामा नानी-बाबुहरू आफूलाई आवश्यक पर्ने सीप र सिकाइ प्रक्रिया आफैँ छनोट गर्दछन् र हामीले उनीहरूको आवश्यकता अनुसार सहयोग गरिदिने हो। यद्यपि, अहिलेको प्रतिस्पर्धी समयमा के सिक्ने, समाज, राष्ट्र र सिङ्गो विश्वले के सिकोस् भन्ने उद्देश्य राखेको छ भन्ने बारेमा केटा-केटीहरू प्राय: अनभिज्ञ नै हुने हुँदा हामी अभिभावकले सो को रूपरेखा तयार गरी सिकाइ सहजीकरण गरिदिनु पर्ने हुन्छ।

होम बेस्ड लर्निङमा के सिकाउने र कसरी सिकाउने ?
परापूर्वकालमा घरमा आमा-बुवाले आफ्ना छोरा-छोरीहरूलाई गृहस्थी जीवनका लागि तयार पार्दथे भने अहिले हामीले हाम्रा छोरा-छोरीहरूलाई विश्व जगतको लागि तयार गर्दैछौँ। तसर्थ, विश्व बजारले अहिलेको २१औँ शताब्दीमा के कस्ता सीप-क्षमताहरूको आशा गरेको छ भन्ने जानेर सोही अनुसारको उमेर सुहाउँदो क्रियाकलापहरूमा हामीले हाम्रा नानी-बाबुहरूलाई सहभागी गराउने हो भने दैनिक विद्यालय गएर नानी-बाबुहरूले सिक्ने सीप हामी घरैमा पनि विकास गराउन सक्छौँ। विद्यालय भित्र त केबल पाठ्यक्रमले निर्धारण गरेको सीपहरू मात्र सिकिन्छ तर विद्यालयको पर्खाल बाहिर हाम्रा नानी-बाबुहरूले जीवन सिक्न सक्छन्।

विद्यालय भित्रका गृहकार्य र परीक्षा भन्दा पर २१औँ शताब्दीमा आशा गरिएका व्यवहार कुशल सीपहरूलाई विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले जे जसरी वर्गीकरण गरे ता पनि ती सबैले बालबालिकाहरूको समष्टिगत विकासमा जोड दिएको पाइन्छ। जस अन्तर्गत बालबालिकाको शारीरिक, बौधिक, भाषा-सञ्चार तथा प्रविधि, सामाजिक तथा सांस्कृतिक र संवेगात्मक विकासका क्षेत्रहरू पर्दछन्। हाल हाम्रा नानी-बाबुहरू केही समय अनलाइन कक्षामा व्यस्त भए पनि बाँकी समयमा यी क्षेत्रहरूको समग्र विकासकालागि हामीले घरमै गराउन सक्ने केही प्रभावकारी क्रियाकलापहरू निम्न हुन सक्छन् ।

शारीरिक विकास : व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण हामीले विभिन्न किसिमका रोग तथा महामारीहरू झेल्दै रहनु परेको कुरा बुझाउनुहोस्। हामीले दु:ख गरेर हाम्रा छोरा-छोरीलाई सबै कुराहरू पुर्‍याइ दिए पनि उनीहरूले यस पृथ्वीमा रोग, भोक, शोक सबै छन् भन्ने कुरा बुझ्नु जरुरी छ। यसका लागि यो लकडाउनको समयमा उनीहरूले आफ्ना आहार-विहारमा, सुताइ-उठाइ तथा खेलकुद आदिको समय व्यवस्थापनमा सहयोग गरिदिनुहोस्। खेलकुदबाट शारीरिक तथा मानसिक स्वास्थ्य तन्दुरुस्त रहने हुँदा उनीहरूसँगै उमेर सुहाउँदो खेलमा सहभागी हुनुहोस्। हाम्रो समाजमा अझै पनि केटा-केटीहरूसँग खेल्ने चलन छैन। खेलबाट हामीहरू धेरै कुराहरू सिकाउन सक्छौँ।

बौधिक विकास : यस सीप अन्तर्गत आफू वरिपरि भएको सूचना सङ्कलन गर्ने, प्रशोधन गर्ने, विश्लेषण गर्ने, समालोचनात्मक चिन्तन गर्ने, तर्क गर्ने, मूल्याङ्कन गर्ने, धारणा बनाउने, निर्णय लिने, लिइएको निर्णयप्रति उत्तरदायी बन्ने, समस्या समाधानको लागि सृजनशील हुने जस्ता सीपहरू पर्दछन्। यस्ता सीप विकासकालागि हामीले नानी-बाबुहरूलाई उमेर सुहाउँदो कथा सुनाउने, उनीहरूको रुचिका विषयहरू हेर्न-पढ्न दिने तर त्यसपछि के बुझ्यौ, किन यस्तो बुझ्यौ, यस्तो किन हुँदैन, तिमी भएको भए के गर्थ्यौ जस्ता प्रश्नमाथि तर्क गर्न लगाउने। यसो गर्नाले केटा-केटीहरूमा कल्पना गर्ने, प्रश्न गर्ने, चिन्तन गर्ने, घटनाहरूबिचको सम्बन्ध पहिल्याएर समस्या समाधान गर्ने जस्ता सीपहरूको विकास हुन्छ। अलि ठुला नानी-बाबुहरूसँग भने समाजमा विद्यमान समस्याका निकासहरू के होलान्, तिम्रो भूमिका के होला जस्ता विषय बस्तुमा कुरा गर्न सकिन्छ। साथै, महान् तथा सफल व्यक्तित्वहरूको जीवनी पढ्न वा वृत्तचित्रहरू हेर्न दिन पनि सकिन्छ। वरिपरि देखिएका समस्याका कारण, अनुभव र समाधानका बारेमा डायरी, निबन्ध, कविता आदी लेख्ने, चित्र बनाउने रङ्गहरूबाट भाव व्यक्त गर्ने जस्ता क्रियाकलापमा सहभागी गराउन सकिन्छ।

भाषा-सञ्चार तथा प्रविधि : भाषिक सीपको राम्रो विकास गर्नु र आफूसँग भएको ज्ञानलाई विभिन्न प्रविधिबाट सिलसिलाबद्ध रूपले प्रस्तुति दिन सक्नु आजको महत्त्वपूर्ण सीप हो। यो सीप ठुलो भएपछि अचानक आउने होइन। केटा-केटीहरूमा यो सीप प्रतिको आत्मविश्वास सानैदेखि विकास गर्नु पर्ने हुन्छ। यसकोलागि उनीहरुलई सानैदेखि बोल्ने अवसर दिनुपर्छ। हाम्रो समाजमा अझै पनि खुकुरी भन्दा कर्दो लाग्ने भन्दै केटा-केटीहरूलाई बोल्न दिइन्न, उनीहरूको कुरा सुनिन्न। यसले उनीहरूको आत्मबल मर्ने हुँदा हामीले दैनिक जीवनमा उनीहरूको विचारलाई स्थान दिनु जरुरी हुन्छ। उनीहरूलाई आफूले जानेका कुरा लेख्ने बानी राम्रो हो। यो प्रकाशन गर्न सकिन्छ भनेर प्रोत्साहन गर्नु पर्छ। यसका साथै वार्तालापको आधारभूत सीपहरू पनि सिकाउनु पर्दछ। उनीहरूको शब्द भण्डार विकासकालागि पाठ्यपुस्तक भन्दा बाहिरका वाल-साहित्यका पुस्तकहरू र प्रविधिमा आधारित उमेर सुहाउँदो विषय वस्तुहरू पोसिला हुन्छन्। अहिले बन्दका बेला हाम्रा नानी-बाबुहरूलाई प्रविधिको स्वच्छ प्रयोग गरी आवश्यक सूचनाको खोज गर्न सिकाउने यो उत्तम पनि समय हो।

सामाजिक तथा सांस्कृतिक : भूमण्डलीकरणको विश्वले जति नै अन्तर-सांस्कृतिक अभ्यासको कुरा गरे पनि आफ्नो धार्मिक, सांस्कृतिक र भाषिक मौलिकता बिना कसैको पहिचान रहँदैन। तसर्थ, यो समय केटा-केटीहरूसँग हाम्रो वीर गाथाका बारेमा, धार्मिक, सांस्कृतिक र मौलिक परम्परागत अभ्यासहरूका बारेमा कुरा गर्नुहोस्। हामीले हाम्रो कुरा नसुनाए कसरी भाषा, धर्म र संस्कृतिको हस्तान्तरण हुन्छ ? देश, समाज र राष्ट्रलाई कसरी सेवा गर्न सकिन्छ भन्नेबारे कुरा मात्र गर्दा पनि केटा-केटीहरूको सुषुप्त मस्तिष्कमा गहिरो छाप रहन्छ। जब हामी घर, परिवार, समाज, इतिहास, राष्ट्र र विश्वजगतको परिवेशका बारे परिवारमा कुरा गर्छौँ र एक अर्काको विचारलाई सम्मान गर्छौँ त्यो भन्दा राम्रो सामाजिक सिकाइ बच्चाकालागि के हुन सक्छ र ? त्यसकालागि विद्यालयकै चार भित्ता भित्र बस्नु पर्छ भन्ने छैन।

संवेगात्मक विकास : खुसी, डर, चिन्ता रिस, उत्तेजना, ईर्ष्या, क्रोध, तनाव जस्ता मानवीय पक्षले व्यक्तिको सामाजिक सम्बन्धमा ठुलो भूमिका खेल्छ। तर हामीले हाम्रो नानी-बाबुहरूको आवश्यकता पुर्‍याउने बहानामा उनीहरूको संवेगात्मक पक्षलाई ध्यान नै नदिई उनीहरूको हरेक इच्छा-चाहानाहरू पुरा गर्न लागिपरेका हुन्छौँ। मानौँ कि हामी सधैँ उनीहरूलाई यत्तिकै पुर्‍याउन सक्छौँ र उनीहरुलई जीवनमा कुनै दुःख नै आउँदैन, सङ्घर्ष नै गर्नु पर्दैन। हाम्रो यस्तो संरक्षकत्वले हाम्रा नानी-बाबुहरूलाई पर निर्भर मात्र बनाउँदैन, कालान्तरमा यसको नकारात्मक असरले उनीहरूको संवेगात्मक सन्तुलनमा असर गर्ने र सामाजिक समायोजन गुमाइ ध्वंसात्मक बाटो तर्फ अग्रसर हुन्छन् । यसको पहिलो असर केटा-केटीले जिद्धि गर्ने, भनेको चिज नपाए नखाने, विद्यालयमा साथी-समूहमा झगडा गर्ने, एक्लै बस्ने, घर छाडेर हिँड्ने र कसै-कसैले आत्महत्या सम्म गर्छन्। तसर्थ, नानी-बाबुहरूको संवेगात्मक विकास घरबाटै गर्नु पर्छ।

प्रसिद्ध शिक्षाविद् गिजुभाइ भन्छन् ‘घरमा बिग्रिएका बालबालिकाहरूलाई भगवानले पनि सपार्न सक्दैनन्’। त्यसैले हाम्रा नानी-बाबुहरूलाई कठिन परिश्रम र मेहनतबाट मात्नै केही चिज प्राप्त हुन्छ भन्ने कुरा घरबाटै सिकाऔँ र केही उद्धेश्यहरु एक-दुई पटकको मेहनतले मात्र प्राप्त हुँदैनन् र यस्तो अवस्थामा अझ धैर्य र सन्तुलित भएर लाग्नु पर्ने कुरा सिकाऔँ। अझ कुनै कुरा त धेरै प्रयासका बाबजुद पनि हासिल नहुन सक्छ। यस्तो अवस्थामा त्यो नै सवै थोक होइन र जीवनमा अझै धेरै विकल्पहरू छन् भनी बताउनुहोस्। यस्ता कुराहरू कथाका प्रेरक प्रसङ्गहरूबाट सिकाउन सकिन्छ। साथै, हरेक उमेर समूहका केटा-केटीहरूको आफ्नै समस्याहरू हुन्छन्। यस्ता समस्याहरूलाई सुनी उनीहरूको दबिएर रहेका तनावलाई बग्न दिनु पर्छ। सामूहिक खेल, मन पर्ने सङ्गीत, योग-ध्यान, चित्रकला, कथा-कविता, गजल तथा ब्लग, आदिसँग खेल्न दिएर उनीहरूमा एकाग्रताको विकास गराउन सकिन्छ। संवेग व्यवस्थापनको सीप केटा-केटीहरूले विद्यालयमा भन्दा परिवारको दैनिक जीवनशैलीबाट सिक्दछन् भन्ने कुरा हामी अभिभावकले भुल्नु हुँदैन।

यसका साथै हामीले घरमा हाम्रा नानी-बाबुहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने स्वावलम्बी सीपहरू लुगा धुने, घर सफा राख्ने, आइरन लगाउने, टाँक हाल्ने, तरकारी काट्ने, पकाउने, पस्केर दिने, पाहुनाको सत्कार गर्ने, करेसाबारी वा कौसी खेती गर्ने, बगैँचाका फूलबारी स्याहार्ने, वरिपरि हुने बोट-बिरुवा तथा जडीबुटीहरू चिन्ने, समय व्यवस्थापनका लागि समय तालिका बनाइ काम गर्ने, गरेका कामहरूको स्वमूल्याङ्कन गर्न लगाउने जस्ता कुराहरू सिकाउन सक्छौँ। यसरी हामी हाम्रा नानीबाबुहरुलाई लक-डाउनका बेला घरमै पनि एक सफल जीवनका लागि आवश्यक पर्ने धेरै व्यवहार कुशल सीपहरू सिकाउन सक्छौँ।

रेग्मी गोर्खा चिल्ड्रेन्स स्कुल, सिङ्गापुका प्रधानाध्यापक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस