सांसद् विकास कोषको बजेटले अस्पताल बनाउन राष्ट्रियसभा भर्चुअल बैठकमा छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद् विकास कोषको बजेटले अस्पताल बनाउन राष्ट्रियसभा भर्चुअल बैठकमा छलफल


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरूसँग भर्चुअल बैठक गरेका छन् ।

संसद् अधिवेशन अन्त्य भएको अवस्थामा सांसदहरूसँग ‘भर्चुअल’ छलफल गर्दै कोभिड–१९ महामारीविरुद्ध सरकारले चालेका कदमका बारेमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरूसँग सरकारका काम कारबाहीबारे छलफल भएको हो ।

बैठकमा सोमवार उपाध्यक्ष शशिकला दाहालसहित नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई, समाजवादी पार्टीकी प्रमिला कुमारी, नेकपाका परशुराम मेघी गुरुङ, रामनारायण बिडारी, दीलकुमारी रावल, दीनानाथ शर्मा, विपक्षी दल नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीसहित प्रमुख दलका मुख्य सचेतकहरू सहभागी भएका थिए ।

अध्यक्ष तिमल्सिनाले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न र उपचारसन्दर्भमा सरकारले चालेका कदमहरू स्वागतयोग्य रहेको बताउँदै स्थानीय सरकारको भूमिकाको समेत प्रशंसा गरेका छन् ।

परिस्थितिको मूल्यांकन गरेरमात्र लकडाउनबारे थप निर्णय गर्नुपर्ने भन्दै स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम(सांसद् विकास कोष)को खर्च हुन बाँकी रकम सातवटै प्रदेशमा संक्रामक रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउन खर्च गर्न सकिने बताए ।

संकटको बेला संसदले सरकारलाई सल्लाह, सुझाव र निगरानी गर्ने दायित्व रहेकाले जुनसुकै फोरमबाट पनि यो काम गरिने उनले बताए ।

सोमबारको छलफलमा सहभागी सांसदहरुले कोरोनाको जोखिम कम भएको क्षेत्रमा लकडाउन खुकुलो गर्दै संक्रमण भेटिएको ठाउँमा कडा गरेर नभेटिएको वा जोखिम कम भएको क्षेत्रमा जनजीवनलाई सहज बनाउने गरी लकडाउनमा खुकुलोपनको नीति अवलम्बन गर्न सरकारलाई सांसदहरुले सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस