निषेध गरेर जाने सोचको आयु समाप्त भइसक्यो, एकता प्रबलीकरण गरौँ : पूर्वराजा ज्ञानेन्द्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निषेध गरेर जाने सोचको आयु समाप्त भइसक्यो, एकता प्रबलीकरण गरौँ : पूर्वराजा ज्ञानेन्द्र


३० चैत्र २०७६, आइतबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध गरेर जाने सोचको आयु समाप्त भएको दाबीसहित धरातलीय यथार्थलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरस(कोभिड-१९) को महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौँ भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौँ ।’

पुर्खाले अनादीकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस विश्व जगतले गरेको समेत उनको सन्देशमा उल्लेख छ । पूर्व राजा शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।’

यही जगमा उभिएर समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता लिनुपर्ने बेला भइसकेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस