डोटीमा ३ हजार ९ सय ४५ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट गरिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डोटीमा ३ हजार ९ सय ४५ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट गरिने


३० चैत्र २०७६, आइतबार


डोटी । डोटी जिल्लामा चैत्र १ गते देखि १० गते सम्म तेस्रो मुलुक लगायत भारतबाट आएका ३ हजार ९ सय ४५ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिने भएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको संयोजकत्वमा आइतबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय कमान्ड पोस्टको बैठकले र्‍यापिड डाइग्नोष्टिक(आरडीटी)टेस्ट गर्ने निर्णय गरेको हो ।

स्थानीय तहले उपलब्ध गराएको तथ्याङ्कको आधारमा दिपायल सिलगढी नगरपालिकाका ८ सय १८ जना, सायल गाउँपालिका ३ सय जना, जोरायल गाउँपालिकाका ४ सय २८ जना, आदर्श गाउँपालिकाका २ सय ७९ जना, बोगटान गाउँपालिकाका ३ सय ९४ जना, बडी केदार गाउँपालिकाका ४ सय ४९, पुर्विचौकी गाउँपालिकाका २ सय ३२ जना, के आई सिंह गाउँपालिकाका ४ सय ११ र शिखर नगरपालिकाका ७ सय ३४ जनाको र्‍यापिड टेस्ट गरिने प्रजिअ पौडेलले बताए ।

कमान्ड पोस्टको बैठकले डोटी जिल्लाका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरूको स्वाब परीक्षण गरी परीक्षण बाट पोजेटिभ देखिएकालाई अस्पतालमा भर्ना गर्ने र नेगेटिभ देखिएकालाई एक हप्ता सम्म होम क्वारेन्टाइनमा रहने गरी सो घोषणा गराई सोको स्थानीय स्वास्थ्य स्वयम सेवीका द्वारा अनुगमन र निगरानी गर्ने गरी क्वारेन्टाइन बाट घर फिर्ता गर्ने निर्णय समेत गरेको छ ।

र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्नका लागि आवश्यक कीटहरू सुदूरपश्चिम प्रदेश सरकार सँग माग गरिएको समेत प्रजिअ पौडेलले बताए ।

कृत्रिम अभाव देखाई कालोबजारी नगर्न प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय डोटीले दैनिक उपभोग्य तथा औषधिजन्य चिजबस्तुहरुको कृतीम अभाव देखाई मूल्यवृद्धि, कालाबजारी गर्ने लुकाउने वा आपूर्ति अवरोध जस्ता कार्य नगर्न र नगराउन उद्योगी व्यापारीहरूलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक सूचना जारी गर्दै देशभर लागु हुने गरी नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गरी कोरोना भाइरसको आक्रमणलाई समयमै नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याउन जिल्ला बासीलाई अपिल गरेको छ ।

जिल्ला भित्र दैनिक उपभोग्य बस्तुहरू खाद्यान्न औषधी लगायतका अति आवश्यक बस्तुहरू एक महिनाको लागि पुग्ने गरी सञ्चित रहेको जानकारी गराउँदै प्रशासनले यस्तो दुःखको घडीमा आपसी सहयोग र सतभाव बढाउँदै जान र बजार व्यवस्थापनमा समेत कसैबाट हुन सक्ने कृत्रिम अभाव खडा गरी कालोबजारी गर्ने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गरी बजार व्यवस्थापन सरल र सहज बनाउन अनुरोध गरेको हो ।

यदि कसैले त्यस्ता कार्य गरेको अवस्थामा वा आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० ले तोके बमोजिम कारबाही गरिने प्रजिअ पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस