नयाँ वर्षको शुभकामना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नयाँ वर्षको शुभकामना


३० चैत्र २०७६, आइतबार


कोइलीको सुमधुर लवजले वातावरण रोमाञ्चित भइरहेको बेला
नयाँ वर्षको नयाँपनले आकाश रङ्गिन भइरहेको बेला
धरतीमा कोरोना भाइरसको विश्वव्यापी त्रास लिएर
नयाँ वर्षको आवागमन भइरहेछ ।

आकाश सफा छ
तर जगत् महामारीले आक्रान्त हुँदै छ
यद्यपि नयाँ क्यालेन्डरको नयाँ वर्ष टुप्लुक्क आउन रोकिँदैन

वायुमण्डल स्वच्छ छ
तर पृथ्वीमा प्राणघातक कोरोनाले धेरैको सासमा विराम लाउन खोजिरहेछ
हिजोसम्म अनेक मानिसले विचरण गर्ने सुन्दर समुद्र किनारका दृश्य
आज मानिसकै असंख्य लास बगाउन प्रयोग भएको पो देख्नुपरिरहेछ
सभ्यता पतनको अपूर्व निकृष्टता पतित भइरहेकै बेला
आँगनमा नयाँ वर्ष आशाकै प्रार्थना बोकेर भित्रिरहेछ

विज्ञानका अगणित आविष्कारले संसार उद्वेलित भइरहेका बेला
अदृश्य रूप भएको एउटै भाइरसले सिङ्गो शताब्दी सन्त्रस्त पारिरहेछ
त्यही घातक भाइरस संक्रमणको डरले
प्रत्येक स्पृश्यताबाट सिङ्गो मानव समाज भयभीत भइरहेको छ
र पनि,
वसन्तको वातावरणीय बहार लिएर नयाँ वर्ष मुस्कुराइरहेछ

मान्छे अ मान्छे भएर प्रकृतिको निर्मम दोहन गरिरहेको समयमा
विज्ञानका चमत्कारले स्वयं प्रकृतिलाई नै चुनौती दिइरहेको बेला
विपत्तिको अनुमान नै नभएको होइन
प्राकृतिक लयलाई भताभुङ्ग पारेर मानवीय घमन्ड उत्कर्षमा पुगेकै बेला
प्रलयको पूर्वानुमान पनि नभएको होइन
दम्भ, पाशविकता र दानवीय प्रवृत्तिले मानवतालाई हरिरहेको क्रूर समय
सिङ्गो मानव सभ्यताको प्रतिष्ठामाथि नै प्रश्न नउठेको पनि होइन
सिलसिलाको यो शृङ्खलामा
आज कोरोनाले सिङ्गो मानवसमुदायलाई एकै ठाउँमा जोडेको छ
विश्वग्रामको प्राचीन परिभाषालाई पुनर्परिभाषित गर्दै
धरतीमा चेतनाको नयाँ बीज अंकुरण गरेको छ
हो, ठिक यही समय
मानवताको गीत गाउँदै नयाँ वर्ष टुप्लुक्क आइपुगेको छ ।

मान्छेदेखि डराउँदै मान्छेहरू
घरभित्रै आफैँलाई कैद गरिरहेको बेला
मानव धर्मको गीत गाउँदै
अनेक गुट उपगुट र स्वार्थलाई तिलाञ्जली दिन तम्तयार पो छ मान्छे
सास रहेसम्म आस रहन्छ भन्छन्
त्यही आसको अद्भुत विम्ब बनेर
नयाँ क्रान्तिको बीजांकुरण गरिरहेछ नयाँ वर्ष

कस्तै धनी छु भन्नेलाई छाडेन
धेरै जान्ने छु भन्नेलाई बाँकी राखेन
कोरोनाको कहरले
प्रहारको वाणवर्षा गर्न कसैलाई छाडेको छैन
असमान विश्वमा समानताको नारा लागिरहँदा
जीवन र स्वतन्त्रतालाई नै धारे हात लाउँदै वेगवान् भइरहेछ अदृश्य कोरोना

नयाँ वर्षको यो प्रहरमा
घरभित्रबाट विश्वको चीत्कार अवलोकन गर्न विवश छ मानव
तथापि
अनेक सहयोगी हातहरूको खातिर प्रशंसाका शब्द समर्पण गर्दै
सान्त्वना र धैर्यतापूर्ण सजगताको सङ्कल्प बोक्दै
घरको झ्यालबाटै वसन्तका सुन्दर पालुवा अवलोकन गर्दै
मानवताको संगीन चरणमा
ज्ञान र विज्ञानको संकथनमा सिर्जना भएका थप पालुवा हेर्दै
सभ्यताको समृद्धिको कामना गरिरहेछु
नयाँ वर्षको मङ्गलमय शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस