वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि


३० चैत्र २०७६, आइतबार


काठमाडौँ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक कोरोना भाईरस परीक्षणमा कोरोना भाईरस(कोभिड १९) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ ।

संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ।

कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ।

शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो। लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस