कोरोना कहरका लागि सरकारका कदमहरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना कहरका लागि सरकारका कदमहरू


२९ चैत्र २०७६, शनिबार


यतिबेला विश्व कोरोना भाइरस(कोभिड-१९) को कहरबाट त्रसित र भयभीत बनिरहेको छ । विभिन्न सञ्चार माध्यमका अनुसार हालसम्म २ सय नौ देशमा कोरोना असर पुगेको देखिन्छ । यस्तो महामारीपूर्ण दुखद घडीमा मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ ।

२०७६ चैत्र २७ गतेका दिनसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या ८८ हजार पाँच सय भन्दा बढी पुगेको छ । त्यस्तै गरी यस्तो दुखद घडीमा विश्वभरि सङ्क्रमित हुनेको सङ्ख्या १५ लाख २१ हजार भन्दा बढी रहेको छ । यो क्रम पनि दिनानुदिन बढ्दै गइरहेको छ । कोरोनाका महामारीबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटालीमा १७ हजार ६ सय ६९ जना, स्पेनमा १४ हजार ७ सय ९२, अमेरिकामा १४ हजार ७ सय ७४ जना रहेको छ । यसै गरी बेलायतमा ७ हजार बढीको मृत्यु, चीनमा ३ हजार ३ सय ३३ जनाको मृत्यु, क्यानडामा ४ सय २७ जनाको मृत्यु भएको पाइन्छ । सबै भन्दा शक्तिशाली राष्ट्र अमेरिकामा त एकै दिनमा १ हजार ९ सय २६ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । त्यस्तै सार्क मुलुकहरूमा सबै भन्दा बढी भारतमा १ सय ७८ जनाको मृत्यु पाँच हजार ९ सय बढी सङ्क्रमित रहेका छन् । बङ्गलादेशमा २० जनाको मृत्यु, २ सय १८ जना सङ्क्रमित रहेको, पाकिस्तानमा १७ जनाको मृत्यु, अफगानिस्तानमा १४ जनाको मृत्यु, श्रीलङ्कामा ७ जनाको मृत्यु भएको देखिन्छ । कोरोना कहरबाट प्रभावित भएर हालसम्म मृत्यु नहुनेमा नेपाल रहेको छ । जसमा ९ जना सङ्क्रमित, २ हजार ३ सय ६६ जनाको परीक्षण गरिएकोमा नेगेटिभ रहेको पाइएको छ । ७७ जिल्लामा नै उच्च सतर्कता अपनाइएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को कारण देश लकडाउन (एकान्त बास) मा रहेको छ । लकडाउनको समयमा सबै जना घरभित्र पूर्व सावधानी अपनाएर बसिरहेका छन् । सडक सुनसान र मौन रहेको छ । सुरक्षा कर्मी, स्वास्थ्यकर्मीहरु, सञ्चार जगतका प्रतिनिधिहरू (राज्यको चौथो अङ्ग) मानव सेवामा समर्पित मनहरू ज्यान र परिवारको कुनै प्रवाह नै नगरी सुरक्षा र सूचना दिनका लागि अहोरात्र खटिरहेको देखिन्छन् । महामारी पैmलन नपाओस् भनी जनताकै भलाइका लागि सरकारले विभिन्न सुरक्षा विधि अपनाइरहेको छ । यस्तो अवस्थामा पनि हामी भनी नियमको कुनै पालना नगरीकन सुरक्षा कर्मीलाई उल्टै हैरानी र सास्ती पुर्‍याउने काम गरिरहेका छौँ । लकडाउनको समयमा घरभित्र नबसी हामीहरूले सवारी साधन लिएर सडकमा प्रहरीलाई सास्ती र हैरानी पुर्‍याउने काम गरिरहेका छौँ । त्यस्तै गरी विरामीकोे बहाना बनाएर पास उपलब्ध गराउन भनी पासको दुरुपयोग गरिरहेका छौँ । धिक्कार छ गौतमबद्धको देशका नागरिक आफ्नै भलोका लागि पनि हामीहरूले बुझ्न सकिरहेका छैनौँ ।

यतिबेला नेपाल कोरोना संक्रमणमो उच्च जोखिममा रहेको छ । विपन्न वर्ग, दैनिक ज्यालादारी गरी परिवारको पालन पोषणगर्नेहरुका लागि यो लक डाउनले हात मुख जोर्नका लागि सङ्कटको अवस्था सृजना भएको छ । लकडाउनले गर्दा व्यक्ति अधिकारहरू खुम्चिएको अवस्था छ । तर, यस्तो विषम परिस्थितिलाई नेपालीहरूले सर्हषरुपमा पालना गर्नु पर्ने देखिन्छ ।

यस्तो भयावहको अवस्थालाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेका प्रयासहरूमा कोरोना भाइरस(कोभिड-१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ रहेको छ । यसमा कोरोना भाइरसको सङ्क्रमणबाट लाग्न सक्ने रोगबाट नागरिहरुलाई सुरक्षित राख्नका लागि मापदण्ड तोकिएको छ । कोभिड १९ फैलिएको देशबाट आएका, सो देशबाट ट्रान्जिट भई आएका, सतही मार्गबाट आएका व्यक्ति र कोरोनाको शङ्कास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेनटाइनमा सुरक्षित राख्ने व्यवस्था सम्बन्धमा उल्लेख गरेको छ । सम्भव भए सम्म क्वारेन्टाइन बनाउँदा घना बस्तीबाट टाढै आधारभूत आवश्यकता सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुली, फोन लगायतको व्यवस्था उल्लेख गरेको छ ।

गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरिलाई विशेष प्राथमिकता दिई छुटै राख्ने व्यवस्था उल्लेख गरेको छ । साथै क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा स्वास्थ्य कर्मीको व्यवस्थापन, फोहर व्यवस्थापन, बास व्यवस्थापन, सुरक्षा व्यवस्थापन, आर्थिक व्यवस्थापन र क्वारेन्टाइनमा बस्ने र क्वारेन्टाइनमा खटिने कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिताको उल्लेख गरिएको छ । तर हामीहरूले यसतर्फको सम्यमता नअपनाईकन भाग्ने काम गरिरहेका छौँ । यसको परिणाम कस्तो हुन्छ ? त्यसमा सोच्नु पर्ने र आचार संहिताको पूर्ण पालना गर्नु पर्ने जरुरी देखिन्छ । नत्र यति सानो सुन्दर देश क्षणभरमा इटाली बन्न बेर लाग्दैन ।

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई राहत उपलब्ध गराइने सम्बन्धी मापदण्ड २०७६ रहेको छ । यस मापदण्डमा कोभिड-१९ बाट प्रभावित सङ्क्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्गको लागि राहत उपलब्ध गराउने सम्बन्धी व्यवस्था उल्लेख गरेको छ । लकडाउनले असक्त, आवासविहीन धर्मशाला, वृद्धाश्रम, बाल आश्रममा रहेका व्यक्तिहरू, मालसामान ओसारपसार गर्ने मजदुर, पर्यटक भरिया, गिट्टी कुट्ने, बालुवा चाल्ने मजदुर, डकर्मी, सिकर्मी दैनिक ज्याला लिने मजदुरलगायतका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने व्यवस्था उल्लेख छ ।

राहतमा अति आवश्यक खाद्यान्न चामल, दाल, नुन, तेल, साबुन र चिनी रहेका छन् । स्थानीय निकायलाई एक परिवारलाई एक एकाइ मानी अभिलेख राखी राहत उपलब्ध गराउन भनिएको छ । तर, विडम्बना यसरी विपन्नको लागि छुट्टाइएको राहत पनि उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाका हुने खाने सम्पन्नशाली परिवारहरूले लिएको समाचारमा पाइयो । यस्तो विपद्मा पनि आफूले सहयोग गर्ने बेलामा पनि मानव धर्मलाई भुलिरहेका छौँ । धिक्कार छ सरकारको नियमलाई उल्लघंन गर्न पछि परेका छैनौँ । यसले हाम्रो मानवताको खिल्ली उडाइरहेको छ ।

त्यसैगरी नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति रहेको छ । यस समितिमा रक्षा मन्त्रीको संयोजकत्व, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव सदस्य सचिव रहने गरी १२ सदस्यहरू रहेको छ । यसले अति आवश्यक बस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि सवारी साधनको चेक जाँच गरी नियमित गर्ने, भारततर्फ क्वारेन्टाइनमा रहेका नेपाली र नेपालतर्फ रहेका विदेशीलाई सम्मानपूर्वक क्वारेन्टाइनमा राख्ने र बस्ने व्यवस्था मिलाउने मा रहेको छ । त्यस्तै गरी अप्रिल ३० सम्म व्यावसायिक हवाई उडानहरू बन्द गर्ने र श्रमिक वर्ग र असहायलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड २०७६ लाई परिवर्तन गर्ने रहेको छ ।

राहत वितरणमा एक द्वार प्रणालीको अवलम्बन गर्ने सम्बन्धमा पनि व्यवस्था गरेको छ । कार्य योजना तथा मापदण्डका आधारमा मात्र राहत वितरण गर्ने व्यवस्था मिलाउने, प्रत्येक वडामा निवेदन र गुनासो सङ्कलन गर्ने सम्बन्धमा सम्पर्क व्यक्ति तोक्ने राहत वितरणलाई संन्चार माध्यमबाट सार्वजनिक गर्ने र राहतको दुरुपयोग हुन नदिने व्यवस्था उल्लेख छ । त्यस्तै गरी नियमित अनुगमन गर्ने, असहाय, वृद्ध, महिला, बालबालिका, लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि विशेष व्यवस्था गर्ने सम्बन्धमा उल्लेख छ ।

यसरी नेपाल सरकारले कोरोना रोकथामका लागि उल्लिखित व्यवस्था लगायत थुप्रै बैठकहरू पनि गरेको छ ।

उल्लिखित व्यवस्था हुँदा हुँदै पनि हामीहरूले सबैले सक्दो सहयोग गर्नुको साटो मापदण्डहरूको उल्लङ्घन गरिरहेका छौँ । सरकारको खिल्ली उडाइरहेका छौँ । लापरबाही र हेलचेक्राइ गरिरहेका छौँ । चार दिन लगाएर घर पुग्ने, अवैध बाटो अपनाएर मुलुकमा पस्ने, सुरक्षा कर्मीको आँखा छल्ने विभिन्न बहाना बनाएर पासको दुरुपयोग गर्ने, राहत सामग्रीको दुरुपयोग गर्ने कार्य गरी हामी नेपालीको स्वाभिमानलाई लात हानी रहेका छौँ । हाम्रो पूर्वीय सभ्यताले सिकाएको मानव धर्मको खिल्ली उडाइरहेका छौँ । यही हो हाम्रो धर्म संस्कार ? सके सहयोग गरौँ नसके मापदण्डलाई पालना गरौँ ।

यसरी विश्वमा महामारीको रूपमा फैलिइरहेको नोबल कोरोना भाइरस (कोभिड-१९) समयमै पहिचान गरी यसको रोकथाम, नियन्त्रण, उपचारमा सहजीकरण व्यवस्थापन लगायतका कार्यहरूमा समुदायको अग्रणी भूमिका रहन्छ । समुदाय परिचालनबाट महामारीलाई नियन्त्रण गरी व्यक्ति समुदाय र राष्ट्रलाई बचाउन सकिन्छ ।

स्थानीय तहमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, महिला स्वयंसेविका, रेडक्रस, गैरसरकारी निकायका प्रतिनिधि र सामुदायिक स्वसयसेवकहरुको सहभागितामा स्थानीय तहका हरेक वडामा फिल्ड समुदाय स्तरको कोरोना रोकथाम समूह गठन गरी परिचालन गर्ने र सङ्क्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने लगायतका व्यवस्था गरी विश्व महामारीबाट बचौँ आफू पनि बाचौँ अरूलाई पनि बचायौँ । नेपाली हुनुको सार्थकतालाई यर्थाथमा परिणत गरौँ । यसैमा सबैको भलो हुनेछ । यही नै समयको माग र सबैको चाहना पनि हो ।

लेखक राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत हुन् 

Tags :
प्रतिक्रिया दिनुहोस