कोरोना नियन्त्रणको तयारी र संक्रमितको अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री बागलुङमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रणको तयारी र संक्रमितको अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री बागलुङमा


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) नियन्त्रणको तयारी तथा संक्रमितबारे जानकारी लिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ, म्याग्दी र पर्वत पुगेका छन् ।

मुख्यमन्त्री गुरुङ, प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेश सचिव हरि बस्यालसहितको टोली शुक्रबार तीन जिल्ला पुगेको हो ।

पर्वतको आइसोलेसन वार्डको निरीक्षण गरी गुरुङ धौलागिरि प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारबारे जानकारी लिन बागलुङ पुगेका छन् । सो अस्पतालमा अहिले दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

गुरुङले धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्टलगायतसँग कोरोना संक्रमितको उपचारबारे जानकारी लिएका थिए । सो क्रममा मुख्यमन्त्री गुरुङले स्रोत साधनको कमी हुन नदिने भन्दै चिकित्सकलाई आत्मबल उच्च राखेर काम गर्न आग्रह गरेका छन् ।

बिहीबार मात्र मुख्यमन्त्री गुरुङले अस्पतालमा उपचाररत १९ वर्षकी कोरोना संक्रमित युवतीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

सोही क्रममा मुख्यमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय बागलुङमा पुगी प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले कोरोना रोकथामका लागि गरेको तयारीबारे जानकारी लिएका थिए । त्यसपछि म्याग्दी गएका मुख्यमन्त्री गुरुङले त्यहाँको क्वारेन्टाइनस्थलको निरीक्षण गरेर प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी पोखरा फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस