बाटो अनुमति नपाउँदा मुड्केचुलामा खाद्यान्न सङ्कट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाटो अनुमति नपाउँदा मुड्केचुलामा खाद्यान्न सङ्कट


२७ चैत्र २०७६, बिहिबार


डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा खाद्यान्न सङ्कट सृजना भएको छ । सरकारले गरेको लकडाउन र सिमानाका रोक्काले खाद्यान्न ढुवानी गर्न रुट अनुमति नपाउँदा खाद्यान्न सङ्कट हुन लागेको हो ।

जुम्ला हुँदै मुड्केचुला गाउँपालिकासम्म गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.को चामल स्थानीयतहले बाटोको अनुमति नदिएपछि चामल ढुवानी नसकेको कम्पनीका डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए ।

गाउँपालिकामा अघिल्लो मौजात रहेको ५ सय क्विन्टल चामल सबै बिक्री भएको र नयाँ कोटाको नौसय क्विन्टल चामल ढुवानीमा समस्या आएको पाण्डेले बताए । उनले भने, जुम्लाको गुठीचौर गाउँपालिका र डोल्पाको जगदुल्ला गाउँपालिकासँग हामी निरन्तर अनुमतिका लागि सहकार्य गरी रहेका छौ समाधान हुने अपेक्षा लिएका छौँ ।

जिल्लाको निकै धेरै खाद्यान्न खपत हुने स्थानीय तह मुड्केचुला भएकोले खाद्यान्न जस्तो कुरामा रोक नलाउन सबै निकायलाई अनुरोध गर्दै हजौरौ घरपरिवारको दैनिकीमा सहजता गराइदिन सबैतिर पहल भएको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

शाहीले भने, हामीले नेपाल सरकार मार्फत अनुदानमा प्रदान गरिने चामल नै मागेका छौ गाउँपालिका सम्म ढुवानीका लागि सबैले सहयोग गर्नुहुनेछ अर्को महिनाबाट गाउँपालिका खाद्यान्नको सँकटमा पर्नेछ अहिले जेनतेन जोहो चलेको छ ।

कुल ९ वटा वडा रहेको र सबैभन्दा धेरै जनसङ्ख्या रहेको मुड्केचुला आर्थिक तथा अन्य हिसाबले निकै विपन्न र कमजोर स्थानीय तहको रूपमा चिनिन्छ । यस्तो बेलामा खाद्यान्न समयमा नपुगे निकै ठुलो जोखिम आउन सक्ने भएकोले आफूले सबैतिर ढुवानीमा सहजता गराएईदिन र अनुरोध गरिरहेको र ठेकेदारलाई पनि सुरक्षित तरिकाले ढुवानी छिटो गर्न आग्रह गरेको डोल्पा (ख) क्षेत्र कर्णाली प्रदेश सांसद वीरबहादुर शाहीले बताए ।

खाद्यान्न सङ्कट आउन दिँदैनौ अहिले १८ क्विन्टल ढुवानी भएको छ सबै स्थानीय तह र जुम्लासँग पनि सहकार्य भएकोले नआत्तिन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आग्रह गरे । उनले भने, हामी भोकै मर्ने अवस्था आउन दिँदैनौ खाद्यान्न ढुवानी रोक्न पाइँदैन सहजता आउँछ ।

कोरोना भाइरस विरुद्ध लड्न सरकारले गरेको लकडाउन स्थानीय तहले पालना कडाइका साथ गरेपछि यस्तो समस्या आएको हो । डोल्पामा सबैभन्दा कडाइ जगदुल्ला गाउँपालिकामा गरिएको छ ।

यस वर्ष मात्रै ढुवानी हुनुपर्ने जिल्लाको कोटाको २८ हजार चामल ७ हजार मात्रै ढुवानी भएको छ । हाल जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.डोल्पा शाखामा ३२ सय,जुफालमा २२ र काईगाँउमा ६ सय क्विन्टल मौजाद चामल छ । दैनिक सयौँ क्विन्टल चामल बिक्री भई रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.डोल्पा शाखाले जानकारी दिएको छ ।

जिल्लामा अब खाद्यान्नको माग बढी हुने भएकोले दाङ, नेपालगन्ज, सुर्खेत र जुम्लाबाट ढुवानीमा सहजता गराइदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.ले सबै क्षेत्रमा अनुरोध गरेको छ । सरकारले खाद्यान्न ढुवानीमा सहजता गराउन भने पनि स्थानीय तहले भने भाइरसको डरले सहजै यातायात चल्न दिएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस