कोरोना मनोवाद : होम क्वारेन्टिनमा एक रात « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोरोना मनोवाद : होम क्वारेन्टिनमा एक रात


२६ चैत्र २०७६, बुधबार


साँझको खाना खाईवरी बेडमा पल्टेको थिए, निद्रा परेन क्यारे ! सायद लकडाउनको कारण अफिस जानु नपरेकोले दिउसो दुई घण्टा सुतेको असर होला । मोबाइलमा एफएम बजाए, उही कोरोना भाइरसको कुरा। मनमा कुरा खेल्न थाले अहिले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना (कोभिड-१९) को प्रभावको कारण विश्वका अधिकांश देशहरूले लकडाउन घोषणा गरेका छन्। नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको दोस्रो हप्ता बितिसक्दा म पनि समर्थन गर्दै देश र जनताको लागी भन्दा पनि मेरो आफ्नै लागी सरकारलाई समर्थन गरी क्वारेन्टीनमा बसिरहेको छु । कस्तो विपत् होला है ! केही मानिसहरूले त तेस्रो विश्वयुद्धको संज्ञा दिन भ्याई सके । जे होस हामीले लकडाउन समयमै घोषणा गरेर रोकथामका लागी पहल गरिरहेका छौ ।

एकैछिन पछि टाउकोको अग्र भागमा पसिना आयो, नेपालगन्जमा गर्मी चढेछ क्या रे ! फ्यान चलाए । झुल भित्रबाट घरमा आमा वा सँग कुरा गरे, आमावाको उही चिन्ता “छोरा तँ वोडरमा बस्छन्, विदेशबाट आउनेलाई यो रोग लागेको हुन्छ रे, अलि सचेत भएर घरभित्रै वसेस है, बाहिर जाँदा मास्क लगाएर गएस्, बारम्बार साबुन पानीले हात धोएस्, हामी त डुब्न लागेका घाम हौ हामीलाई त लागे पनि केही भएन, तिमीहरू आफ्नो सुरक्षा गर ।” यस्तै यस्तै कुरा पछि फोन काटे । कता वाट एउटा मच्छर कान छेउमै गीत गाउन थाल्यो, झुल लगाए।आँखा भित्तामा झुन्डिरहेको आफ्नै फोटोमा परे, जुन फोटो आज भन्दा साढे तीन वर्ष पहिले मैले कसैसँग सँगै बाच्ने सँगै मर्ने कसम खाएको दिन उनैसँग दुलाहा दुलहीको भेषमा लिइएको थियो ।आज उनी सँगै भइदिएको भए उनीसँग र भर्खर तीन महिना पुगेकी छोरीसँग जिस्कँदै सहजै दिनहरू त बित्ते, यहाँ कति वेला रात पर्ला भनेर घडी हेर्दै दिनहरू बितिरहेका छन् ।

के गर्नु जागिरे जीवन, अझ दुवै जना जागिरे भएपछि त सँगै बस्ने भनेको दसैँ र केही लामो बिदामा रहेछ, यो लकडाउन पनि कतिपयका लागी त बिदा सरह भएको छ, स परिवार बसेका छन्, आफू सच्चा देशभक्त भएर अन्तिम दिनसम्म काम गरियो, उता श्रीमतीज्यूको कथा पनि उही, दुवै कर्मथलोमा लकडाउन। उफ्! बेडबाट उठे र अर्को फोटो हेरे, जहाँ भरखर जन्मेकी छोरीले बाबु आमा दुवैलाई जिस्काइरहेकी छिन । फोटो हेरेर एकछीन टोलाए, पछि फेरी बेड मै पल्टिए ।

“अहो, रात पनि निक्कै बितिसकेको पो रहेछ । होइन, के साह्रो मनमा कुरा खेलेको हो, आज त । सुत्नै सकिनँ ।” म फेरी कोल्टे फेर्छु र लामो सुस्केरा आउँछ “खुइय” । सुत्नलाई म अर्को असफल प्रयत्न तर्फ लाग्छु । आँखा बन्द भए पनि मन त मेरो फ़ुङ्गै छ । निन्द्रा लागे पो ।

“उफ्, त्यो २०७२ को भूकम्प, अहँ होइन क्यारे, महाभूकम्प, – त्यो आएर त्यत्रो विनाश भएको पनि ५ वर्ष पुग्न लागी सकेछ, अनि नाकाबन्दी पनि के रे। यी दुई वटा महाविपत्तिले राज्यको अर्थतन्त्र तहसनहस पारेको अवस्थाबाट बिस्तारै माथि उठ्न थालेको समयमा राज्यमा अर्को विपत्ति पो आयो त । माथिका दुई वटाले त नेपाललाई मात्रै प्रभाव पारे तर यो कोरोना महाविपत्तिले त विश्वलाई नै आक्रान्त पारिरहेको छ । अझ यो समय भनेको महाभूकम्प र नाकाबन्दी भन्दा पनि अप्ठ्यारो र खतरायुक्त समय हो । लकडाउनको यो समयमा त नाकाबन्दीमा जसरी घरबाहिर हिँड्न पाइएन, त्यति बेला सुचारु रहेका दैनिक ज्यालादारी काम र कार्यालयका काम प्रशासन आदि पनि रोकिएका छन् हामी कर्मचारीहरू पनि कामविहीन भएर बसिरहेको छौ । काठमाडौँका मानिसको कथा त छन् बेग्लै होला, बिहान एक घण्टा दुई बाल्टी पानी थापेर दिनभरिलाई पुर्‍याउन पर्ने डेरावासीले बारम्बार हात धुनुपर्ने यस्तो बेला हातसम्म पनि कसरी धुने ? ५० वटा टिनका टहरा र एउटै शौचालय प्रयोग गर्नुपर्ने गरी बस्नेले भोक त पन्छाउलान् तर सङ्क्रमणबाट कसरी बच्ने ? मलाई बारबार लागिरहेको थियो, गाउँमा घर गोठ भएका मान्छे बरु आइसोलेसनकै अवस्था आए पनि गोठमाथिको धन्सारमा बस्दा हुन् । बारीको पल्लो छेउमा कच्ची भए पनि शौचालय बनाउँदा हुन् र छुट्टै बस्दा हुन् ।

मूल वा खोलामा खरानीले भए पनि हात त धुन पाउँदा हुन् । सहरमा टहरामा बस्नेलाई संक्रमण भइहाले त सडकमै मर्नुको विकल्प छैन । इन्द्रबहादुर राईको कथा ‘रातभरि हुरी चल्यो’ मा जस्तै सहरी गरिबका दुःख पनि अनन्त छन् । धन्न म चाही भाग्यमानी पो रैछु, हात धुनलाई पानी जति नि जमिनबाट नल्का पेले आई हाल्छ। घरबाट बाहिर निस्कनुपरेको छैन, खानेकुराको कमी छैन, अलिकति भए पनि पैसा छ, सरकारले डेलिभरी गरेको खानेकुरा सामाजिक दुरी कायम गरेरै भए पनि किन्न पाइएको छ। बिचरा रिक्सा चलाएर, ज्याला मजदुरी गरेर साँझको छाक टार्ने मानिसहरूको कथा के होला? खोइ राज्यले राहत दिएको भन्ने सुनिन्छ तर राहतमा पनि पक्षपात भएको, धनीमानिहरुले लिएर गरिब भोकै मरेको भन्ने समाचार पनि बेलाबेला सुन्नमा आएको छ । भोलि त राहत कोषमा थोरै भए पनि जम्मा गरिदिनुपर्ला, मेरो सानो सहयोगले कसैको एक छाक टर्छ कि?

म यो सबै कुरा मनमै खेलाउँदै गर्दा प्यास लागेको जस्तो लागेर आउँछ । त्यतिकैमा मेरो फोनमा “टुंग” आवाज आउँछ । यसो बाह्र हात पसारेर ओछ्यान नजिकै रहेको टेबुलबाट फोन टिपेर हेर्छु । त्यसमा पनि उही त हो नि – राहत वितरणकर्ताले आफ्नो पार्टीको नजिकको कार्यकर्ता र आफन्तहरूलाई मात्र राहत वितरण गरेको कुरा एउटा साथीले सामाजिक सञ्जालमा सम्प्रेषण गरेको मलाई जानकारी आएको रहेछ । उठेर पानी पिई फेरी बेडमै पल्टिए ।
अब जसरी पनि निदाउनुपर्‍यो भन्दै म बिस्तारै ढल्केँ । साथीले जानकारी गराएको कुराले मनमा फेरी पनि कुरा खेलाउन कति खेर पो सुरु भएछ, यादै पाइनँ । राहत वितरणमा मात्रै हो र यहाँ त यस्तो विपतको घडीमा औषधी खरिदमा पनि भ्रष्टाचार सुरु भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी अनुसन्धान सुरु भएको र सरकारले ठेक्का प्रक्रिया रद्द गरेको समाचार आएको दुई दिन मात्रै बित्यो ।

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गर्दै नेपाल पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको मुलुक भन्दै रिर्पोट सार्वजनिक गरेपछि मेडिकल सामग्री खरिद गर्न सरकार केही तोतेको थियो। नेपालमा पहिलो संक्रमितको पहिचान भैसकेपछी कोरोनाको उपचार र जोखिम न्यूनीकरणका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रिया थालनी भएको थियो, अहिले कोरोना संक्रमणले नेपालमा दोस्रो चरण प्रवेश गरिसक्दा पनि मेडिकल सामग्री खरिद गर्न सकिएको छैन। अझ पुनः ठेक्का प्रक्रिया रे ! रोगले महामारीको रूप लिई सक्ला, सरकार ठेक्का प्रक्रिया भन्दै अल्झेला। धन्न, लकडाउन घोषणा गरेर केही कन्ट्रोल गरेको छ । सुनेको थिए, कम्युनिस्ट सरकारमा भ्रष्ट्राचार हुँदैन, जस्तोसुकै महाविपत्तिमा पनि जनतालाई दुई छाक टार्ने समस्या पर्दैन तर यहाँ त ठ्याक्कै उल्टो भईराको छ ।

एक छिन शान्त भएर बस्दा सडकमा गुडेको र हर्न बजाएको आवाज परपरबाट आएको पनि कानमा ठोक्किन पुग्यो । घडी हेरेँ । रात निक्कै पो बितिसकेको रहेछ ।“अहो, कसरी रात कटाउने होला छ्या ! निन्द्रै पर्दैन । के गर्ने ?” फेरी पानी पिएर सुत्ने कोसिसमा लागेँ । आँखा र शरीर गलेर हुरुक्कै भैसकें तर निन्द्रा आउने कुनै सुर नै छैन । लामो सुस्केरा तानेर अर्को पट्टि कोल्टे फेरेँ । आँखा बन्द गरेँ तर के निन्द्रा पर्थ्यो र ? उठेर कम्प्युटर खोलेर कोरोना भाइरस र यसको प्रभावबारे समाचार पढ्नुपर्‍यो भन्ने पनि लाग्यो । फेरी पढेर पनि के गर्ने । त्यही खराब समाचार बाहेक अरू केही हुन्न भन्ने सोचेर मनमा बरु कुरा खेलाउँदै बस्छु भन्ने लाग्यो । अब मनमा कुरा खेलाउँदा खेलाउँदै मन पनि त्यस्तै थाकेर निद्रा लागिहाल्छ नि भनेर बसेँ ।

आ! कम्युनिस्ट भनेका पनि कहाँ अर्कै लोकबाट आएका मान्छे हुन् यही गरिबी, अभाव, र दबाबमा जिएर आएका मानिस त हुन नि ? सबैलाई आफ्नो दुनु सोझ्याउनै त छ नि। तर आफ्नो जीवन राम्रो बनाउने निहुँमा यस्तो विपतको वेला भ्रष्ट्राचार गर्न नलागेकै भए हुने। हुन त छानबिन होला, सत्य तथ्य आउला, तथापि आरोप लाग्नु नै राम्रो होइन। चीनले छलाङ मारेको देख्दा हामी पनि लोकतन्त्र स्थापना पछि विकासको बाटोमा लम्किन्छौ कि झैँ लागेको थियो, कम्युनिस्टहरू सरकारमा आएका थिए, आशा जागेकै थियो। तर सोचे अनुरूप भएन, केही नभएको पनि होइन, नाकाबन्दीको वेला सरकारले लिएको अडानलाई स्यालुट गर्नुपर्छ, अहिले पनि समयमै लकडाउन घोषणा नगरेको भए रोगले महामारीको रूप लिई सक्थ्यो होला । आशा छ राज्यले अझै यो विपत्तिबाट मुक्त हुन थप योजना हरू ल्याउने छ ।

अमेरिका जस्ता महाशक्ति राष्टहरुलाई गलाई सकेको सन्दर्भमा हाम्रो देशमा केही कन्ट्रोल भएको छ , रोकथामका उपायहरू अवलम्बन गरिएको छ तर ती अझै अपुग छन्। अव सरकारले यस्तो महाविपद्को बेला खानपिनमा लाग्ने देशद्रोहीलाई ठाउँको ठाउँ कारबाही गरोस् । जाँच गर्ने उपकरण, पीपीई लगायत अत्यावश्यक औषधि उपकरण जिटुजी मार्फत फास्ट ट्रयाक अपनाएर खरिद गरोस् ।सीमा नियमन गर्न लामो समय लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसको लागि १ वर्षको खाद्यान्न तथा औषधिको जोहो सरकारले गरोस् । बिरामी उपचार नगर्ने प्राइभेट अस्पतालको इजाजत रद्द गर्ने वा राष्ट्रियकरण गर्ने काम सरकारले शीघ्र गरोस् । विपदमा काम नलाग्ने अस्पताल अस्पताल हैनन्, पैसा छाप्ने मेसिन हुन् । तसर्थ तिनीहरूलाई कारवाही गर्नै पर्छ । सरकारले कम्युनिस्ट सरकार जस्तो व्यवहार देखाओस् ।

यसरी मनमा कुरा खेलाउँदै गर्दा राति कतिखेर निदाएछु, यादै भएन ।

शर्मा जिल्ला सरकारी वकील कार्यालय, वाँकेका सहायक जिल्ला न्यायाधिवक्ता हुन्

Tags :
प्रतिक्रिया दिनुहोस