स्वास्थ्य सामग्री खरिदबारे आफूलाई कुनै जानकारी नभएको प्रधानमन्त्रीको दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सामग्री खरिदबारे आफूलाई कुनै जानकारी नभएको प्रधानमन्त्रीको दाबी


२६ चैत्र २०७६, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।

स्वास्थ्य सेवा विभागले ओम्‍नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्न नाटकीय रूपमा रातारात सम्झौताको पारदर्शिता र खरिद मूल्यमा विवाद देखिएपछि एकाएक ठेक्का रद्द भएको थियो । सोही विषयमा मङ्गलवार पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा विभागका महानिर्देशकस्तरमा भएको सम्झौताबारे आफू अनभिज्ञ रहेको दाबी गरेका हुन् ।

महामारीका बेला चरम भ्रष्टाचार गरेको भन्दै जनस्तरबाट नै चर्को दबाबआएसँगै नेकपाकै नेताहरूले समेत प्रश्न उठाएका थिए । यस विषयलाई लिएर सचिवालय बैठक डाक्नुपर्ने मागसमेत सचिवालय सदस्यले राखेका थिए ।

एक सचिवालय सदस्यका अनुसार स्वास्थ्य सामाग्री खरिद प्रकरणमा प्रधानमन्त्रीले मन्त्री र सचिवसमेत यसबारे जानकार नरहेको र विशुद्ध महानिर्देशक आफैँले निर्णय लिएको सुनाएका थिए।

‘सम्झौता गरेको पनि मलाई थाहा थिएन, रद्द गरेको पनि थाहा थिएन। यो स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै गरेका हुन्। कानुनीरुपले महानिर्देशकलाई त्यो अधिकार छ। यसबारे मन्त्री, सचिव कसैलाई थाहा छैन। झन् मलाई कुनै जानकारी छैन,’ बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै सचिवालयका ती सदस्यले भने, अनियमितता के भएको हो र अरू के के भएको हो त्यो बारेमा म आफैँ अनुसन्धान र छानबिनको क्रममा छु।’

Tags :
प्रतिक्रिया दिनुहोस