मानवीय सुरक्षाको यक्ष प्रश्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मानवीय सुरक्षाको यक्ष प्रश्न


२५ चैत्र २०७६, मंगलबार


विश्वले अहिले सामूहिक रूपमा १७ वटा काम गर्दैछ । ती हुन् दिगो विकासका १७ वटा लक्ष्यहरू । अब उप्रान्त अर्को काम पनि थपिँदै छ त्यो हो मानव सुरक्षा प्रणालीको विज्ञान खोज र सोध । राष्ट्रिय सुरक्षा, साइबर सुरक्षा, सीमा सुरक्षा र पर्यावरणीय सुरक्षामा केन्द्रित विश्वको ध्यान फेरी मानवकेन्द्रीत मानवीय सुरक्षामा केन्द्रित भएको छ । विश्वमा अवलम्बन गरिएको मानवीय सुरक्षा प्रणालीले नै मानव विकासका समग्र सूचकहरूलाई प्रभावित पारिरहेको हुन्छ । मानवीय सुरक्षा विना सर्वाङ्गीण मानव विकासको अवस्था नाजुक हुने अवस्था रहेको छ ।

आइसिटीको चकमक्क विकासको वर्तमान विश्व हतियार, बारुद र बन्दुक विनाको लडाइबाट हार्ने अनुभूति गर्दैछ । विश्वको सर्वाधिक कमजोर र सर्वाधिक बलिया कहलिएका सबैजनले प्रत्येक सेकेन्ड–सेकेन्डमा आफूलाई असुरक्षित महसुस गर्दैछन् । सीमा सुरक्षा, सैन्य सुरक्षा र भूगोल सुरक्षा भन्दा मानवीय सुरक्षा सर्वोत्तम रहेछ भन्ने महसुस गरिँदैछ । सीमा सुरक्षामा केन्द्रित अमेरिका लगायतका देशलाई मानव सुरक्षाको विश्व पहल र प्रयास लुते भएको साबित कोरोना भाइरसको जीवाणुले गरिदिएको छ । विश्वलाई क्षतविक्षत पार्न कुनै आणविक हतियार आवश्यक छैन भन्ने सन्देह प्रवाह भइरहेको छ । यति बेला मानव सुरक्षा को यक्ष प्रश्न खडा भएको छ । राष्ट्रिय सुरक्षा भन्दा मानव केन्द्रित विश्व मानवीय सुरक्षा सर्वोत्तम रहेछ भने आदेश प्राप्त भई रहेको छ । मानवीय सुरक्षाको हिसाबले विश्व निरीह बनेको साबित हुदैछ । एउटा सूक्ष्म जीवाणुले विश्वका लाखौँ मान्छेहरूलाई तहसनहस बनाइरहेको सन्दर्भमा विश्व सर्वशक्तिमानका सूचकहरू अब बदलिने तरखरमा छन् ।

अमेरिकी डाक्टरले भन्दैछन् ’लडाई’ विनाको युद्ध हारिने भयो । राष्ट्रपति ट्रम्प भन्छन् –अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यू हुनेको सङ्ख्या एक लाख भन्दा कममा रोक्न सकियो भने अमेरिकाको ठुलो सफलता हुनेछ । विश्व तर्साउने जैविकदेखि प्रविधि हतियार भण्डार गरेर लाखौँ मानिस मर्दा पनि सफलता ठान्ने विश्व शक्तिसँग विश्वले गरेको आशा निराशा बाहेक केही बन्ने देखिँदैन । साथै उसको मानव सुरक्षा को अवस्था दर्दनाक नै ठानिने भयो । औषधी र स्वास्थ्य सामग्रीको अभावमा सर्वशक्तिमानहरुको मुटु थर्कमान भएको बेला नेपाल जस्ता ’रिसिभर र हङ्गर’ विश्वका तेस्रो मुलुकहरूको दर्द लेखेर साध्य छैन ।

सन् १९३० तिरको विश्व आर्थिक मन्दी । प्रथम विश्व युद्ध र दोस्रो युद्ध पछि फेरी विश्व एक पटक हल्लिएको छ । थर्किएको छ । दोस्रो विश्वयुद्ध पछि अस्त्र र शस्त्रको उत्पादन र विकासमा होडबाजी चल्यो । विश्वको सर्वशक्तिमान् मुलुकको मापदण्ड जैविकदेखि आणविक हतियार उत्पादन र भण्डारण । तथा सैनिक शक्तिको सञ्चय बन्यो । वर्तमानको सूचना प्रविधि र विज्ञानको महाविकासको युगमा समेत कैयौँ दिमाग युद्ध, लडाई र नष्टमा केन्द्रित भए । विज्ञान रोई मर्छ र ज्ञान हाँसी मर्छ भन्ने भावनाको आभास विश्व जगतलाई हुँदै छ । दोस्रो विश्व युद्धपछि अमेरिकी डलरको भाउले विश्व चुम्यो । उ सर्वशक्तिमान् कहलियो । झन् सोभियतसँग विघटन पश्चात् उ विश्वको सर्वशक्तिमानको एक्लो बादशाह बन्यो ।

विश्व गुटमा विगत देखिनै धु्रविकरण भयो । दोस्रो विश्वयुद्ध पछि पनि यो क्रम रोकिएन । संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन लगायतका क्षेत्रीय र उपक्षेत्रीय सङ्गठनहरू आर्थिक, सामाजिक, राजनीतिक र विकासको हिसाबले असुरक्षित महसुस गठन भए । यी सङ्गठनहरूको सामूहिक प्रयत्न, प्रयास र पहल निरर्थक हुन्छ की भन्ने छ । यति बेला यी सङ्गठनहरू किन र के को लागि भन्ने थप पुष्टि हुने नै होला । विश्व इतिहासले भन्छ, विश्वमा कुनै पनि व्यक्ति र देश चिरस्थायी रूपमा सर्वशक्तिमान् बन्न सक्दैन । हुँदैन। जसरी हरेक क्रान्ति, आन्दोलन र सङ्घर्षले नयाँ शासन, शासक र नेतृत्वको जन्म दिन्छ । त्यसरी नै हरेक चरम सङ्कट र विपत्तिले नयाँ खोज र रचनाको जम्मदिन्छ ।

विज्ञान दिमागको उपज हो । विज्ञान कहिल्यै निरपेक्ष हुन सक्दैन । सापेक्ष हुन्छ । यही विश्व सङ्कटको शिथिलता पश्चात् विज्ञानको धार र खोज पनि नयाँ युगमा प्रवेश गर्नेछ । नष्ट, ध्वंस र विनाशको लागि गरिएका विश्वका पाइलाहरू अब निर्माण, सुरक्षा र रक्षाकबचमा रूपान्तरित हुनेछन् र भइन्न भने सायद अर्को पुस्ताले कुनै विन्दुमा गएर अर्को अनिष्ट र खतराको सामना गर्नु पर्ने हुन सक्छ ।

सन् १९९० को दशकमा अगाडी सारिएका उदारवाद, निजीकरण र दिगो विकासका धारणहरू पनि कुनै बेला संकटले चेतियका अवशेषहरूका उपज थिए । लडाई र काटमारमा उभिएको विश्व केही हदसम्म चेतेको छ । राष्ट्रसङ्घ थर्किएको छ । हल्लिएको छ । विश्व स्वास्थ्य सङ्गठन चिन्ताको चंगुलबाट आत्तिएको छ । र फेरी पनि विश्व असुरक्षित हुँदै डर, त्रास र भयमा बाँच्न विश्व भई रहेको छ ।

सायद, अब उप्रान्त विश्व शक्तिको पगरी अर्को कुनैको टाउकोमा गुथिनेछ । विज्ञानको धार मानवीय सुरक्षामा केन्द्रित हुनेछ । अस्त्र र शस्त्रको मेघा प्रोजेक्ट स्किप हुँदै खोपको खोजमा अगाडी बढ्नेछ विश्व । हुन त सन् १९८० दशकको देखा भएको एचआइभी एड्स जीवाणुलाई अहिलेसम्म पूर्ण ठेगाना लगाउन नसकेको सन्दर्भ एकातिर छ भने सैनिक बहादुरीको होड अर्कोतिर छ । यो जीवाणु धन्न कोरोना भाइरस जस्तो ज्यामिति आकारमा फैलिने रहेनछ ।

विश्वका वाद र प्रतिवादहरू जुन रूपमा जसरी विकास र उद्भय भए तिनीहरूका केन्द्रबिन्दु मानव नै थिए । हाम्रै दिमागले सिर्जित तोप र गोलाहरूका केन्द्र पनि मानव नै थिए । सहश्राब्दी विकास, दिगो विकास र मानव विकासका केन्द्र पनि उही मानव नै छन् । न्याय, अधिकार र हक पनि मानवमै केन्द्रित छन् । रोग, व्याधि, प्रकोप र महामारीका केन्द्र पनि मानव नै छन् । सबैका केन्द्र मानव नै हुने भने विज्ञानको आविष्कार अब मानव सुरक्षाको लागि हुने की नहुने यक्ष प्रश्न छोडेर कोरोनाले छोडेर जाने नै छ । हरेक संकट, महामारी, विपत्ति र प्रसव पीडापछि नयाँ सिर्जनाको उदय हुने नियम छ । फेरी विश्वको आर्थिक र सुरक्षाको धारमा केही नयाँ सोच र धारणको विकास हुनेछ ।

हरेक लडाई, युद्ध र संटमा मानव पछि निशाना आर्थिक क्षेत्र पर्दछ । अहिले विश्व अर्थतन्त्र मन्द छ । ठप्प छ । निदाएको छ । गीतवान् बन्न केही समय यसले आराम गर्नु पर्ने छ । यसले अभूतपूर्व गति लिँदासम्म यसको संरचना र स्वरूपका नयाँ भाष्यहरु जन्मिनेछन् ।

कालान्तरमा विश्वका नामी प्रतिष्ठित नोबेल पुरस्कार प्राप्त गर्ने हक उनीहरूलाई हुनेछ जसले भाइरस विरुद्धको लडाई जित्न खोप र सुईको आविष्कार र विकास गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस