देउसी भैलोको पैसाले साबुन बाँड्दै चन्द्रा(फोटो फिचर) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देउसी भैलोको पैसाले साबुन बाँड्दै चन्द्रा(फोटो फिचर)


२५ चैत्र २०७६, मंगलबार


डोल्पा । कोरोना भाइरस (कोभिड–१९) ले दुनियाँ ढकमगाइ रहेको बेलामा एक युवती भने समाजमा सरसफाइ गर्नेबारे जानकारी गराउँदै हिँडी रहेकी छिन् ।

त्रिपुरा सुन्दरी नगरपालिका २ मद्धुकी चन्द्रा बुढा नर्स गरेका साथीलाई साथमा लिएर घरघर पुग्ने गरेकी छिन् । लकडाउनका समयमा उनी बिहानै हरेकको घरमा पुग्छिन् अनि सरसफाइ बारे पालैपालो गरेर सिकाउँछिन् ।

गएको तिहारमा देउसी भैलो खेलेर जम्मा भएको पाँच हजार रकमले साबुन किनेर मद्धुका ८५ घरधुरीमा निःशुल्क बाँडी दैनिक सरसफाइबारे सचेत गराउँदै गएकी छिन् बुढा ।

चन्द्रा भन्छिन् ‘गाउँमा सरसफाइ बारे जानकारी छैन, सामान्य साबुनले हात धुने सम्म ज्ञान छैन, गाउँका मानिसहरूमा काम बाहेक केही जानेका छैनन् ।

स्थानीय सरकारले स्वास्थ्य र सरसफाइका कुनै पनि कुराको सचेतना नगराएको उनको भनाई छ ।

प्रत्येक घरमा आमाबुवा तथा साना बाहिनी भाइहरूलाई साबुन दिँदै कोरोना भाइरसबाट कसरी बच्ने भन्नेबारे सचेत गराउने गरेको चन्द्राको भनाई छ । उनी भन्छिन् ‘म अगुवाइ मात्रै गर्छु आफूसँग स्टाफ नर्स रचना बुढाले विशेष भूमिका खेल्छिन् ।’

दिनभरको खाली समयलाई आफूले जानेको र सिकेको कुरा गाउँका नागरिकलाई दिन पाउनु भाग्यको कुरा भएको भन्दै हात धुने बारे सरसफाइका बारेमा घरमा पुगेर सचेत गराइ रहेको भन्दै नर्स रचना बुढाले खुसी व्यक्त गरिन् ।

स्थानीय सरकारले यो समयमा स्वास्थ्य सेवाबारे कुनै जानकारी नदिनु निकै ठुलो समस्या भएको र संक्रमण भई हाले गाउँलेकै लापरबाहीले नै धेरैले ज्यान गुमाउने भन्दै चिन्ताको विषय रहेको चन्द्राले बताइन् ।

जिल्लाका अधिकांश गाउँमा सरसफाइको कमीले नै मौसमी रुघाखोकी तथा अन्य भाइरल फैलिने गरेको पाइन्छ । हरेक वर्ष लाखौँ रकम स्वास्थ्य र सरसफाइका नाममा खर्च हुने भए पनि जन स्तर सम्म भने यो कुराले कहिले पनि छुन सकेन र अहिले पनि पूरा नै शैलीमा गाँउलेहरुले दैनिकी गुजारी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस