‘पटक पटक लड्नु र धुलो टकटक्याउँदै उठ्नु मानव जातिको विशेषता हो’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘पटक पटक लड्नु र धुलो टकटक्याउँदै उठ्नु मानव जातिको विशेषता हो’


प्रशासन संवाददाता

२५ चैत्र २०७६, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा पटक पटक लडेर पनि हार नखानु मानवीय स्वभाव भएको बताएका छन् ।

उनले भने, ‘पटक पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरी अगाडि बढ्नु मानव जातिको स्वभाव हो । उसको अदम्य हो, विशेषता हो, यहीँ विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौँ ।’

प्रधानमन्त्री ओलीले मानव जातिले इतिहासमा यस्ता धेरै महामारी माथि विजय हासिल गर्दै आएको बताएका छन् । ‘मानव जातिले इतिहासमा यस्ता धेरै महामारी माथि विजय हासिल गर्दे आएको छ’, उनले भने, ‘नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गरेको छ । पाँच वर्ष अघिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पूननिर्माणको नेपाली जनताको धैर्यता र साहसको नमुना प्रस्तुत गरेको छ ।’

उनले सम्बोधनका क्रममा मानव सभ्यतामा नयाँ लगानी गर्ने देशहरूलाई त आच्छु आच्छु परेको बताउँदै नेपाल जस्तो देशलाई हम्मे हम्मे पर्नु स्वाभाविकै भएको बताए ।

उनले स्वास्थ्य भन्दा ठुलो अरू केही नभएको बताएका छन् ।

मानव जातिलाई चुनौती दिइरहेको यो सङ्कटसँग जुध्न सञ्चार माध्यमको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘मानव जातिलाई चुनौती दिइरहेको यो सङ्कटसँग जुधिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरू छलफल र कामहरू त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै । स्वास्थ्यसँग सम्बन्धित जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरू जनसमक्ष पुर्‍याउन सञ्चार माध्यमहरूले खेलेको भूमिका सराहनीय छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस