न हतियारले डराउँछ
न शक्तिले गलाउँछ
न भक्तिले ढलाउँछ
न भन्छ साना
न चिन्छ ठूला
न कोही आफ्ना
न कोही विराना
अचम्म लाग्छ !
विवेकी वा अविवेकी के हो यो कोरोना !!
पदलाई टेर्ने भएको भए
पैसाको लालसमा धरातलै फेर्ने भएको भए
महलका सेन्सरले छेक्ने भए
सिसि क्यामेराका लेन्सले देख्ने भए
हामी लुता, निम्छराहरू
झुत्रे, झाम्रे, थाङ्नेहरू
भए खाने विचराहरू
झुप्रा, झुपडीका मालिकहरू
बन्ने थियौं हामी मात्र,
तिम्रो खाना निशाना !
हेर,
कति अवुझ वा समन्यायिक के हो यो कोरोना !!
सुरक्षा घेराले घेरिने भए
सिमा, पर्खाल वा काँडेतारले बेरिने भए
रुप, कदलाई हेरिने भए
भूगोल, जात, वर्ग छुट्टिने भए
शिक्षित, अशिक्षित खुट्टिने भए
विज्ञान, प्रविधि किन चुपचाप बस्थ्यो होला
भिटो पावरमा नि फस्थ्यो होला
यूरोप, अमेरिका किन यो पस्थ्यो होला
हुन्थ्यो केवल यो
अन्यत्र रवाना !
विभेदयुक्त वा समावेशी के हो यो कोरोना !!
सिकाउँदैछ यसले खोज्न सुशासन
बुझाउँदैछ यसले रोज्न अनुशासन
पढाउँदैछ पाठ,
सम्मान गर्न विविधताको
बढाउँदैछ हात,
भातृत्व र एकताको
के सुकिलामुकिला
के हात्ती के कमिला
बढाऔं आत्मबल आफैभित्र
आफन्त, पराई, शत्रु अनि मित्र
बसौं भित्र, जोगाऔं चित्र
फेरियो एक्कासी हाम्रो यो जमाना !
क्रान्तिकारी वा अन्य के हो यो कोरोना !!
घरहरु क्वारेन्टिन भए
सम्बन्धहरु डिस्टान्सिङमा रहे
दुनियाँको भयो समान फेसन
लकडाउन अनि आइसोलेसन
रूप, शक्ति देखेर तेरो
आतङ्कित छ ब्रह्माण्ड सेरोफेरो
छक्क पर्दैछ आधुनिक विज्ञान !
मिल्ने सम्म त झुकन ए कोरोना !!
हालः बालकोट, भक्तपुर