स्वास्थ्य स्वयंसेविकालाई १५ सय प्रोत्साहन भत्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य स्वयंसेविकालाई १५ सय प्रोत्साहन भत्ता


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथामका लागि परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरूप एक पटकका लागि १५ सय रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य स्वयंसेविकाहरूलाई १५ सय प्रोत्साहन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

स्वयंसेविकाहरूलाई मानिसहरू क्वारेन्टिनमा बसे/नबसेको हेर्नेलगायतका काममा परिचालन गरिने छ । मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य स्वयंसेविकाहरूलाई कोरोना रोकथाममा परिचालन गर्न, क्वारेन्टाइनमा नागरिकहरू बसेर नबसेको हेर्न र अरू स्वास्थ्य सेवाको काममा उत्प्रेरित गर्नका लागि एक पटकको लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहनस्वरुप दिने निर्णय भएको छ ।’

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औँ बैठकले देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो ।

सरकारले क्वारेन्टिनमा बसेकाहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना नदेखिए घर जान दिने, तर थप सात दिनसम्म घरमै होम क्वारेन्टिनमा बस्न अनिवार्य गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस