कोरोना समितिमा भित्र्याउँदै मन्त्रीलाई दिइयो थप जिम्मेवारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना समितिमा भित्र्याउँदै मन्त्रीलाई दिइयो थप जिम्मेवारी


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिइएको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका डा युवराज खतिवडाले आज बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यसअघि समितिमा नभएका मन्त्रीहरूलाई विभिन्न प्रदेश समन्वयको जिम्मेवारी दिएको बताएका हुन् ।

प्रवक्ता खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलाई प्रदेश नम्बर ५, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई प्रदेश नम्बर २ र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलाई सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यसै गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेलाई संसद्मा भएका राजनीतिक दलहरूसँग निरन्तर संवाद र समन्वय गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको अवस्थाको विषयमा जानकारी लिन र समन्वय गर्ने र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस