कोभिड-१९ ट्रान्समिसन चेन ब्रेकमा हाम्रो दायित्व « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोभिड-१९ ट्रान्समिसन चेन ब्रेकमा हाम्रो दायित्व


२४ चैत्र २०७६, सोमबार


कोभिड –१९ के हो ?
चीनको हुवेइ प्रान्तको वुहान सहरमा वि.सं. २०७६ पौष १ गते ५५ वर्षे व्यक्तिमा देखिएकोले उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या जस्ता लक्षण भएको प्राणघातक रोग बढेसँगै त्यस सहरका स्वास्थ्यकर्मीहरुले पौष १५ गते “पहिचान गर्न नसकिएको निमोनिया”भनी चीन स्थित विश्व स्वास्थ्य सङ्गठनको कार्यालयमा जानकारी गराए । साथै यो रोग चीनबाट अनियन्त्रित भई अन्य देशहरूमा समेत फैलिँदै जाँदा यस रोगको पहिचान र उचित व्यवस्थापनको लागि विश्व स्वास्थ्य सङ्गठनले माघ २८ गते रोगलाई कोरोना भाइरस डिजिज-२०१९ (कोभिड-१९) र भाइरसको नाम सार्स–कोभ-२ नामकरण गरेको थियो।

कोभिड-१९ कसरी फैलियो ?
चीनको हुवेइ प्रान्तको वुहान सहरको कुनै एउटा सीफुड बजारबाट दुर्भाग्यवश सार्स-कोभ-२ भाइरस व्यक्तिमा सर्न पुगेको प्रारम्भिक अनुमान गरिएको छ । सो संक्रमित व्यक्तिबाट आफन्तजन तथा निकट सम्पर्कमा आएका व्यक्तिहरूमा यो भाइरस फैलिँदै गएको ठानिएको छ । यसरी यी व्यक्तिहरूबाट सार्वजनिक स्थानहरूमा, समुदायमा, गाउँ सहर हुदै देशव्यापी रूपमा यो भाइरस फैलिन पुगेको देखिन्छ । साथै समय क्रममा विभिन्न यातायातका साधन प्रयोगकर्ताहरू माझ फैलिन गई राष्ट्रिय/अन्तर्राष्ट्रिय यात्रु तथा पर्यटकहरूको माध्यमबाट देश विदेश हुँदै विश्वभर फैलिदा महामारीको रूप लिएको देखिन्छ।

कोभिड-१९ को ट्रान्समिसन चेन
विभिन्न अध्ययनहरूले कोभिड-१९ को संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हाच्छ्युँ गर्दा र खोक्दा निस्केका, श्वासमा बसेका साना कण, र्‍याल र एरोसोलहरुको सन्निकट सम्पर्कबाट सर्ने देखिएको छ । यो रोगमा संक्रमित व्यक्तीनै कोभिड-१९ को रिजर्भोएर मानिएको छ । यस्तै संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरूमा भाइरस लामो समयसम्म जीवित रहिरहने हुँदा त्यस्ता समानको प्रयोगबाट पनि अर्को मानिसमा सर्ने सम्भावना रहन्छ । हाल सम्मका तथ्यांकका आधारमा संक्रमित व्यक्तिले झन्डै २ देखि ३ जना सम्मलाई भाइरस सार्न सक्ने र यो महामारी हरेक हप्ता दोब्बरले बढिरहेको देखिन्छ । संक्रमित व्यक्तिबाट यो भाइरस अर्को व्यक्तिमा सरेपछि यसको लक्षण देखिन करिब चौधदेखि अट्ठाइस दिन लाग्ने गर्दछ। तर कसै कसैमा यसका लक्षण छिट्टै देखिने र लक्षण नदेखिएता पनि रोग सार्ने क्षमता त्यति नै प्रबल रहन्छ । कोभिड-१९ को विशेष जोखिम वर्गमा स्वास्थ्यकर्मीहरु, नाबालक, बृद्धबृद्धा, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, फोक्सोको संक्रमण र दीर्घरोगीहरु पर्दछन् । यो आलेख तयार पार्दासम्म डव्लुएचओ र वल्र्डोमिटरसका अनुसार २०८ वटा देशका करिब १३ लाख बढी जनसङ्ख्या सक्रमित भई करिब ७० हजार मानिसहरूको मृत्यु भइसकेको र यो क्रम अझै वढदो क्रममा रहेको छ।

कोभिड-१९ रोगीमा देखिने लक्षणहरू
यो भाइरस मानव शरीरमा प्रवेश गरे लगत्तै अपर रेष्पिरेटरी ट्रयाक्ट मा संक्रमण गरेसँगै, सुख्खा खोकी पैदा गर्छ । तत्पश्चात्, भाइरस फैलिँदै गएर फोक्सोमा भएका इपिथेलियल कोषहरूमा रहेका एजीइ-२ नामक रिसेप्टरसँग गएर टाँसिन्छ र फोक्सोलाई बिस्तारै कमजोर तुल्याउँदै लान्छ । बिरामीलाई उच्च ज्वरो, फोक्सोमा पानी जम्ने, लगातार खोकी र श्वास फेर्न अप्ठेरो बढ्दै जाने हुन्छ । बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै जाने, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास भएर फोक्सोमा व्याक्टेयिाको थप संक्रमण भएसँगै निमोनिया जस्ता जटिल समस्या देखिन थाल्छन्।

कोभिड-१९ ट्रान्समिसन चेन ब्रेक
कोभिड-१९ ट्रान्समिसन अध्ययन गर्दा निश्चित चेनमा भइरहेको देखिन्छ र यसको बिरुद्द कुनै प्रकारको औषधि र खोपको विकास भइसकेको छैन । तसर्थ कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने एउटै प्रभावकारी उपाय यसको ट्रान्समिसन चेन (शृङ्खला) ब्रेक गर्नु हो। यसका लागि पहिलो चरणमा कोभिड-१९ संक्रमित रहेका सम्भावित तथा शकांस्पद व्यक्तिहरू को पहिचान गरी निजहरूलाई तत्काल आइसोलेशन वा क्वारेन्टिनमा राखी विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल अनुसार स्वाव सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्नु पर्दछ । सो परीक्षणबाट संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार अस्पताल वा तोकिएको स्थानमा आइशोलेशनमा राखी उपचार गर्नुपर्दछ । दोस्रो चरणमा संक्रमण पुष्टि भएका व्यक्तिहरूको संसर्गमा रहेका व्यक्ति पहिचानका लागि केश ट्रेसिङ्ग गर्ने र तिनीहरूलाई कम्तीमा चौध दिन सम्म तोकिएको क्वारेन्टाइनमा राख्नुपर्दछ । क्वारेन्टिन समयावधिभित्र ती व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य रहेमा थप केही समय सेल्फ आइशोलेसन मा रहने गरी घर पठाउने । तर क्वारेन्टिनमा रहेका व्यक्तिहरूमा ज्वरो, खोकी र टाउको दुख्ने जस्ता लक्षणहरू देखिएमा निजहरूको स्वाब सङ्कलन गरी परीक्षण गर्नुपर्दछ ।

यदि व्यक्तिमा कोभिड-१९ प्रमाणित भए आवश्यकताअनुसार सपोर्टिभ रोगोपचार विधि अपनाइ उपचार गर्नुपर्दछ । यसरी संक्रमित व्यक्तिलाई आइसोलेशनमा राखी उपचार गर्ने र संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा राखी आवश्यकताअनुसार कोभिड-१९ परीक्षण गरी थप संक्रमण फैलिन नदिने गरेमा यसको ट्रान्समिसन चेन ब्रेक गर्न सकिन्छ । ट्रान्समिसन चेन ब्रेक को सफलताको लागि लागि लकडाउन र सामाजिक दुरीकरणको महत्त्वपूर्ण भूमिका रहन्छ।


कोभिड-१९ नियन्त्रणमा राज्य तथा नागरिकको दायित्व
यो महामारी विश्वव्यापीकरण अनियन्त्रित भइरहँदा नेपाल पनि यसको संक्रमणबाट अछुतो छैन । खास गरी नेपालमा सडक र हवाई मार्गहरू सञ्चालनमा नै निर्बाध नेपाल प्रवेश गरेका स्वदेशी तथा विदेशी नागरिकहरूको माध्यमबाट कोभिड-१९ देशमा भित्रिएको छ। आजका दिनसम्म देशभित्र कोभिड-१९ को कारण विकराल अवस्थाको सिर्जना नभए तापनि नौ जनामा कोभिड-१९ संक्रमण पुष्टि भइसकेको छ र इम्पोर्टेड केश वाट स्थानीय व्यक्तिमा संक्रमण फैलिन थालेकोले नेपाल सरकारले संक्रमणको दोस्रो चरणमा पुगेको घोषणा गरेको छ । कोभिड-१९ रोकथामका लागि नेपाल सरकारले गत चैत्र १० गते देखि सम्पूर्ण रूपमा लकडाउन आव्हान गरिसकेको छ । यसका लागि प्रहरी प्रशासनको प्रयोग गरी थप कडाइ गरेको पनि देखिन्छ । यस क्रममा सर्वसाधारण लाई व्यक्तिगत सरसफाइ जस्तै नियमित वा बाह्य वस्तुको सम्पर्कमा आएपछि साबुन पानीले हात धुने, समय समयमा सत्तरी प्रतिशत अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, हाच्छ्युँ गर्दा र खोक्दा रुमाल वा टिस्यु पेपरको प्रयोग गर्ने, खोकी लागेको अवस्थामा मास्कको प्रयोग गर्ने, कुहिनोले हाच्छ्युँ छेक्ने, कपडाहरू ब्लिच प्रयोग गरी धुने र घर वरिपरि डिस्इन्फेक्टान्ट छर्किने लगायतका सुझाव विभिन्न सञ्चार माध्यमबाट प्रसारण गरिँदै आएको छ । यसका साथसाथै एक मिटरको सामाजिक दुरीकरण को अभ्यास लाई आत्मसात् गर्न प्रोत्साहन गरिएको छ ।

त्यस्तै अत्यावश्यक वस्तुहरू जस्तै खाना पकाउने ग्याँस, खाद्य सामाग्रीहरू, पानी, औषधि लगायतका कुराहरूको कमी हुन नदिन बिहान निश्चित समय तोकी बजार खुला गर्नुका साथै कर सेवामा छुट, घर भाडामा छुटका लागि आव्हान, असहाय र मजदुर वर्गलाई राहत वितरण भइरहेको छ। कोरोना परीक्षणका लागि आवश्यक पर्ने पिसिआर मेसिनहरू प्रदेश २ को जनकपुरधाम, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सञ्चालनमा राखिएको छ । प्रदेश १ मा पहिलेदेखि नै मेसिन जडान भइसकेको छ भने बाग्मती प्रदेशको टेकुमा समेत चालु अवस्थामा रहेको छ । त्यस्तै गरेर स्वास्थ्य उपचारमा संलग्न डाक्टर, नर्स लगायतका व्यक्तिहरूलाई सम्भव भएसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउनुका साथै पी.पी.ई. लगायतका सामाग्रीहरू उपलब्ध गराइएको छ ।

यस विषयमा आम जनसमुदायबाट पनि जिम्मेवार तथा सचेत नागरिकको भूमिका वहन गरिनु अत्यन्त आवश्यक देखिन्छ । खागसरि लकडाउनको समयमा घरमै बस्ने, प्रशासनको निर्देशन पालना गर्ने, बाहिर निस्कनै परे मास्कको प्रयोग गर्ने, बजारमा किनमेल गर्दा वा कसैलाइै भेट्दा कम्तीमा पनि १ मिटरको सामाजिक दुरीकरण गर्ने, काम विशेष र तोकिएको समयमा बाहेक जथाभाबी बाहिर ननिस्कने, बाटोमा जथाभाबी थुक्दै नहिँड्ने र सकेसम्म भिडभाड नगर्ने जस्ता कार्य अवलम्बन गर्ने र गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।

मौका यही हो भनेर कर्मचारी तथा सरकारी अधिकारीहरूले भ्रष्टाचार गर्ने, निजी क्षेत्रले गैर जिम्मेवार भई असहयोग गर्ने, व्यापारी तथा आपूर्ति कर्ता ठेकेदारहरूले कालावजारी गर्ने, मूल्य वृद्धि गर्ने, ठग्ने कार्य गर्नु हुँदैन भने सर्वसाधारण जन–समुदायहहरुले पनि अनावश्यक रूपमा उपभोग्य सामाग्री भण्डारण गर्ने काम गर्नु हुँदैन र यस्ता गलत कार्य भइरहे स्थानीय प्रशासनलाई सूचना दिनुपर्छ । साथसाथै भर्खरै विदेशबाट नेपाल फर्केका व्यक्तिहरू क्वारेन्टिनमा बस्ने तथा आफू र आफ्नो वरपर बस्ने कसैलाई कोभिड-१९ का लक्षण देखा परेमा स्वास्थ्य संस्थामा गई चेक जाँच गर्ने र गराउन प्रोत्साहित गर्ने र सम्भावित सङ्क्रमित व्यक्तिको बारे प्रशासनलाई जानकारी उपलब्ध गराउन सहयोग गर्नुपर्दछ ।
कोभिड-१९ को महामारीलाई समस्याको रूपमा नठानेको अमेरिका, ब्रिटेन लगायत युरोपेली मुलुकहरू अहिले कठिन समयबाट गुज्रिरहेका छन् र जहाँ हरेक दिन सयौँ को सङ्ख्यामा मानिस मरिरहेका छन् । केही देशहरू खास गरी जापान तथा दक्षिण कोरियाले कोभिड-१९ देशमा भित्रिए तापनि ठुलो क्षति नबेहोरेर नै नियन्त्रणमा ल्याउन सफल देखिन्छन् । तसर्थ, चीन, जापान तथा दक्षिण कोरियाले कोभिड-१९ नियन्त्रण सम्बन्धमा अपनाएका सफल अभ्यासहरू खागसरि लकडाउन, आइसोलेशन, क्वारेन्टिन, सर्पोटिभ थेरापी , मनोपरामर्श र मृतकको दाहसंस्कार जस्ता तरिकाहरू सावधानी पूर्वक अपनाउन सकेमा कोभिड-१९ को संक्रमणको ट्रान्समिसन चेन ब्रेक गर्न सहयोग पुग्ने देखिन्छ ।

र अन्त्यमा,
विश्वमा नै महामारीको रूप लिएको कोभिड-१९ ले धनी, गरिब, सानो, ठुलो, बालक, वृद्ध सबैलाई संक्रमणको चपेटामा पारिरहेकोले हरेक मानिसले सावधानीका उपायहरू खास गरी आइसोलेशन, सामाजिक दुरीकरण र स्यानिटाइजेशन अवलम्बन गरी यसको ट्रान्समिसन श्रृंखला क्रमभंग गर्न सहयोग पुर्‍याउन भूमिका खेल्न जरुरी छ । हाल उपलब्ध जनशक्ति र साधन स्रोतको उचित प्रयोग गर्दै कोभिड-१९ नियन्त्रण प्रयास जारी राख्दै यस महामारीबाट पाठ सिकेर आगामी दिनमा दीर्घकालीन योजनाका साथ देशभर सुविधा सम्पन्न अस्पताल र प्रयोगशालाहरू स्थापना तथा स्तरोन्नति गर्ने, दक्ष जनशक्ति उत्पादन र पहिचानमा जोड दिने जस्ता विषयमा अगाडी बढाएर देश आत्मनिर्भर हुन सकेमा मात्र भविष्यमा आउन सक्ने यी र यस्तै खालका महामारीहरू सँग जुध्न सहज हुने देखिन्छ।

 थापा त्रिभुवन विश्वविद्यालयमा माइक्रोवायोलोजि विषयमा विद्यावारिधि शोधकर्ता हुन् 

Tags :
प्रतिक्रिया दिनुहोस