डोटीमा एक महिलाको गोली हानेर हत्या, नियन्त्रणमा श्रीमान् « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा एक महिलाको गोली हानेर हत्या, नियन्त्रणमा श्रीमान्


२४ चैत्र २०७६, सोमबार


डोटी । डोटीको जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गाली हानेर हत्या गरिएको छ ।

आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

अनिताका २२ वर्षिया श्रीमान् खडक वनले गोली हानी हत्या गरेको आशङ्का गरिएको छ । मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफूले गोली नहानेको बताएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज सई महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सई थापाले बताए ।

अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासि गोली पड्किएको आवाज आएको र त्यसपछि आफू माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जानकारी दिएको छ । घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ ।

घरमा दुई श्रीमान् श्रीमती मात्र भएको समयमा घटना हुँदा श्रीमानले हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । निज वनको घरमा राखिएको भरुवा बन्दुक अवैध रहेको समेत प्रहरीले जनाएको छ ।

प्रहरीले खडक वनलाई नियन्त्रणमा राखी घटनास्थललाई सुरक्षा घेरामा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप सिं देउवाले बताए । उनले भने, ‘हामी घटनाको अनुसन्धान गरिरहेको छौ ।’ घटना कसरी भयो कसले गर्‍यो भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए ।

डडेलधुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारिक श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस