भारतीय सीमा नाकामा कडाइ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भारतीय सीमा नाकामा कडाइ


प्रशासन संवाददाता

२४ चैत्र २०७६, सोमबार


नेपालगञ्ज । कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए ।

उनले लकडाउनलाई पूर्णरुपमा पालनाका लागि अब भारतबाट एक जना पनि छिर्न नदिइने जनाए ।

सीमानाकामा निगरानी बढाउन बाँकेका सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको छ । जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गङ्गापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैया बिओपीसहित खडैँचा र बढैया बिओपीको पानीट्याङ्कीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनका अनुसार, बिओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फकाइने छ ।

स्वास्थ्य सामग्री अभावमा परीक्षणमा समस्या
रुकुमपूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको चेकजाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मलगण नआएपछि बिरामीको चेकजाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

हाल जिल्लामा भारतबाट भित्रिनेको सङ्ख्या धेरै भएकाले कोरोनाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि त्रसित छन् । यस्तो अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा पूर्णबहादुर पुनले बताए ।

सरकारले लकडाउन घोषणा गरेको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मलगन पठाए पनि ती काम नलाग्ने भएको जनाइएको छ ।

मास्क, सेनिटाइजर जस्ता सामाग्री अभावका कारण जोखिम मोलेर बिरामी चेकजाँच गर्नुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरिले बताए ।

सांसद् केसीद्वारा पिपिई प्रदान
दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले आफ्नो निर्वाचन क्षेत्रका ११ वटा स्वास्थ्य चौकीमा पिपिई प्रदान गरेका छन् । उनले स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड–१९ को संक्रमण फैलिन नदिन तथा रोकथामका लागि निजी लगानीमा सो सहयोग गरेका हुन् ।

उनले तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबइ गाउँपालिकाका ११ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि पिपिई, स्यानेटाइजर, ग्लोब्स, मास्क, थर्मोमिटर उपलब्ध गराएका हुन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस