लकडाउन : व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लकडाउन : व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित


प्रशासन संवाददाता

२४ चैत्र २०७६, सोमबार


राजविराज । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो ।

स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कोशी किनारमा किसानले व्यावसायिकरूपमा लगाएको तरकारी सदरमुकाम राजविराजसहित जिल्लाका अन्य साप्ताहिक हाटबजारमा बिक्रीका लागि लैजान ढुवानी नहुँदा चिन्तित बनाएको किसानहरूले गुनासो गरेका छन् ।

ठूलो लगानी गरेर व्यावसायिक खेती गरेको तर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् । पछिल्लो समय व्यावसायिक तरकारी उत्पादनको लहर चले पनि लगानीको अनुपातमा किसानको हातमा पर्ने लाभ भने घटेको स्थानीय वीरेन्द्र मगरदैताको भनाइ छ । सदरमुकाम राजविराजमा मात्र दैनिक दुईदेखि तीन मेट्रिक टन तरकारी खपत हुने गरेको छ तर उत्पादन धेरै भए पनि लकडाउनका कारण माग थोरै भएपछि व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसान समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सप्तरीको पूर्वी भेगमा २५ किसानले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेको स्थानीय अगुुवा कृषक मोहम्मद राशिकले बताए । अहिले उनीहरूको खेतमा काँक्रो, फर्सी, लौकालगायत अन्य हरियो तरकारी उत्पादन भएका छन् । बजार पुर्‍याउन नसक्दा लौका र काँक्रो खेतमै कुहिएको उनले बताए । ‘काँक्रो टिप्ने हो भने झण्डै दुुई क्विन्टल निस्कन्छ, टिपेर के गर्नु ? बजार पुु¥याउन यातायातको सुविधा छैन’, अर्का कृषक मोहम्मद मोहसिनले भने, ‘हातमा बोकेर कहाँ लगेर बेच्नु ?’

किसानले व्यावसायिक खेती भएको स्थानमा चिस्यान केन्द्र र ढुुवानी गर्ने सडकको व्यवस्था गर्न माग गरेका छन् । अर्का अगुवा कृषक आकाश यादवले किसानको उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने अवस्था सिर्जना गर्न सरकारसँग माग गरे । ‘व्यावसायिक तरकारी खेती बढ्दै गएको छ । यहाँ उत्पादन भएको वस्तुु सहजरूपमा बजार पठाउन सके प्रदेश नं २ कै तरकारीको मागलाई थेग्न सक्छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस