कोभिड-१९ र मेरो सरकार « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कोभिड-१९ र मेरो सरकार


२२ चैत्र २०७६, शनिबार


प्राकृतिक सौन्दर्यताले धनी मेरो देश, प्राकृतिक प्रकोपको दृष्टिले पनि अत्यन्तै जोखिमयुक्त रहेको छ। वर्षेनी कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिम निको हुन नपाउँदै अर्को प्रकोपले थला परिरहेको तितो यथार्थ हामी समक्ष सर्वविदितै छ।

मुख्यतया भूकम्प, बाढी पहिरो, डुबान, चट्याङ, आगलागी, हिमताल विस्फोटन, हिम पहिरो, सित लहर जस्ता प्राकृतिक विपत्तिका कारण वर्षेनी ठुलो धनजनको क्षति व्यहोर्ने मेरो देश, भूकम्पबाट बढी क्षति पुग्ने देशहरूको सुचीमा विश्वको ११औँ, बाढीबाट क्षति पुग्ने देशहरूको सुचीमा ३०औँ स्थान ओगट्दै आफ्नो प्राकृतिक जोखिममय कमजोरी विश्व सामु प्रस्तुत गर्न बाध्य छ।

केही वर्ष पहिले मात्र गएको विनाशकारी महाभूकम्पका कारण ८ हजार ७ सय ९० जनाको मृत्यु भयो भने २३ हजार भन्दा बढी घाइते र करिब ३ सय जना नागरिकहरू अझै बेपत्ता छन्। ७ लाख ५० हजार भन्दा बढी घरहरू पूर्ण क्षति हुँदा करिब ८ खर्व बराबरको आर्थिक क्षतिलाई आत्मसाथ गर्दै लाखौँ जनतालाई खुला आकाश मुनी वर्षौँ बिताएको हेर्न विवश मेरो देशले विभिन्न दातृराष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू, सरकारी गैर सरकारी संस्थाहरू र आम नेपालीको आ-आफ्नो स्थानबाट भएको सहयोग तथा समन्वयद्वारा ढलेका घरहरू, दुखेका मनहरू र गलेको आत्मविश्वासलाई पुननिर्माण गरी भर्खर भर्खर देशलाई आर्थिक विकाश र समृद्धिको बाटोमा डोर्‍याउने सपना बुन्दै गर्दा पुनः विश्वलाई नै तर्साइरहेको कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमणबाट अछुतो रहन सकेन।

विश्व तथ्याङ्कलाई हेर्ने हो भने कोरोना भाइरसका कारण ११ लाख भन्दा बढी सङ्क्रमित हुँदा ६० हजार व्यक्तिले ज्यान गुमाइसकेको अवस्था छ। हालसम्म ९ जना मात्र संक्रमित सङ्ख्या पुष्टि गरेको मेरो देशले अमेरिका र युरोपका शक्तिशाली राष्ट्रहरूका नागरिकहरुलाइ पनि आतङ्कित बनाइ भयावह मृत्युवरण गर्न बाध्य बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट तीन करोड नेपालीलाई दीर्घकालसम्म बचाइराख्न केवल प्रेम, सद्भाव र प्रार्थना मात्रै विल्कुल पर्याप्त छैन।

यसो भनिरहँदा कोरोना विरुद्धको युद्धमा विजय प्राप्तिका लागि सरकार प्रयत्नशील नभएको भनी विश्लेषण गर्नु उपयुक्त नहुन सक्छ। तर विगतमा मेरो देशले भोगेको प्राकृतिक विपत्ति र हाल विश्वले चाहेर पनि जित्न नसकेको कोरोना विरुद्धको युद्धलाई सूक्ष्म विश्लेषण गरी आफ्नो कोरोना विरुद्धको युद्धको तयारी कछुवा गतिबाट बढाएर खरायो गतिमा पुर्‍याउनु पर्ने देखिन्छ। यद्यपि हतारिएर कोरोना विरुद्धको युद्धलाई परास्त गर्ने नाउँमा पूर्ण तयारी, आवश्यक स्रोत साधन र पर्याप्त ज्ञान विना नै गति बढाएर स्वस्थ नागरिक, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य राष्ट्र सेवक कर्मचारीहरूलाई जोखिममा पार्ने तथा अप्रत्यक्ष खाद्य सङ्कट हुने गरी भएका अव्यवहारिक अभ्यासहरूमार्फत जटिल दुर्घटनामा पुर्‍याउने चेष्टा नगरोस् मेरो सरकारले।

यतिबेला सरकारले आफ्नो तवरबाट गरेका जे जति प्रयासहरू छन् तिनीहरूको अनुशासित ढङ्गबाट पालना गरी सरकारको कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको अपर्याप्त तर प्रशंसनीय कार्यमा सकारात्मक सुझाव, टिप्पणी र प्रतिक्रिया सहित सराहना गर्दै सहयोग, समन्वय तथा सहकार्य गर्नु आम जिम्मेवार नागरिकहरूको दायित्व हो। जसरी प्रथम, द्वितीय विश्वयुद्ध तथा विभिन्न राष्ट्रहरूमा भएका गृह युद्धहरूको सामनामा सेना अग्र भागमा रहनु जस्तै जब कुनै पनि देशमा स्वास्थ्य सम्बन्धी आएको महामारी विरुद्धको युद्धमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अग्र भागमा रहनुपर्ने बाध्यात्मक स्वाभाविकता, पेसागत जिम्मेवारी र राष्ट्रप्रति एक असल नागरिकको दायित्व बोध हो। यसरी अन्तर्राष्ट्रिय सङ्कटको रूपमा देखिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा राष्ट्र र जनताका लागि पारिवारिक जिम्मेवारी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर चौबिसै घण्टा सेवामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी तथा सम्बन्धित सबै राष्ट्र सेवकहरूको उच्च मूल्याङ्कन सहित निजहरूको जीवन रक्षामा पनि पहिलो प्राथमिकता देओस् मेरो सरकारले ।

समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको सघन अन्तर आबद्धता तथा उच्च उत्पादकत्व भएको समान अवसर प्राप्त स्वस्थ, शिक्षित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक निर्माण को दीर्घकालीन राष्ट्रिय सोच राखेको मेरो सरकारले केन्द्रमा रक्षा तथा उपप्रधानमन्त्रीको अध्यक्षतामा कोरोना भाइरस(कोभिड-१९) रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समिति गठन, कोरोना भाइरस नियन्त्रण आपतकालिन राहत कोष स्थापना, सातै प्रदेश र ७५३ ओटै स्थानीय तहहरूमा बजार अनुगमन समिति गठन गरी यस सङ्कटको घडीमा आवश्यक तयारी, विभिन्न नीति निर्णय सम्बन्धी सूचना प्रवाह, कार्यान्वयनमा सम्बन्धित पक्षलाई आवहान, लकडाउनको समयमा खाद्यान्न तथा उद्धारमा खटिने यातायात साधनलाई सेवा प्रवाहमा सहजता, राज्यको एकद्धार प्रणालीलाई पूर्ण आत्मसात् गर्दै अति विपन्न परिवारहरूलाई आपत्कालीन राहत सामाग्री वितरण तथा जोखिम क्षेत्रका राष्ट्र सेवकका लागि आवश्यक पीपीई, स्यानिटाइजर, मास्क लगायतका सामाग्री वितरण जस्ता तारिफयोग्य कार्यहरूको माध्यमद्वारा आम नेपालीमा सक्षम सरकारको रूपमा जनताको अभिभावकत्व ग्रहण गर्ने कोसिस गर्दै छ मेरो सरकार।

यद्यपि अकल्पनीय रूपमा विश्वभर सङ्क्रमित र मृत्युवरण गर्नेको सङ्ख्या बढिरहँदा मेरो सरकार दुई हजार नागरिकको पनि परीक्षण गर्न नसक्नु, परीक्षण ल्याबहरू निर्माण र सञ्चालनमा ढिलासुस्ती हुनु तथा भएका ल्याबहरू पनि आवश्यक नठानी बन्द गर्नु, परीक्षण किट लगायत अन्य अत्यावश्यक सामाग्रीहरू खरिद प्रक्रियामा पटक पटक विवादमा मुछिनु, जनताको आगमनको सरकार स्थानीय सरकारले आफ्नो दायित्व बोध गर्न नसक्नु, पूर्ण तयारी सहित स्वास्थ्य कर्मी तथा चिकित्सकलाई आफू सुरक्षित रहेको अनुभूति गराउन नसक्दा कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामीहरूले पनि स्वास्थ्य उपचार पाउन नसकी मृत्युको सिकार बन्नुपर्ने जस्ता पिडादायक स्थिति सिर्जना हुँदा आम नेपाली आफ्नो अभिभावक मेरो सरकार लाई ढुक्कले विश्वास गर्न सकिरहेका छैनन्।

आशा छ, कोरोना विरुद्धको लडाइमा युद्ध स्तरको तयारीमा जुटी पटक पटकको प्राकृतिक विपत्तिलाई सामना गर्दै जितेर उठेको मेरो देशले कोरोना विरुद्धको युद्धमा कुनै एक नागरिकलाई पनि ढल्न दिने छैन।

प्रधानमन्त्री कृषि आधुनिकीकरण ,परियोजना कार्यान्वयन इकाई(तरकारी जोन, दमौली, तनहुँ)

Tags :
प्रतिक्रिया दिनुहोस