वडा कार्यालय र स्वास्थ्य चौकीमा आगजनी, औषधि र सामान चोरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वडा कार्यालय र स्वास्थ्य चौकीमा आगजनी, औषधि र सामान चोरी


२१ चैत्र २०७६, शुक्रबार


वीरगन्ज । वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालय र स्वास्थ्य चौकीमा आगजनी गरिएको छ । बिहीबार राति अज्ञात समूहले आगजनी गरेको वडाअध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए । अध्यक्ष कुर्मीका अनुसार वडा कार्यालयका सामान र स्वास्थ्य चौकीमा भएको औषधि पनि चोरिएका छन् ।

वडा कार्यालयको ढोकाको चाल्ता फुटाएर कार्यालयभित्र आगजनी गर्दा टेबुल १ थान , कुर्सी २ थान र कार्यालयका विभिन्न् अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् ।

कार्यालयभित्र रहेका २ मध्ये एउटा दराजको ताल्चा तोडेर त्यहाँभित्र रहेका सबै कागपत्र र फाइल झिकेर आगजनी गरिएको वडा सचिव घनश्याम कुर्मीले बताए ।

वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान, सिपियु १ थान, प्रिन्टर १ थान, युपिएस १ थान, पंखा १ थान, हिटर १ थान, राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको वडा सचिव घनश्यामले जानकारी दिए । आगजनी गर्नेहरुले स्वास्थ्य चौकीको कोठाको पनि ताल्चा फुटाएर केहि औषधि लगेको उनले बताए ।

लकडाउनले समस्यामा परेका विपन्न, गरिवलाई राहत वितरणका लागि सर्वदलीय बैठक बस्न शुक्रबार बिहान ७ बजे वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडेर आगजनी गरिएको देखिएको वडा सचिव कुर्मीले बताएका छन् ।

उनका अनुसार आगजनी र चोरीबाट करिब चार लाख बराबरको क्षति भएको छ। घटनामा संलग्नको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस