राउटेलाई कोरोनाबाट जोगाउन कर्णाली प्रमुखसचिवको चाँसो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राउटेलाई कोरोनाबाट जोगाउन कर्णाली प्रमुखसचिवको चाँसो


२१ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । विश्व महामारी घोषित कोरोना भाइरस(कोभिड–१९)को प्रभाव नेपालमासमेत देखिइसकेपछि अपनाइएको देशव्यापी सतर्कतासँगै लोपोन्मुख राउटे जातिको स्वास्थ्यस्थितिबारे चासो देखाइएको छ ।

कर्णाली प्रदेशका प्रमुखसचिव टेकनारायण पाण्डेले न्यून सङ्ख्यामा रहेका राउटे जातिलाई कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट जोगाउन चासो देखाएका हुन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लास्थित जङ्गलमा बसोबास गर्दै आएका राउटे समुदायलाई कोरोना भाइरसले नछोओस् भन्नका लागि उनीहरूको स्वास्थ्य चेक जाँचदेखि खाद्यान्न तथा औषधि व्यवस्थापन सँगसँगै आवत जावतमा समेत रोक लगाइएको प्रदेश प्रमुख सचिव पाण्डेले बताए ।

जङ्गल तथा खोलाको किनारामा बसोबास गर्ने यो समुदायको मुख्य पेसा भनेकै काठका भाँडाकुँडा नै भएकोले गाउँघरमा अन्नसँग साटेर परिवार पाल्दै आएका छन् ।

सरकारले देशव्यापी लकडाउनसँगै सर्वसाधारणको आवत जावतमा नै रोक लगाइएको अवस्थामा डुलेरै जीविकोपार्जन गर्दै आएका राउटे समुदायलाई यसबारे जनचेतना जगाउँदै तत्काल आवश्यक खाद्यान्नसहितको व्यवस्था गरिएको प्रदेशप्रमुख सचिव पाण्डेको भनाई छ ।

‘उनीहरूको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्मी खटाएर हेल्प चेकअपको काम भएको छ’ उनले भने, ‘तत्कालका लागि खाद्यान्नको व्यवस्थापन भएकोले धेरै बाटोतिर हिँड्न नदिन सुरक्षाकर्मी खटाइएको छ’

माग्दै हिँड्ने उनीहरूलाई धेरै हिँडडुल नगर्न र भींडभाडमा नजान सम्झाई बुझाइ गर्ने काम भएको उनले बताए ।

एक सय ४६ जनाको सङ्ख्यामा रहेका राउटे समुदाय दैलेखको गुराँसे, सुर्खेतको करे खोला, भेरी किनार हुँदै सल्यानलगायतका ठाउँहरूमा बसोबास गर्दै आएका छन् ।

लोपोन्मुख र संकटापन्न अवस्थामा पुगेको यो जातिलाई तत्काललाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनु पर्ने एकातिर छ भने कमसल गुणस्तरको रक्सीको लतमा फस्दै गएका उनीहरूको स्वास्थ्य चुनौतीलाई सामना गर्नुपर्ने अवस्था अर्कोतिर रहेको प्रमुख सचिवको पाण्डेको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस