‘कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे !’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे !’


प्रशासन संवाददाता

२१ चैत्र २०७६, शुक्रबार


फिदिम । पाँचथर, फिदिम नगरपालिका–९ लुम्फाबुङका इन्द्रबहादुर लावतीले २५ किलोको चामलको बोरा उचाल्दै सोधे, “यो ककसले दिएका रे ?” वितरण गर्न गएकाहरुले बुझाए, “हाम्रै क्षेत्रबाट निर्वाचित प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र उनकी श्रीमती कुमारी लावतीले ।” उनी मुस्कुराए ।

आफू र छोराले काम नपाइरहेका बेला महिना दिन पुग्ने चामलको जोहो भएकामा ‘हल्दार’मा खुशी त थियो नै, त्यसभन्दा बढी आफू आर्थिक रुपले पीडित भए पनि कसैले नहेरेको तर मन्त्रीले चामल पठाइदिएको भनेर दङ्ग भए । “घर जल्यो । अन्न फल्न छाड्यो”, आफ्नो पीडामा खुशी भर्दै लावतीले भने, “कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे १ चेलीले सम्झिइन् ।”

लावती फिदिम र नवमीडाँडाबाट गाउँसम्म सामान बोकेर जिविका चलाउँथे । जब गाउँमा सडक र गाडी पुग्यो, आम्दानीको बाटो टुट्यो । श्रीमती पनि बितिन् । केही वर्षअघि फिदिमबाट गाउँसम्म पेट्रोल लिएर जानुभएको थियो हल्दार । घरमा राखेर बितेको काम सम्हाल्न थाले । पेट्रोल पोखियो, आगो उठ्यो, घर जल्यो । आर्थिक विपन्नताकै कारण छोराछोरीलाई राम्रोसँग पढाउन पाएनन् । बिहीबार ‘मन्त्रीले पठाइदिएको’ चामल पाउँदा ‘हल्दार’ लावतीलाई सबै खुशी फर्किएजस्तो लाग्यो ।

लावतीजस्तै फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिकाका ३१० ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई मन्त्री आङ्बोले व्यक्तिगत रुपमा खाद्यान्न उपलब्ध गराएका हुन् । लकडाउनको प्रभावले दैनिक श्रम गर्न नपाएर समस्यामा परेका विपन्न परिवारलाई मन्त्री आङ्बोले रु दुई लाख ५० हजार मूल्यको खाद्यान्न उपलब्ध गराए । “लकडाउनको प्रभावले दैनिकी गुजार्न समस्यामा परेका आफ्नै निर्वाचन क्षेत्रका नागरिकलाई आफ्नै लगानीमा राहत दिएको हुँ”, मन्त्री आङ्बोले भने, “तीनै तहका सरकारले यस्ता परिवारहरुलाई सहयोग गर्नुपर्ने आवश्यकता छ । यसमा स्थानीय सरकारको विशेष तत्परता चाहिन्छ ।”

स्थानीय तहले दैनिक ज्यालामजदूरी गरेर जीविकोपार्जन गर्ने तथा अतिविपन्न आर्थिक अवस्थाको परिवारका रुपमा सूचीकृत गरेका परिवारलाई जनप्रतिनिधिकै रोहवरमा खाद्यान्न उपलब्ध गराइएको हो । मन्त्री आङ्बोले तुम्बेवा गाउँपालिकाका १९० परिवार, फिदिम–९ लुम्फाबुङका ६० परिवार तथा फिदिम–६ शिवाका ७० परिवारलाई खाद्यान्न उपलब्ध गराएका हुन् । मन्त्री आङ्बो पाँचथर क्षेत्र नं ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस