दर्जन बढी शीर्षकको खर्च रोक्ने अर्थको निर्णय, गाडी-फर्निचर खरिददेखि तालिम खर्चमा रोक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दर्जन बढी शीर्षकको खर्च रोक्ने अर्थको निर्णय, गाडी-फर्निचर खरिददेखि तालिम खर्चमा रोक


२१ चैत्र २०७६, शुक्रबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयले एक दर्जन बढी खर्च शीर्षक रोक्ने निर्णय गरेको छ ।

चालु आर्थिक वर्षका लागि विनियोजित बजेट मध्ये चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोल पत्र आव्हान भइसकेकोबाहेक बाँकी रहेको बजेट तत्काल लागू हुने गरी रोक्न भनेको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि प्रभावित भई देशभर विषम परिस्थिति उत्पन्न भएको अवगत गराउँदै यसबाट आर्थिक गतिविधि प्रभावित भई राजश्व संकलनमासमेत असर परिरहेकोले चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हाललाई स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

साथै विभिन्न निकायहरूमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमासमेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने देखिएको अर्थ सचिव शिशिर कुमार ढुंगानाले जनाएका छन् ।

अर्थ मन्त्रालयले सेवा र परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अनुगमन, मूल्याङ्कन खर्च(अति आवश्यक बाहेकको) भइपरी आउने चालु खर्च, सवारी साधन, मेशिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेष्र निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भैपरी आउने पुँजीगत खर्च कटौती गरेको हो ।

प्रतिक्रिया दिनुहोस