कोरोना संकटको समाजशास्त्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संकटको समाजशास्त्र


२० चैत्र २०७६, बिहिबार


पृष्ठभूमि 
सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा नोबेल कोरोना अर्थात् कोभिड–१९ नामक नयाँ भाइरस (जीवाणु) को जन्म भएसँगै पृथ्वीमा एकछत्र राज गरिरहेको मानव जातिकै विनाशको खतरा चिन्ताजनक रूपमा बढिरहेको छ । मानवजातिले यस ग्रहमा मन लागेको गर्न स्वतन्त्र छौँ भन्ने सोचबाट जस्ताजस्ता कदम चाल्यो र प्रकृतिको निरन्तर दोहन गरिरह्यो, त्यसैको फलस्वरूप आफैँले तुलनात्मक रूपमा यस्तो खतरा निम्त्याएको हो भन्ने विज्ञहरूले बताइरहेका छन् । इतिहासमा यस ग्रहमा धेरै जीवहरूको अस्तित्व सर्वनाश भइसकेको छ । विशाल जीव डाइनोसरदेखि स–साना पुतली, किरा फट्याङ्ग्रा, अन्य जनावर तथा चराचुरुङ्गी आज छैनन् । धेरै वनस्पतिहरू लोप भइसकेका छन् । बचेका केही जीव जीवात्माहरू पनि जैविक विविधता र पारिस्थितिक प्रणालीमा आएको फेरबदलले लोप हुँदै गएका छन् ।

पृथ्वीमा सर्वश्रेष्ठ रूपमा रहेको ठानिने मानव जातिमा पनि समय समयमा खतरा उत्पन्न हुँदै गएको छ । वर्तमान विश्वमा आफूलार्ई अति विकसित र महाशक्ति राष्ट्र दाबी गरिरहेकाहरूको दाबीसमेत मिथ्या साबित हुँदै गइरहेको छ । विश्वको मानव सङ्गठनको नियमिततामा अवरोध उत्पन्न गर्ने, व्यापक र भयङ्कर क्षति गर्ने, मानवीय नियन्त्रणभन्दा माथिका घटनाहरू विकसित भइरहेका छन् । अनपेक्षित र एक्कासि नाटकीय रूपमा सूचीबद्ध भई/नभई मानवीय अस्तित्वमै खतरा उत्पन्न हुने गरी गम्भीर परिस्थितिको निर्माण भएको छ । विपद् र संकटले मौजुदा मानवीय घमन्ड एवम् दाबीहरुलार्ई  ध्वस्त पारिदिएको छ । यसले भौतिक एवम् मनोवैज्ञानिक प्रभाव छोडेर समाजमा तनाव, अस्थिरता, असन्तुलन, डर, भय र त्रास पैदा गरेको छ ।

जोखिम तत्त्व, समय, स्थान र प्रकृति हालसम्म अज्ञात रहेको कोरोना जीवाणु आज विश्व भ्रमणमा निस्केको छ भने पृथ्वीको श्रेष्ठ दाबी गर्ने प्राणी मानिस बन्द कोठामा सहाराविहीन अनुभूतिमा छटपटाइरहेको छ । सामाजिक जीवनको नियमित प्रक्रियालाई छिन्नभिन्न बनाउने; आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक, राजनीतिक र वातावरणीय प्रभाव छोड्ने; राज्य प्रणालीमा नकारात्मक असर पुर्‍याउने, अत्यावश्यक सेवामा धक्का दिने तथा विकासको गतिलाई अवरुद्ध गरी मानवीय अस्तित्वमा नै खतरा पुर्‍याई बहुपक्षीय क्षयीकरण गरिरहेको नयाँ जीवाणुको गति कहाँ पुगेर व्यवस्थापन हुने हो र महामारीपछिको विश्व कसरी लयमा फर्किन्छ, यसै भन्न सकिने अवस्था छैन । विश्वका अधिकांश देशहरूमा महामारीले आयतन बढाइरहेको छ, विज्ञान तथा प्रविधिले निर्माण गरेका आधुनिक उपचार पद्धतिहरू फिका देखिएका छन् । भविष्यको लेखाजोखा गर्ने समाज विज्ञानका परिभाषाहरू फेरिने अवस्था सिर्जना भएको छ ।

हामी विश्वव्यापीकरणको युगमा छौँ । जहाँ स्वास्थ्यको विषय राष्ट्रिय सीमाभित्र मात्र सीमित रहन सक्दैन । विश्वव्यापी रूपमा वस्तु, सुविधा, सेवा, वित्त, मानिस तथा वस्तुस्थितिजस्ता विषयहरूको अन्तरसम्बन्धीले सम्पूर्ण मानिसको सुरक्षालाई निर्धारण गर्दछ । व्यक्ति, समाज, समुदाय र राष्ट्रिय सुरक्षाजस्ता कुराहरू आकस्मिक तथा जोखिमपूर्ण तवरले लिइएका निर्णयहरूमा भर पर्दछन् । स्वास्थ्य र सुरक्षाका विभिन्न पक्षहरुलाई हेर्ने हो भने भौगोलिक सिमानालाई विश्वव्यापी मानवीय अस्तित्वमाथिको चुनौती तथा विश्वव्यापी राज्य अवधारणाले क्रमिक रूपमा विस्थापित गर्ने दिशातर्फ अभिमुख भएकै कारण बाह्य र आन्तरिक सङ्क्रमणबिच कुनै विभाजक रेखा छैन । हो, यही विन्दुबाट विश्वव्यापीकरण र पुँजीवादको पखेटामा उडान भरेको महामारीले गरिब र विपन्न देशका ग्रामीण जनतालाई समेत आक्रान्त बनाउँदै लैजाने निश्चित छ । पश्चिमी देशमा मानिसहरू आफ्नो स्वार्थको पुँजीवादी महल बिर्सेर राज्यको खोजी गरिरहेका छन् । राज्य अशक्त बन्दै गएको अनुभूति गरिरहेका छन् । यहीँबाट देश, समाज र राष्ट्रको नयाँ परिभाषा जन्मने अवस्था सिर्जना भएको छ । मानवीय सुरक्षाको निम्ति सारा सीमाहरू मेटाउँदै आजको युगमा यो सभ्यतालाई बचाउन मानवजातिले तीव्र सङ्घर्ष गरिरहेको अवस्थामा आशा गरौँ, यो विपद्बाट मानिस सचेततापूर्वक नै बाँचिरहनेछ ।

नेपाल सन्दर्भ
नेपाल विभिन्न प्राकृतिक तथा मानव प्रेरित विपद्को जोखिमपूर्ण अवस्थामा छ । हरेक वर्ष बाढी, पहिरो, आगलागी, जङ्गली जनावरको आक्रमण, झाडापखाला, अत्यधिक गर्मी तथा जाडो जस्ता कारणहरूले मानिसहरूले ज्यान गुमाउनु परेको छ । वि.सं. २०७२ मा त झन् भूकम्पले सारा नेपालीको जनजीवन नै अस्तव्यस्त बनाइदियो । आज पनि त्यसको प्रभावबाट मुलुक मुक्त हुन सकेको छैन । यसै सन्दर्भमा एकातिर गरिबी र भेदभाव, आकस्मिक सर्ने र नसर्ने रोगहरू, द्वन्द्व र प्राकृतिक विपत्तिजस्ता कारणहरूले रोग व्याधि, अपाङ्गता हुँदै मृत्युसम्म पुर्‍याइरहेको छ भने अर्कोतिर मानव जीवन, जनजीविका र सम्मानमा चुनौती खडा गरिदिएको छ । स्वास्थ्य क्षेत्र जनमैत्री छैन । बिहान–बेलुकाको छाक टार्न सङ्घर्षरत गरिब जनताले आफ्ना बालबच्चालाई पोषणयुक्त खाना र गुणस्तरीय शिक्षा दिन कठिन भएको कारण भोकमरी र कुपोषणमा पर्ने गरेका छन् । मातृ तथा बाल स्वास्थ्य, एचआइभी/एड्स, भोकबाट उन्मुक्ति, पोषणलगायतका विषयमा नेपालले चासो राख्दै आए तापनि अवस्था सूक्ष्म रूपमा हेर्ने हो भने सन्तोषजनक छैन ।

स्वास्थ्य क्षेत्र सहर बजारमै खुम्चिएको अवस्था छ भने निजीकरणले स्वास्थ्य सेवा नभएर व्यापारको रूपमा रूपान्तरण भइरहेको छ । स्वास्थ्य क्षेत्र बजारको कब्जामा छ, बजारका छद्म हातहरूले स्वास्थ्य क्षेत्र हाँकिरहेको भनी स्वयम् जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अस्पतालहरूमा बिरामी सुटिङको माध्यमबाट पुग्छन् । भन्सार छुटमा ल्याइएका एम्बुलेन्सहरू लागू औषध ओसारपसार गर्नका लागि प्रयोग भएका भेटिन्छन् । छापामा नक्कली डाक्टरहरूले बिरामी जाँचेको समाचार छापिन्छ । गरिबले उपचार नपाएर ज्यान गुमाउनुपरेको धेरै उदाहरणहरू छन् । सक्षम र दक्ष डाक्टरहरू अस्पतालहरूको गतिविधि देखेर अवाक हुन्छन् र बेथिति विरुद्ध बोल्छन् ।

तर, बोलेको कसैले सुन्दैन । जसले सुनेको छ, उसले पनि केही गर्न सक्दैन । यही अवस्थामा हामीबिच कोभिड–१९ आइपुगेको छ । यसले हाम्रो दैनिकीलाई असन्तुलित बनाइदिएको छ । जीवाणु सङ्क्रमण भएको भन्दा पनि सम्भावित जोखिमको आतङ्कले पुरै समाजलाई गिजोलिरहेको छ । आज पुरै नेपाल ‘लकडाउन’ अर्थात् सम्पूर्ण रूपमा बन्दको अवस्थामा छ । मानिसहरू घर बाहिर निस्किन डराएका छन् । अस्पतालका डाक्टरहरू भयग्रस्त छन् । गाउँ समाजमा लाग्ने मेला पर्व बन्द भएका छन् । पूजापाठ, नमाज, जुमा रोकिएका छन् । पार्क, सपिङ मल, फिल्म हल, व्यायाम शाला, चौतारी, चोक सबै सुनसान छन् । सामाजिक सञ्जालमा अधिकांश युवा झुम्मिएका छन् । बालबच्चा सडकमा निस्किन सकेका छैनन् । सामाजिक सम्बन्ध, चालचलन, अन्तरक्रिया तथा व्यवहारमा परिवर्तन आएको छ । सहर घुमुवा जनावरहरू खानाका लागि भौँतारिइरहेका भेटिन्छन् । दैनिक गुजारा चलाउने मजदुरहरू समस्यामा परेका छन् । आफ्नै नागरिकहरू स्वदेश फर्किन सकिरहेका छैनन् । ओलम्पिकको नतिजा हेरे जसरी मानिसहरू कोरोनाको सङ्क्रमणबाट प्रभावित र मृत्यु भएकाहरूको सङ्ख्या गनेर बस्न बाध्य भएका छन् ।

विगतका विपद्हरूबाट शिक्षा लिएर हामीले प्रकोप रोकथामको तयारी समयमै गर्न सक्थ्यौँ । विदेशबाट महामारी भित्रिन सक्छ भनेर समयमै रोकथामको तयारी गर्न सक्थ्यौँ । अस्पतालहरूमा पर्याप्त स्वास्थ्य उपकरण, औषधी तथा अन्य स्वास्थ्य सामग्री जुटाउन सक्थ्यौँ । आवश्यक अस्थायी र सुरक्षित पूर्वाधार निर्माण गर्न सकिन्थ्यो । सुरक्षित भएर बस्न सर्वसाधारणलाई अपिल गर्ने, खाद्यान्नलाई पर्याप्त भण्डारण गर्ने, विशेष सुरक्षित स्वास्थ्य केन्द्रहरूको निर्माण गर्ने, स्वास्थ्य कर्मी तथा सुरक्षाकर्मीहरुलाई पूर्ण रूपमा सुरक्षित गराई तयार राख्ने लगायतका कामहरू गर्न सकिन्थ्यो । अलि ढिलो गरी हामी तयार भएका छौँ । संकट मानवीय अस्तित्वमा नै खतरा पुर्‍याउने गरी आइरहेको छ । तर, सावधानी, प्रतिरोध, बिरामीहरूको खोज, उद्धार, उपचार र जनचेतना एवम् मनोसामाजिक व्यवस्थापन गरी एकताबद्ध भई सारा नेपाली लागेमा यो विपद्बाट बच्न सकिन्छ । नागरिक सचेतना अभिवृद्धि, स्थानीय क्षमताको विकास, महामारीबाट सङ्क्रमितहरूको तथ्याङ्क संकलन र उपचार, यसको प्रकृतिबारे सूचना सम्प्रेषण, अल्पकालीन र दीर्घकालीन रणनीतिको निर्माण, सरोकारवालाको उच्च मनोबल, स्वास्थ्य सामग्रीको जोगाड, स्वास्थ्य चेक जाँचको व्यापकता, अनुशासित मानवीय क्षमताको विकास गरेर आजको संकटसँग जुध्न सकिन्छ ।

मुख्य समस्या

  •  गम्भीर प्रकृतिको महामारी
  •  प्रकोप नक्साङ्कन र मूल्याङ्कनको अभाव
  • आधुनिक उच्च प्रविधिको अभाव
  •  तथ्याङ्क सङ्कलनको उचित र भरपर्दो संयन्त्रको अभाव
  •  आवश्यक स्रोत सामग्री न्यून
  •  स्वास्थ्य क्षेत्रमा बढ्दो निजीकरण तर विपद्मा सो क्षेत्रको असहयोग
  •  कमजोर पूर्व तयारी
  •  भौगोलिक विकटता
  •  कमजोर सचेतना
  •  दक्ष जनशक्तिको न्यूनता
  •  प्राविधिक अनुसन्धान र विकासजस्ता निकायहरूको अभाव
  •  सार्वजनिक र निजी क्षेत्र बिचको कमजोर समन्वय
  •  विगतबाट शिक्षा लिन नसक्नु
  •  बलशाली र उचित नीतिको अभाव
  •  विपद् व्यवस्थापन सूचना प्रणालीको अभाव
  •  कोषको कमजोर अवस्था
  •  क्रोनी क्यापिटालिज्मको उदय
  •  बढ्दो भ्रष्ट्राचार

विपद् आउँछ भन्ने सोचेर त्यसको पूर्व तयारी गर्नु एकदमै जरुरी छ । विपद्बाट छुटकारा पाउनुलाई नागरिक अधिकारका रूपमा स्थापित गरी सामुदायिक परिचालन तथा सामान्यीकरण गर्नु जरुरी छ । विपद् व्यवस्थापनका आधारहरू समयमै पहिल्याउन सकिएन भने अनपेक्षित संकट बेहोर्नुको विकल्प रहँदैन । जसरी यो महामारीबाट केही युरोपेली मुलुकहरू प्रताडित बनिरहेका छन्, यसले मानव जातिलाई कहाँसम्म बाँच्न योग्य बनाउँछ, सोचनीय छ । निश्चय नै यो मानवविरुद्धको युद्धको रूपमा आएको छ । यो युद्ध मानव जातीले घोषणा गर्‍या हो या प्रकृतिले ? अव खोजको रूपमा प्रयोगशालाका मस्तिष्कहरू सक्रिय हुनेछन् । जानकारहरूबिच डिस्कोर्स चल्ला र आशा गरौँ अन्तमा एसियाली सभ्यताबाटै संकट मुक्त विश्व उदाउला ।

यससँगै यसका केही सकारात्मक पक्षहरू पनि छन् । जस्तै : यसले मानव जातिलाई खतरातर्फ सदैव सावधानी हुन सिकाउनेछ । मानिसलाई प्रत्येक क्षण सचेत, जिम्मेवार र संवेदनशील बनाउनेछ । गलत कुरालाई ठिक ठाउँमा ल्याउन मद्दत गर्नेछ । ठिक समयमा ठिक काम गर्ने बानीको विकास गराउनेछ । अस्वाभाविक र जटिल अवस्थामा पनि बाँच्न सिकाउनेछ । तत्काल निर्णय गर्ने क्षमता अभिवृद्धि गर्नेछ । भविष्य द्रष्टा हुन प्रेरित गर्नेछ । मानवीय जीवनको मूल्यबोध गराउने सँगसँगै समाजको नयाँ परिभाषा ल्याउने छ । यसै गरी मानव जातिलाई यो रोगले समान व्यवहार गरेको छ र सम्भवतः मानिसले पनि यस्तै गर्नुपर्छ भन्ने चेतना दिएको छ । मानवलाई छोटो समयका लागि दबाबमा राखेर विश्वमै दमन, शोषण र दबाबमा बाँचेकाहरूको अवस्थाको सम्झना गराएको छ ।

मानवीय स्वास्थ्यको महत्त्व र छोटो जीवनमा के गर्न आवश्यक छ भन्ने बोध गराएको छ । यसले मानवलाई आफ्नो घर, परिवार, मातृभूमि, संस्कृति, वातावरणलाई बेवास्ता नगर्न चेतावनी दिएको छ । यसले हामीलाई यो अन्त्य बन्न सक्छ या त नयाँ सुरुवात बन्न सक्छ भनेर सिकाएको एवं गल्ती सच्याउने मौका दिएको छ । हामीले बिर्सिएको महत्त्वपूर्ण पाठ यसले सम्झाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस