नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन


२० चैत्र २०७६, बिहिबार


भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले रु तीन करोडको नगर विपद् कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको आकस्मिक बैठकले रु तीन करोडको उक्त कोष स्थापना गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले आफ्ना नौवटै वडामा वडाध्यक्षको संयोजकत्वमा रु पाँच–पाँच लाखको वडा विपद् कोषसमेत निर्माण गरेको छ । नगरपालिकाले वडामार्फत खाद्यान्न आपूर्ति, राहत व्यवस्थापन तथा वितरण कमिटी गठन गरेर कोरोनालगायतका विपद्बाट पीडितलाई राहत वितरण गरिने उनले जानकारी दिए । नगरप्रमुख श्रेष्ठका अनुसार नगर क्षेत्रभित्र एकद्वार प्रणालीमार्फत राहतका कार्यक्रम सञ्चालन गर्ने छ ।

त्यसैगरी नगरपालिकाको आकस्मिक बैठकले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण यस क्षेत्रमा फैलन नदिन नगरपालिका क्षेत्रभित्र मनाइने बिस्केटको सम्पूर्ण जात्रा एवं पर्वलाई पूजाआजामा मात्र सीमित गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी र जनप्रतिनिधि खटाएर विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण गरेको छ भने नगरपालिका भित्रका संवेदनशील क्षेत्रमा किटनाशक औषधिहरु छर्किएको छ ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमण रोगको उपचार गर्न सम्पूर्ण तयारी पुरा गरेर २४ सै घण्टा चिकित्सकसहितको स्वास्थ्यकर्मी एवं आइसोलेटेड एम्बुलेन्स तयारी अवस्थामा राखेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

चाँगुनारायणमा आपतकालीन कोष
यस्तै चाँगुनारायण नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रु दुई करोड ५० लाखको आपतकालीन कोष खडा गरेको छ । नगरपालिकाले तत्काल कोषका लागि रु ३० लाख जम्मा गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाबाट रोकथाम, पूर्वसतर्कता, नियन्त्रण र राहतका लागि रु दुई करोड ५० लाखको आपत्कालीन कोष स्थापना गर्ने निर्णय भएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

नगरपालिकाले नगरभित्रका जनप्रतिनिधिहरुको दुई महिनाको सेवा सुविधावापतको रकम, नगरभित्रका सबै शिक्षक र कर्मचारीको १५ दिनको तलब, प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त हुने रकम र नगरभित्र सञ्चालित उद्योग, कलकारखाना, विद्यालय, सहकारी, व्यवसायी एवं सङ्घसंस्थाले प्रदान गर्ने रकमलाई कोषमा जम्मा गरी रु दुई करोड ५० लाख पुर्याउने भएको हो ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि नगरप्रमुख मिश्रको संयोजकत्वमा उपप्रमुख विना बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिना, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल र विपद् व्यवस्थापन फोकल पर्सन सिद्धान्त न्यौपाने सदस्य रहेको द्रुत कार्यान्वयन समिति गठन गरेको छ ।

लकडाउन अवधिमा काममा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत थप प्रोत्साहन भत्ता दिइने निर्णय गरेको प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए। नगरपालिकाले नगरकोटस्थित खानेपानी तालिम केन्द्र र नेपाल इन्जिनियरिङ कलेजलाई क्वारेन्टाइन बनाउने भएको छ भने दुवकोटस्थित काठमाडौँ मेडिकल कलेजलाई कोरोना सङ्क्रमितको उपचारका लागि सातवटा भेन्टिलेटरसहितको आइसोलेसन वार्ड र अन्य सामाग्रीको व्यवस्थापन गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस