सरकारले ल्याएको र्‍यापिड टेष्ट कीटको गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले ल्याएको र्‍यापिड टेष्ट कीटको गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग


प्रशासन विशेष ब्युरो

१९ चैत्र २०७६, बुधबार


काठमाडौँ । सरकारले ल्याएको र्‍यापिड टेष्ट कीटको गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग हुने जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकारले खरिद गरेको र्‍यापिड टेष्ट कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने बताएको हो ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम बहादुर कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘सरकारले ल्याएको र्‍यापिड टेष्टकीटको गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग प्रयोग हुन्छ । अनधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जन गुनासो आउने बित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो’

साथै चीनबाट खरिद गरी ल्याएको र्‍यापिड टेष्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट भएको समेत विज्ञ सल्लाहकार कार्कीको दाबी छ । उनले नेपालमा महामारी फैलिहाले र एकै पटक हजारौँ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्ट कीट प्रयोग गरी स्क्रीनिङ गर्ने र शंकास्पदहरुको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्व तयारी गर्न खोजिएकोसमेत बताएका छन् ।

हाल युरोप, अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेको उनले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस