कोरोना कहर नियन्त्रणमा क्वारेन्टीनको भूमिका « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोरोना कहर नियन्त्रणमा क्वारेन्टीनको भूमिका


१७ चैत्र २०७६, सोमबार


हाल विश्व व्यापीरुपमा कोरोना भाइरस(कोभिड १९),क्वारेन्टीन, होम क्वारेन्टीन, सेल्फ क्वारेन्टीन र बन्दाबन्दी तथा लकडाउनले व्यापक रुपमा जन जिब्रोको बोली भइ रहेको छ। यसको पछाडि हाल विश्व व्यापीरुपमा फैलिएको महामारी नै हो। विश्व अहिले नयाँ खालको नोवेल कोरोना भाइरस (कोभिड १९) महामारीले आक्रान्त बनेको छ ।

सन २०१९ डिसेम्बरदेखि चीनको हुबेइ प्रान्तको बुहान शहरमा सर्वप्रथम देखा परी हाल विश्वका २०० भन्दा बढी देशमा फैलिसकेको छ । विभिन्न मिडियाहरुमा प्रकाशित खवर अनुसार २०७६ चैत्र १६ गतेका दिनसम्मको रेकर्ड अनुसार नेपालमा ८७५ जनाको परीक्षण गरिएको, ५ जना रोगबाट संक्रमित , १ जना उपचारगरी निको भएको र हालसम्म कोरोना भाइरसको कारणले कुनै पनि व्यक्तिको मृत्यु नभएको अवस्था छ भने विश्वमा ६७८१०५ जना रोगबाट संक्रमित भएका, १४६३११ उपचारबाट निको भएका र ३१७७१ जनाको मृत्यु भइसकेको छ । हालसम्म सबै भन्दा बढी मृत्यु हुने देशमा इटली, स्पेन, चीन र अमेरिका रहेका छन ।

भाइरसले निरन्तर रुपमा आफ्नो स्वरुप परिवर्तन गरी रहन्छ । सामान्यतया भाइरसमा सानो र ठुलो मात्रामा जैविक परिवर्तन भइ रहन्छ र नयाँ प्रजाति उत्पन्न हुन सक्छ ।व जसलाई जैविक पुन: संरचना भनिन्छ । जव कुनै मानिस वा जनावरमा दुई किसिमका भाइरस एकै पटक आक्रमण गर्दछ भने दुबै प्रकारका गुण मिसिएर नयाँ प्रजातिको उत्पन्न हुन्छ भने यसलाई नै नोवेल भनिन्छ ।

इन्फ्लुएन्जा भाइरसले निरन्तर आफ्नो जैविक स्वभाव परिवर्तन गरी रहन्छ । यो दुई तरिकाले जैविक संरचनामा परिवर्तन हुन सक्छ ।

एन्टिजेनिक ड्रिफ्ट : यस प्रकृयामा इन्फ्लुएन्जा भाइरसमा ‘ए’ ‘बी’ र ‘सी’ तीन वटै प्रकारका भाइरस हुन सक्छन्। यस प्रकृयामा कुनै एक प्रजातिको भाइरस समयक्रममा जैविक उत्परिवर्तन भई आफ्नो जैविक संरचना परिवर्तन भई नयाँ प्रजातिमा परिवर्तन हुन सक्छ ।यस प्रकृयाले धेरै लामो समय लिने गर्छ । यो मौसमी इन्फ्लुएन्जा हो ।

एन्टिजेनिक सिफ्ट : यस प्रकृयामा इन्फ्लुएन्जा भाइरस ‘ए’ मा मात्र हुने गर्छ । यस प्रकृयामा इन्फ्लुएन्जा भाइरस ‘ए’ का दुई फरक फरक प्रजातिहरु मिलेर तेस्रो फरक प्रकारको प्रजाति बन्छ । जसको गुण अघिल्लो दुईवटा भन्दा फरक हुन्छ । यो महामारी इन्फ्लुएन्जा हो ।

यसकारण यी भाइरसहरुले मानिसबाट मानिसमा छिटो छरितो सर्न सक्ने क्षमता विकास गरी विश्वव्यापी रुपमा एकै चोटि धेरै मानिसहरु मर्न सक्ने खतरा रहेको हुन्छ । मौसमी इन्फ्लुएन्जा वर्षभरी हुन्छ भने महामारी इन्फ्लुएन्जा बिरलै हुन्छ । विगतमा भएको मौसमी इन्फ्लुएन्जाले मानिसहरुमा प्रतिरोध क्षमताको विकास भएको छ भने महामारी इन्फ्लुएन्जाको लागि कुनै प्रतिरोध क्षमता विकास भएको छैन ।

महामारी यस्तो रोगको प्रकोप हो जुन रोगको प्रकोप अस्वभाविक रुपमा एउटा क्षेत्र भरी वा संसार भरी नै फैलिन्छ । महामारी इन्फ्लुएन्जा मानिसको फोक्सोमा लाग्ने अत्यन्त संक्रामक रोग हो र यो खास गरी शुरुमा नयाँ उपप्रजातिको इन्फ्लुएन्जा भाइरस उत्पन्न हुन्छ । त्यस भाइरसले व्यापक र गम्भीर रुपमा एकै पटक धेरै मानिसहरुलाई रोग लाग्ने गरी संक्रमण गर्छ । त्यो भाइरस मानिसबाट मानिसमा सजिलै फैलिन सक्छ र धेरै मानिसको मृत्यु हुन्छ । अहिले देखा परेको नोवेल कोरोना भाइरस पनि यसै किसिमको भाइरस संग मिल्दो जुल्दो रहेको देखिन्छ ।

विगतमा महामारीले विश्वभर धेरै मानिसहरुको मृत्यु भइसकेको छ । सन १९१८/१९ को स्पेनिस फ्लु एच वान एन वान् ले करिब ४ करोड मानिसको मृत्यु भएको थियो । सन १९६८/६९ को हङकङ फ्लु एच थ्री एन टू ले करिब ७ लाख मानिसको मृत्यु भएको थियो । सन २०१९/२० को नोवेल कोरोना भाइरसले आजकादिन सम्म करिब ३१ हजार मानिसको मृत्यु भइसकेको छ भने रोग नियन्त्रणमा आइसकेको छैन ।

नोवेल कोरोना भाइरस संक्रमणका मुख्य लक्षणहरु

पहिलो चरणमा देखापर्ने लक्षणहरु
 ज्वरो १००.४ डिग्री फरेनहाइट भन्दा बढी (१०२ – १०४ डिग्री फरेनहाइट ) आउनु ।
 सुख्खा र लहरे खोकी लाग्नु ।
 घाँटी र टाउको दुख्नु ।
 स्वास प्रश्वासमा अत्यधिक समस्या आउनु ।
 थकाइ लाग्नु ।

दोस्रो चरणमा देखापर्ने लक्षणहरु
 आराम गर्दा पनि सास छोटो भए जस्तो लाग्नु ।
 पल्टिएर सुत्दा पनि सास फेर्न गाह्रो हुनु ।
 श्वास प्रश्वासको अफ्ठ्यारोले गर्दा अन्य पुराना रोगहरुले पनि च्याप्दै जानु।

तेस्रो चरणमा देखापर्ने लक्षणहरु
 सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सास फेर्नको लागि संघर्ष गर्नु पर्ने ।
 बोल्न एकदम गाह्रो हुनु ।
 छाती धेरै दुख्नु र बान्ता हुनु ।
 उठ्न निकै गाह्रो हुनु ।
 कुराहरु बिर्सनु अर्थात कन्फ्युज हुनु ।
 बेहोस हुनु ।

नोवेल कोरोनाको संक्रमण रोकथामका उपायहरु
 नियमित रुपले हरेक आधाआधा घण्टामा सावुन पानीले मिचिमिचि हात धुने ।
 ह्याण्ड सेनिटाइजर प्रयोग गर्ने ।
 मास्क प्रयोग गर्ने ।
 भिडभाडमा नजाने ।
 खोक्दा र हाछ्यु गर्दा नाक मुख छोप्ने ।
 फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श लिने ।
 फ्लु जस्तो लक्षण देखिने जो कोहीको सम्पर्कबाट टाढा रहने ।
 जंगली तथा घरपालुवा पशुपन्छीसंगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।
 साग, तरकारी तथा पशुजन्य दूध, मासु र अण्डा राम्ररी पकाएर मात्र खाने ।

नोवेल कोरोनाको भाइरस जीवितरहने अवधि
१. हातमा १० मिनेट
२. तामाको भाडा ४ घण्टा
३. कार्डबोर्ड / कार्टुन २४ घण्टा
४. पलाष्टिक २-३ दिन
५. जमिन २-३ दिन
६. स्टिल २-३ दिन

निसंक्रमणको लागि प्रयोग गरिने रसायनहरु
१. Virkon – s
२. Chlorine (Bleaching powder)
३. Iodine lotion
४. Formalin
५. Caustic soda (NaOH)
६. Hydrogen Peroxide
७. Formaldehyde
८. Citric Acid
९. Phenol
१०. Savlon
११. Dettol
१२. Potassium permanganate

उपर्युक्त रसायनको १ % झोल बनाइ बाहिरी वातावरणमा छर्केर निसंक्रमण गर्न सकिन्छ ।

क्वारेन्टाइनको एतिहासिक पृष्ठभूमि
क्वारेण्टाइन शब्द ल्याटिन शब्द क्वारन्टम बाट आएको हो । चौधौं शताब्दितिर विश्वमा कलेरा र प्लेगजस्ता रोगको माहामारी थियो । त्यसबेला गतिशिल देशहरुले बाहिरबाट आउने पानीजहाजलाई ४० दिनसम्म रोकेर आफ्नो निगरानीमा राखि संक्रमणमुक्त पाईएमा मात्र प्रवेश दिने गर्दथे । यहि ४० दिनलाई ईटालियन भाषामा भनिन्छ ।

क्वारेन्टाइनको परिचय
अन्यत्रबाट आएका वा संक्रामक रोगको संसर्गमा रहेका वा हानिकारक शत्रुजीवहरुको आश्रय हुन सक्ने सम्भावना भएमा मानिस, पशु तथा बोट बिरुवाहरुलाई अलग राख्ने कार्यलाई क्वारेन्टीन भनिन्छ।

पशुपन्छी र पशुपन्छीजन्य तथा बिरुवा र बिरुवाजन्य उपजहरु आयात निर्यात गर्दा शत्रुजीवहरुको प्रवेश, स्थापना र फैलावट रोक्न तथा तिनिहरुको प्रभावकारी नियन्त्रणका लागि अवलम्बन गरिने संरक्षणका उपयुक्त कानूनी तरीकाहरु नै क्वारेन्टाइन हो ।

नेपाल सरकारले कोरोना भाइरस कोभिड १९ सम्बन्धी क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६अनुसार कोरोना भाईरसको संक्रमणबाट लाग्ने रोगबाट नागरिकहरुलाई सुरक्षित राख्न शङ्कास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टीनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी त्यस्ता र समाज दुवैलाई सुरक्षित राख्नको लागि क्वारेन्टीनको परिभाषा गरिए अनुसार ”क्वारेन्टीन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४(चौध) दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ ।”

क्वारेन्टाइनको महत्व

 देश भित्र एक स्थानबाट अर्को स्थानमा एक देशबाट अर्को देशमा मानिस तथा मालसमानहरु ओसार पसारगर्दा तिनमा अन्तरनिहित शत्रुजिवहरु नविन ठाँउमा प्रवेश गर्न रोक्छ ।
 सम्बन्धित देशको बोट, बिरुवा, जनावर, मानव स्वास्थ्य तथा समग्र पर्यावरणमा पर्ने नकारात्मक असर रोक्छ।
 विश्वका विभिन्न देशहरुमा बाली, बिरुवा, पशुधन एवं मानिसमा बिभिन्न रोगको संक्रमण हुनगई विश्वको अर्थतन्त्रमा महत्वपूर्ण आर्थिक नोक्सानी हुनबाट रोक्छ ।
 विश्वव्यापिकरणसँगै प्रभावकारी क्वारेन्टीनले कानूनी प्रकृयाको अवलम्बन गरी बिरुवा, पशु तथा मानव स्वास्थ्यकालागि हानिकारक हुने रोग, किरा एवं झारपातका आवागमनका बन्देज लगाउने हुँदा गुणस्तरीय वस्तुहको मात्र आवागमन हुन गई राष्ट्रको पर्यावरणको संरक्षणमा टेवा पुग्छ ।
 मानिस, पशुपन्छी र पशुजन्य पदार्थबाट अन्य स्वस्थ पशु वा मानिसमा सर्न सक्ने रोगहरुको नियन्त्रण गर्न सहयोग पुग्छ ।
 खाद्य वस्तुमा हुने मिसावट, शुक्ष्मजीव , पेष्टिसाईड वा एन्टिवायोटिकको हानिकारक असर पार्ने कमजोर गुणस्तरका वस्तुहरुको प्रवेश गर्नबाट रोक्छ ।

क्वारेन्टीनको मापदण्ड :
(क) सम्भव भएसम्म घनाबस्तीबाट छुट्टै (टाढा) रहेको,
(ख) सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको,
(ग) सम्भव भएसम्म सय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको,
(घ) तयारी भौतिक पूर्वाधारलाई प्राथमिकता दिने,
(ङ) सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचनाहरु जस्तै: होस्टेल, तालिम केन्द्र, होटल, शैक्षिक संस्था, सरकारी संरचना क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने,
(च) खण्ड (ङ) बमोजिमको संरचना उपलब्ध नभएमा खुल्ला मैदानमा पाल वा अन्य अस्थायी पूर्वाधार तयार गरी क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने,
(छ) गर्भवती महिला, दश वर्षसम्मका बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिकालागि प्राथमिकता दिई अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने ।

क्वारेन्टीनस्थलमा हुनु पर्ने भौतिक पूर्वाधार:
(क) क्वारेन्टाइनमा खटिने स्वास्थ्य र सफाई टिमको लागि छुट्टै भवन वा ब्लक रहेको ।
(ख) वन्दोवस्त कार्यमा खटिएका व्यक्ति तथा सुरक्षा टोलीलाई बसोबासको लागि बाहिरी घेरामा स्थान वा संरचना उपलब्ध भएको ।
(ग) सम्भव भएसम्म शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रति कोठा अधिकतम तीन जनाको दरले छ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको ।
(घ) विद्युत, पानी लगायतका आधारभूत सेवाको उपलब्धता,
(ङ) न्यूनतम टेलिफोन सेवाको व्यवस्था,
(च) संभावित विपद तथा आगलागीबाट सुरक्षित,
(छ) कोठाको व्यवस्थापन (प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बिच न्यूनतम् दुरी ३.५ फिट हुनुपर्ने )
अ.ओढ्ने, ओछ्याउने र आवश्यकतानुसार झुल सहितको खाट ,
आ. पेर्सोनल ह्यजेनी किट्स / डिग्निटी किट्स, फोहोर फाल्ने डस्टविन,
इ. संभव भएसम्म हावा चल्ने कोठा ।
(ज) नियमित सरसफाई भएको हुनुपर्ने,
(झ) उपलब्ध भएसम्म मनोपरामर्श तथा सकारात्मक सोच सम्बन्धी क्रियाकलाप संचालन गर्नुपर्ने।

क्वारेन्टीन स्थलमा सरसफाई तथा फोहोर मैला व्यवस्थापन:
१. नुहाउने तथा कपडा धुनको लागि पानी,
२. सफाईको सामान,
३. भवन तथा क्वारेन्टाइन क्षेत्रको उचित सफाईको व्यवस्था गर्ने,
४. फोहोरको उचित व्यवस्थापन गर्ने,
५. सेफ्टी ट्याँकीको व्यवस्थापन गर्ने, र
६. क्वारेन्टाइन खाली भए पश्चात ७२ घण्टासम्म प्रयोगमा नल्याउने र डीस इन्फेक्सन पश्चात मात्र प्रयोग गर्ने ।

क्वारेन्टीनमा रहने व्यक्तिहरुले पालना गर्नुपर्ने आचारसंहिता :
(क) सबैले सम्मानजनक र नम्र व्यवहार गर्ने, सहयोगी बन्ने ,
(ख) जाति, धर्म,वर्ण, लिङ्ग, भाषा, भेषभुषा, भेग वा अन्य कुनै पनि आधारमा भेदभाव नगर्ने,
(ग) सुर्तिजन्य, नशालु तथा मादक पदार्थ सेवन नगर्ने,
(घ) अशिष्ट, अभद्र र अस्वभाविक आचरण नगर्ने,
(ङ) रिसाउने, झैझगडा गर्ने र घाउचोट पुर्याउने कार्य नगर्ने,
(च) सभ्य र शोभनीय पोशाक मात्र लगाउने,
(छ) कुनै पनि नकरात्मक गतिविधी, लोभलालच, होहल्ला, अत्याउने कार्य, अनावश्यक टिकाटिप्पणी नगर्ने,
(ज) तोकिएको स्थानमा मात्र रहने,
(झ) अरुलाई बाधा हुने वा हिनताबोध गराउने कार्य नगर्ने नगराउने,
(ञ)आत्मियताको विकास गर्दै शान्त र सौहार्दपूर्ण वातावरण सिर्जना गर्न सहयोग गर्ने,
(ट) कुनै पनि बाह्य व्यक्ति क्वारेन्टीन क्षेत्रभित्र वा नजिक देखिएमा जानकारी गराउने तथा कुनै किसिमको पशुपन्छी नजिक देखिएमा सोको जानकारी गराउने ,
(ठ) क्वारेन्टीन मा रहेका व्यक्तिहरु भाग्ने वा भाग्न कोशिस गरेको देखेमा वा शंका लागेमा तुरुन्त खबर गर्ने,
(ड) प्राप्त सुविधाहरु आपसी समझदारीका आधारमा उपभोग गर्ने र
(ढ) उपलब्ध सरसामानहरुको हिफाजत र समुचित प्रयोग गर्ने ।

क्वारेन्टीनमा वस्नेले गर्नु पर्ने कार्यहरु :

(१) स्वास्थ्य सम्बन्धी कार्यहरु
(क) खोक्दा हाछ्यु गर्दा नाक र मुख अनिवार्य रुपमा छोप्ने र छोप्न लगाउने,
(ख)  फ्लु लाइक सिमटम रुघा खोकीको लक्षण देखिएमा चिकित्सकको परामर्श लिई हाल्ने ।
(ग) रुघा खोकी लागेका व्यक्तिहरुबाट टाढा बस्ने र उनीहरुलाई सकेसम्म छुट्टै बासस्थानको समेत व्यवस्था मिलाउने,
(घ) फर्किएका व्यक्तिहरुलाई जंगली वा घरपालुवा पशुपन्छीबाट टाढा राख्ने /बस्न लगाउने,
(ङ) पशुजन्य मासु र अण्डा राम्रोसँग पाकेको एकिन गरी मात्र खाने खुवाउने व्यवस्था मिलाउने,
(च) कुनै पनि किसिमको पशुपन्छीहरुलाई नजिक र सम्पर्कमा आउन नदिने,
(छ) उपलब्ध गराएको खानेकुरा मात्र खाने।

(२) सुरक्षा सम्बन्धी कार्यहरु
(क) संक्रमित व्यक्तिहरुलाई यथाशिघ्र नजिकको अस्पतालको आइशोलेसनमा पठाउने,
(ख) क्वारेन्टीनको सुरक्षाको लागि परिचालन गरिएका सुरक्षाकर्मीले उपलब्ध गराएको व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण अनिवार्य रुपमा लगाउने तथा आफ्नो व्यक्तिगत सुरक्षाप्रति जिम्मेवार रहने,
(ग) डिउटीमा सदैव उच्च सतर्कता अपनाउनु पर्ने (अनाधिकृत व्यक्ति बाहिरबाट भित्र र संक्रमित विरामीलाई भित्रबाट बाहिर जान नदिने)
(घ) क्वारेन्टीन क्षेत्र वरपर हुलदंगा र जमघट हुन नदिने, भएको अवस्थामा स्थानीय प्रहरीको सहयोगमा हुल नियन्त्रण गर्ने, र
(ङ) क्वारेन्टीनमा रहेका व्यक्तिहरु कुनै पनि हालतमा भाग्न नदिने र भाग्ने कोशिस गर्न खोज्ने उपर निगरानी र नियन्त्रण गर्ने ।

क्वारेन्टाइनमा वस्नेले गर्न नहुने कार्यहरु :
(१) कुनै पनि जिवित प्राणीहरुलाई सम्पर्कमा आउन नदिने,
(२) भेटघाट गर्नु परेको अवस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र भेटघाट गर्ने गराउने,
(३) क्वारेन्टीनमा राखिएका व्यक्तिहरुको बासस्थानबाट निस्कने फोहोर तथा व्यक्तिगत सामानहरु जथाभावी नफाल्ने तोकिए बमोजिम मात्र बिसर्जन गर्ने,
(४) क्वारेन्टीनमा रहँदा बाहिर परिवार तथा मिडियामा अनावश्यक टिका टिप्पणी र अफवाह संप्रेषण नगर्ने।

खानाको समय तालिका
१. ०७:३० – ०८:०० चिया खाजा
२. ११:३० – १२:०० दिवा खाना
३. १४:३० – १५:०० खाजा
४. १९:३० – २०:०० रात्री खाना

आफ्नै घरमा क्वारेन्टीनमा बस्दा अपनाउनु पर्ने सावधानी
हावा छिर्ने कोठामा एक्लै बस्ने र सकेसम्म कोठा भित्रै शौचालय भएको कोठामा बस्ने ।
घरभित्र पनि आवतजावत नगर्ने ।
कुनै पनि भेला र जमघटमा सहभागी नहुने ।
सर्जिकल मास्कको प्रयोग गर्ने र ६ -८ घण्टाको समयमा परिवर्तन गर्ने ।
प्रयोग गरेका मास्क सुरक्षित तरिकाले विसर्जन गर्ने ।
जेष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाको सम्पर्कमा नआउने ।
घरयासी सामाग्रीहरु जस्तै: गिलास, थाल, रुमाल, तन्नाहरु एक अर्काको प्रयोग नगर्ने ।
साबुनपानी, ह्याण्डवासले बारम्बार हात धुने साथै नियमित स्यानिटाइजरको प्रयोग गर्ने ।
यदि भाइरसको लक्षण देखापरेमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्य जाँच केन्द्रमा सम्पर्क गर्ने ।

अन्तमा,
कोरोना भाइरसको कहर विश्वमा बढ्दै गएको खुल्लापन, सिमाविहिन र परनिर्भरताले गर्दा भएको कुरामा कुनै दुविधा छैन ।सारा विश्व नै लकडाउन / बन्दाबन्दीमा गएको छ । मानव भविष्य नै अन्यौलमा देखिएको छ । चीनिया राष्ट्रपति सी जिनपिङले यसलाई “सैतानी हमला” भनेका छन । एकातिर विश्व नै यसका बिरुद्ध एकजुट हुनु पर्ने अवस्था आएको छ भने अर्कोतिर राज्यका हरेक संयन्त्रहरु, व्यक्ति, समाज, प्रशासन एकतावद्ध, मानवीय र विवेकशील हुनु पर्ने वेला आएको छ ।

यस्ता किसिमका महामारीहरु फैलने थुप्रै सम्भावनाहरु जुनोटिक रोगहरुबाट रहेकोछ ।जुनोटिक रोगहरु पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै संग एक आपसमा सर्न सक्छन । संसार भरी मानिसमा पाइने रोगहरु मध्ये करिब ३०० भन्दाबढी रोगहरु जनावरबाट मानिसमा सर्दछन भने नेपालमा पनि करिब ५९ भन्दा बढी जुनोटिक रोगहरु रहेको अनुमान गरिएको छ । स्वस्थ्य पशु स्वस्थ्य जीवन अपरिहार्य भइसकेको अवस्थामा पशु स्वास्थ्य सेवालाई अत्यावश्यक सेवामा राख्न जरुरी देखिन्छ ।

नोवेल कोरोना लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । यस अवस्थामा कुनै एकल प्रयासबाट रोग नियन्त्रण हुनसक्ने कुरा कल्पना पनि गर्न सकिदैन । यस रोग नियन्त्रणको लागि क्वारेन्टीनको महत्वपूर्ण भूमिका छ । हाल नेपाल सरकारले कोरोना भाइरस सम्बन्धी क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ को अक्षरस पालना गरौं । विश्व पशु स्वास्थ्य संगठनको दिशानिर्देश र एक स्वास्थ्य रणनीति अबलम्बन गर्नु अपरिहार्य छ । यसको लागि संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सरकारी निकायहरु, सबै वर्ग, समुदाय, नागरिक समाज, राजनीतिक दलहरु एवम् राजनीतिक कार्यकर्ताहरु, रेडक्रस, गैर सरकारी तथा सामुदायिक संघ संस्थाहरु, सामाज सेवी, वकिल, शिक्षक, प्राज्ञिक वर्ग, बुद्धिजीविहरु, विद्यार्थीहरु, पत्रकार, कलाकार, उद्योगपति, व्यापारी ,स्वास्थ्य कर्मीहरु, पशु स्वास्थ्य कर्मीहरु लगायत सम्पूर्णले आ आफ्नो ठाउँबाट रचनात्मक र विवेकशील तवरले सहयोग गरौं । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कौं, सामजिक दूरी घटाऔं, शारिरीक दूरी बढाऔं, सेल्फ क्वारेन्टाइनमा बस्ने बानी बसालौं, साबुन पानीले नियमित हात धुने बानी बसालौं, मास्क प्रयोग गरौं, पौष्टिक खाना खाई रोग प्रतिरोधक क्षमता बढाऔं, सहि सूचना सम्प्रेषण गरौं, कोरना भाइरसको प्रकोप नियन्त्रण गरौं आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्न सहयोग गरौं ।

सन्दर्भ सामाग्रीहरु
नेपालको संविधान
कोरोना भाइरस (कोभिड १९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६
भेटेरिनरी जनस्वास्थ्य बुलेटिन २०६६, भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर काठमाडौं
सरोकारवालाहरुको लागि एभियन इन्फ्लुएन्जा सम्बन्धी जानकारी मूलक पुस्तिका, पशु सेवा तालिम तथा प्रसार निर्देशनालय, हरिहरभवन ललितपुर
वर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण क्षमता अभिवृद्धि तालीम सन्दर्भ सामाग्री, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु
कडेल, झलकनाथ नेपालमा क्वारेन्टीनको वर्तमान अवस्था समस्या र समाधानका उपायहरु दैमासिक कृषि वर्ष ५२ कार्तिक मंसिर२०७२ अंक ४ कृषि सूचना तथा संचार केन्द्र हरिहरभवन ललितपुर

Tags :
प्रतिक्रिया दिनुहोस