लोक सेवा : नशा कि बाध्यता ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा : नशा कि बाध्यता ?


२७ माघ २०७६, सोमबार


एक सच्चा राष्ट्रसेवक कर्मचारी बन्ने रहरमा धेरै दिन र वर्ष बिताएको म, उ र हामी । पात्र फरक-फरक अनि त्यसभित्र लुकेको पिडा पनि सबैको फरक-फरक । लोक सेवा आयोगबाट लिइने परीक्षाको तयारी जसरी बाहिरबाट हेर्दा सजिलो देखिन्छ, त्यसको भित्री पिडा आफैमा कम्ती दुःखद र पिडादायी छैन । अझै त्यसमा पनि अप्राविधिक विषयको त कुरै छोडौँ ।

लोक सेवा आयोगका लागि धेरै परीक्षार्थीले धेरै नै राजस्व दाखिला गरे तर परिणाम धेरैको आसलाग्दो भएन । झट्ट हेर्दा बाहिरी कारण कम पढेर वा गहिरो अध्ययन नभएर भन्ने नै हो सबैको । तर भित्री पिडा अर्कै छ ।

लोक सेवाको नशा पनि एक प्रकारको फोबिया नै हो-लोकोफोबिया । यसभित्र नछिर्दासम्म प्रवेश गर्न पाए त हुन्थ्यो भन्ने भूत चढिरहन्छ, प्रवेश गरेको भोलिपल्ट फेरि अर्को माथिल्लो पोस्टको लागी अर्को भूत । पिडा धेरै प्रकारका छन् सबैका आ-आफ्नै ।

सँगै पढेर नाम निकाल्न भनेर तयारी गरेको साथीको फ्याट्ट नाम निस्किएर आफू फेल हुनुको पिडा शब्दमा अभिव्यक्त गर्नै सकिँदैन । काठमाडौँमा देशको कुना कुनाबाट मिठो सपना बोकी खरदार र नासु वा अफिसरमा नाम निकाल्न भनेरै घरबाट खर्च लिई तीन हजारको सानो कोठामा टुप्पी कसेर पढ्दा पनि पहिलो चरणकै परीक्षामा नै आलु खादाको पिडापनी कहाँ खपी सक्नु हुन्छ र !

परीक्षा दिँदा दिँदा कपाल फुल्यो, कहिले प्रवेशको नाममा त कहिले माथिल्लो पोस्टको लागी । घरमा श्रीमतीले मिठो स्वरमा आज घुम्न जाम न हजुर भन्दा मेरो परीक्षा आएको छ जान भ्याइन्न, अर्को कुनै दिन जाउला भन्दै श्रीमतीको अगाडि पढन्ते बनेको पति नतिजामा गुल्टिँदा एकाध घण्टा श्रीमतीको चित्त दुखाएकोमा पिडा बोध गर्छ, तर पनि उ त्यो नसाबाट उम्कनेवाला छैन । साथीभाइले रमाइला पर्यटकीय स्थल, विवाह पार्टी र पिकनिक स्पोट्समा हालेका फोटा र स्टाट्सहरु लोक सेवाको किताब अगाडी राखेर मन नलागी नलागी लाइक र कमेन्ट हान्नुको पिडा छुट्टै छ।

लोक सेवाको नसामा फसेका महिला साथीको पिडा पनि दुःखद नै छ। विवाह पछि पारिवारिक चपेटामा फसेर पनि नाम निकाल्न कम्मर कस्ने महिलाको जमात ठुलै छ । घरको दैनिक काम, बच्चा हुर्काउनु, श्रीमान् र घरपरिवारका इच्छापुर्तिको बाबजुद पनि लोक सेवाको नसामा होमिने महिलाको पिडा फरक प्रकारको फोबिया हो ।

सरकारी वा निजामतीकै यो नसामा प्रवेश गरेकाहरू राम्रो अफर, सेवासुबिधा सहित आएका ‘क’ वर्गका बैङ्क र अन्य राम्रो सेवासुबिधा भएका प्राइभेट जागिरलाई पनि लात मार्न पछि पर्दैनन् । अझै लोक सेवाको लिखित परीक्षामा उत्तीर्ण भएर मौखिक र प्रयोगात्मकको अन्तिम नतिजामा अनुत्तीर्ण भई वैकल्पिकमा पर्नु र एक वर्षसम्म कुनै साथीले माथिल्लो पोस्टमा निकालेर खाली पो भइहाल्छ की भनेर आशाको त्यान्द्रो मनमा उब्जाएर बस्नुको मानसिक पिडाको बयान कहाँ भनिसाध्य छ र !

एक जना शाखा अधिकृतले आफ्नो पहिलो सन्तान र दोस्रो सन्तानको फरक नौ वर्ष भएको बताए । प्रश्न गरे -किन यत्रो वर्षको फरक ? उत्तर आयो खरदार प्रवेश पछि नासु र अफिसरको तयारी गर्दागर्दै त्यता पट्टी ध्यान नै गएन । यो पनि लोक सेवाको नसा नै हो । लोक सेवाबाट जागिर प्रवेश पछिको पिडा आफ्नै ठाउँमा छ । पिडा भएपनी एक दुई वटा पिडामा मलम पट्टी लगाइ मनलाई सान्त्वना दिन उ र उ जस्ता धेरै जना सधैँ तत्पर रहिरहन्छन् ।

भित्र छटपटिए पनि बाहिर आफ्नो तलब पाकिरहेको र प्रवेश गरेपछि उमेरको हद नलाग्ने सानो र टुक्रे आश्वासनलाई बढाइ चढाइ ठुलो बनाएर चित्त बुझाउन खोज्छ उ । तर भित्री आत्मामा आफ्ना सहकर्मी साथी माथिल्लो पोस्टमा पुगेको एक नजर सम्झँदा नपढे पनि नाम चलेका लेखकका किताब किन्न भने भित्र देखी नै जाँगर चलेर आउँछ उसलाई ।

मेरो त लोक सेवा प्रति नै धेरै गुनासो छ । प्रश्न सोध्ने शैली दिन प्रतिदिन कडा बन्दै छ । विद्यार्थीलाई तनाव भएको छ । ४५-९० मिनेटको समयमा ५०-१०० प्रश्न समाधान गर्नु आफैमा चुनौतीपूर्ण काम हो । त्यसमा पनि प्रश्नको प्याटन झन् पछि झन् गाह्रो ! के विद्यार्थीहरू पहिलो चरणमा नै धेरै फेल हुँदैमा लोक सेवाको विश्वसनीयता बढ्छ र ?

अस्ति शाखा अधिकृतको परीक्षा दिँदा त्यस्तै अनुभव भयो । परीक्षा दिँदा लाग्थ्यो म अधिकृत हुन होइन, गिनिज बुक रेकर्डको लागि लडिरहेको छु । ९० मिनेटको परीक्षामा ६० वटा प्रश्न जेनतेन गरेर बाँकी हचुवाको भरमा हान्दै कालो अनुहार बनाइ बाहिर निस्कँदाको त्यो दृश्य कहाँ भनिसाध्य छ र !

प्रश्नहरू यस्ता थिए की धेरै प्रश्नका उत्तरहरू नेपालका नाम चलेका लेखकहरू टङ्क केसी, ज्ञानेश्वर भट्टराई, कुमार तिमिल्सिना, यदु नेपाल, मित्र घिमिरे, गोकर्ण उपाध्याय, तुल खड्काको बुकमा उत्तर नै थिएनन् । अझ बजारमा निस्किएका परीक्षा विशेष लेखिएका किताबको त कुरै छाडौँ । प्रश्न देख्दा लाग्थ्यो, लोक सेवा आयोग र पुस्तक लेखकहरू बिच नै प्रतिस्पर्धा जस्तो देखियो ।

कयौँ पुस्तक लेखकहरुलाई लात मारी गुगलबाट प्रश्न र उत्तर खोज्न सिक भन्दै चुनौती दिएको आभास भयो । अवस्था यस्तो आयो की पढ्ने भन्दा हचुवाको भरमा उत्तर दिनेको बढी मिल्ने देखियो । यस्तो प्रश्नले परीक्षार्थीको मनोबल गिर्न जान्छ, जसले गर्दा सरकारी सेवामा राम्रो प्रतिभा पलायन हुने सम्भावना नबढ्ला भन्न सकिन्न । यही प्याटनमा अप्राविधिकको प्रश्न सोध्ने हो भने कि समय बढाउनु पर्छ कि कोर्स लिमिट गर्नुपर्छ । अप्राविधिक भन्दैमा पुरै ब्रह्माण्ड खान त सकिँदैन नि ।

लोक सेवा आयोगले प्रथम पत्र विद्यार्थीलाई नदिनुको पनि कुनै तुक देख्दिन म । घरमा नआउँदै फेसबुकमा प्रश्नहरू अपलोड हुन्छन् भने त्यसको के अर्थ ? प्रश्न पत्र दिए कमसेकम विद्यार्थीले आफ्नो सो मूल्याङ्कन त गर्न पाउँछ । फोटो खिच्ने माथि लोक सेवाले कुनै कारबाही गर्न सक्दैन भने विद्यार्थीले पहिलो पेपर लान पाउनु पर्छ भन्ने मेरो तर्क हो । कि परीक्षा दिएको केही दिनमा लोक सेवाले आधिकारिक उत्तर आफ्नो वेब साइटमा राख्नु राम्रो हुन्छ जसले गर्दा विद्यार्थीको मानसिक तनावलाई कम गर्न सहयोग गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस