सिंहदरवार ह्याङ-३ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिंहदरवार ह्याङ-३


२५ माघ २०७६, शनिबार


आज २०९० सालको चैत्र २७ गते ।
ढिला सम्म सुतिएछ, धेरै पछि । हिजो ढिलोसम्म भुलाई दिए, आत्मरामहरुको समूहले । सधैँ बिहानै उठेर चराहरू झैँ चिरबिर गर्ने छोरीहरू पनि हिजो आज शान्त छन् । अघिल्ला वर्षहरूमा स्कुलको अन्तिम परीक्षा सकिए पछि चङ्गा हुन्थे तिनीहरू, तर यसपालि अलि गम्भीर वनेका छन् । अरूले झैँ बिहानै उठेर मर्निंगवाक जाने वा शारीरिक अभ्यास गर्ने बानी परेन किनकि जागिरकै क्रममा सबै शारीरिक, मानसिक र बौद्धिक अभ्यासहरू पुरा हुन्थे, बेग्लै गर्नुपर्ने आवश्यकता पनि भएन र फुर्सद पनि । सिधै बाथरुम गएर नित्यकर्म पुरा गरे । कौसीमा निस्केर, ढिलै भए पनि सूर्यनारायणको दर्शन गरे । खै किन हो, बिहानै यसरी सूर्यको दर्शन गर्दा मलाई कता कता ऊर्जा प्राप्त भएको अनुभूति हुन्छ । अरू वेला जस्तो छोरीहरू झ्याम्मिन आएनन् बिहानै, उनीहरू अर्को कोठामा सङ्गीहरूसँग व्यस्त थिए । मैले राजीनामा दिएको विगत १५ दिन देखि हाम्रा परिवारका सदस्यहरू यस्तै भेटघाट र भलाकुसारीमा भुल्ने दिनचर्या भएको छ ।

श्रीमतीलाई सघाउन सिधै भान्सामा पसे । उनी उभिएर कसैसँग कुराकानी गर्दै रहिछन् । कुरा गर्दै गर्दै हट लेमन तयार गरेर मलाई थमाइन । म हट लेमन लिएर फेरि कौसीमै निस्के । लहरै राखिएका बेतका जीर्ण कुर्सीहरू मध्ये छेउको एउटामा बस्दै मैले हट लेमन पिउन लागे । सोचेँ यी कुर्सीहरू नंया नै देखिन्छन् । हुन त कहिलेकहीँ मज्जाले बस्न पाएको भए न पुराना हुन्थे होला । सधैँ झैँ परेवाका एक जोडी आएर अगाडि मेवाको रुखमा बसे । केही सल्लाह गरे जस्तो गरे । अनि आज पनि चुच्चो जोडेर एक अर्कालाई माया गरे, लोभलाग्दो पाराले । यस्तो देख्दा श्रीमतीले ’गुड लक’ भन्थिन, कारण के रहेछ कहिलेहि थाहा भएन र मैले सोधिन पनि । आज मनमनै मैले पनि ’गुड लक’ भने । परेवाको जोडी भुर्र उडे पछि मलाई पनि बस्न मन लागेन, म पनि उठे । भान्सामा फेरि छिनै मन लागेन । बरु छोरीहरूलाई डिस्टर्व गर्न मन लाग्यो । उनीहरूसँग जिस्कन मन लाग्यो, वाल सुलभमा खेल्न मन लाग्यो ।

उनीहरूको कोठामा देखे, अनेक थरिका नंया नंया खेल्ने सामाग्रीहरू थिए, कुनै खुल्लै कुनै प्याकिङ गरेका । मैले एक एक गरी हेरे पछि उनीहरूले बेलिबिस्तार लाए, कुन कुन गिफ्ट कस कसले दिएको भनेर । सँगै भएका अरू बच्चाहरू पनि उदास मुडमा थिए । मैले यी बच्चाहरू यति उदास कहिलेही देखेको थिइन । ती मध्ये एउटीले मलाई सोधीः अङ्कल हजुरहरू कहिले आउने नि यंहा फेरि ? मैले केवल लाचार हाँसोले टार्न खोजे । बरु आकृतिले नै भनिः हामी छिट्टै आईहाल्छौ नि है बुबा । उ पत्याउन तयार देखिइन । स्वीकृतिले आग्रहपूर्ण रुन्चे स्वरमा भनिः बुबा हामी नजाऔँ न, सधैँ यही वसौ न । यो पनि त हाम्रै घर हो नि । ’यो कर्म घर हामी अव जन्म घर जाने नि छोरी’ मैले उसका गालालाई दाहिने हातको वुढिऔला र चोर औलाले बिस्तारै चिमोट्दै भने । यो चाही अलि जब्बर छे । जुरुक्क उठेर प्रतिकार गरिहाली । ’हजुरको पो कर्म घर त यो, हाम्रो त जन्म घरै यही हो नि ।’ मैले ख्यालै नगरी बोलेको बल्ल महसुस गरे । म लडाईमा हारेको बादशाह जस्तो भएर एकोहोरो उभिइरहे । आकृतिले मेरो दुवै आँखा पुछिदिँदै भनी ः ’बुबा हामी हजुरहरूका ज्ञानी छोरी, हजुरहरूको जुन घर हाम्रो पनि त्यही घर ।’ यति भनेर उ मेरो कम्मरमा बाँधिन आई पुगी, स्वीकृति चुपचाप उभिएकी थिई । कम्मरबाट उसलाई हटाएर, दुवै छोरीका गालामा म्वाई खाएर निस्के म । ढोकाबाट निस्कनै लाग्दा पछाडि स्वीकृति झुन्डिन आइपुगी र मैले फरक्क फर्केर उसलाई रोके । उसले कान समातेर भनी ’सरी बुबा ।’ म झनै हारेर बाहिर निस्के ।

यो ठाउँमा आएको भनी १५ वर्ष बितेछ । अहिले पुरै सहर भयो, पहिला आउँदा त पुरै गाउँ थियो । यी छोरीहरू यही जन्मे, यही हुर्के । यिनीहरूको रगतमा यहिको तत्त्व बगेको छ, यही उम्रेको खानेकुराले यिनीहरूको पोषण पुगेको छ । यहिको अक्सिजनले यिनीहरूको पुरै जीवन चलेको छ । साँच्चीकै मानिसको आत्मासँग माटोको सम्बन्ध जोडिएको हुने रहेछ । हाम्रो घर भनेर मैले यिनीहरूलाई प्रत्येक वर्ष हाम्रो पुर्खौली घर लाने गरेको छु, त्यहाँका मानिसहरूसँग घुलमिल गराउने, गाउँ वेशी डुलाउने, मेरो बाल्यकालको रमाइलो स्मृति गराउने, त्यहाँको स्थानीय रहनसहन, संस्कृति र ओली समेत सिकाउने कोसिस गरेकै हो । तर, पनि यसमा उनीहरूको खास रुचि नै जगाउन सकिएन । यिनीहरूको खानेकुराको स्वाद, बोल्ने लवज, लवाईखुवाई, आनीवानी सबै यहीको जस्तै छ । हामी बिच पुस्ताको मात्रै होइन, हरेक चिजको अन्तर रहेको अनुभव गर्छु । आज पहिलोचोटी हाम्रो जन्मघर अलग भएको अनुभूति गराए यिनीहरूले ।

उमेरले अझै सेवा गर्ने ५ वर्ष वाकी भए पनि जन्मस्थानको लागी केही सारभूत योगदान दिने हुटहुटीले मैले जागिर राजीनामा गरे । यत्रो समय काम गर्दा मैले यहाँ अरूलाई जे सिकाए अर्थात् अरूबाट जे अपेक्षा गरे, त्यो स्वयं मैले पनि गर्नु जरुरी थियो । तर पनि मैले आफ्नो जन्मस्थानको स्वार्थको लागी कतै छोरीहरूको जन्मस्थान प्रति उनीहरूको सम्बन्धलाई अन्याय पो गर्दैछुकी भन्ने शङ्काको सुइरोले घोचीरह्योे । जे भए पनि अबको चार दिन भित्र यो ठाउँ छाडेर सधैँको लागी आफ्नो जन्मस्थान जाने पुरै तयारी भएको छ । श्रीमतीजीको यस्तै चाहना छ । उनले आफ्नो जन्म घरलाई पुरै त्यागेर मेरो जीवनलाई नै आफ्नो घर बनाएकी छन्, सम्पूर्ण रूपले । यही बस्न, यहीको अरू सेवा, छोडेर नजान, गइहाले पनि बेलाबेलामा आउन यहाँका सबै बासिन्दाले विगत १५ दिन देखि भनेका भन्यै छन् । जागिरबाट राजीनामा दिने वेलामा धेरैले सोचेका रहेछन् कि नगरपालिकाको मेयरमा चुनाव लड्नको लागी राजीनामा दिएको भनेर । दलहरू पनि तयार थिए, मलाई चुनाव लडाउन । किनकि विगत १५ वर्षम मैले यहाँ दिएको सेवा, देखाएको ईमान्दारिता अनि यहाँको समाजसँगको घुलमिलले मेरो लोकप्रियता उच्च नै थियो । यहाँ आए पश्चात् सुरुको दुई वर्ष मैले गरेका सङ्घर्ष, खेपेका धम्की र आरोप, पाएका धोका र असहयोगले म आगो निभाएर कोइला वनेको अनि कोइलाबाट पुनः आगो बलेको अवस्थामा परिणत हुनुपरेको थियो ।

हिजो राती आत्मारामले त्यही बेलिबिस्तार लगाएर आफूलाई माफ गर्न अनुरोध गरे, मैले त धेरै कुरा बिर्सिसकेको रहेछु । उनी आफैले सम्झाए कि मलाई कहिले कहिले कुन कुन हत्कण्डा अपनाएर र कति जुक्ति लगाएर दुःख दिए भनेर । मेरो काम गर्ने शैली फरक थियो । फरक तरिकाले काम गर्नुपर्छ, विगत र परम्परागत रूपमा जे भएको भए पनि स्थानीय तहहरू आफैमा सरकार भएर अधिकार सम्पन्न भएकोले त्यो अवसरको उपयोग हरतरहले पुरा गर्नुपर्छ भन्ने सोच थियो । प्राविधिक क्षेत्र एक्लैले केही गर्न सक्ने कुरा थिएन । सबै क्षेत्रलाई रिफर्म गर्नुपर्ने र त्यसको नेतृत्व आफूले गर्न पाउनुपर्ने मेरो घमण्ड नै थियो । म सबै हारेर त्यहाँ आएको थिए । र जसरी पनि जागिर खानै पर्छ भन्ने सोच कहीँ कतै थिएन मेरो । मैले आफैसँग दह्रो र कठोर निर्णय गरिसकेको थिए । कि म जागिर खाँदै खाँदिन कि केही गरेर छाड्छु र अन्तिमसम्म लड्छु भनेर। यसमा शुभेच्छाको पुरै साथ र समर्थन मात्र होइन पुरै ऊर्जा थियो । आत्मरामजी भन्दै थिए कि मेरो सोच, कार्यशैली र विचार देखेर उनीहरूले मलाई पुरै विपक्षी दलको मतियार मान्थे रे । म निर्वाचित दल र पदाधिकारीलाई असफल गराउन हात धोएर लागेको थिए । मेरो राजनीतिक पृष्ठभूमि बुझ्न एउटा समूह मेरो जन्मगाउँ मै पनि पुगेर स्थलगत अनुसन्धान नै गरेछ तर मेरो कुनै राजनीतिक गोत्र नै फेला पारेनछ । त्यसपछि मैले अध्ययन गरेका दुवै कलेजका सहपाठीहरूसँग समेत मेरो राजनीतिक गन्ध सुँघ्ने काम गरिएछ, तर केही उपाय नलागे पछि हैरान भएका रहेछन् । अहिले सुन्दै जाँदा रमाइलो पनि लाग्यो तर उतीवेलाको परिस्थिति चाही सारै सकसपूर्ण थियो । जे होस, उनीहरूले आपराधिक समूहको भने कुनै सहयोग लिएनछन् । धन्न । हुन पनि त्यो ठाउँमा निर्वाचित पदाधिकारी बाहेक अरूसँग कुनै किसिमको उठबस र दोस्ती थिएन, सामान्य नागरिकसँग सामान्य औपचारिक सम्बन्ध बाहेक ।

समय घर्किदै थियो, जनदबाब व्यापक थियो कि उनीहरूका अपेक्षा र आवश्यकता धेरै थिए । १५ वर्ष पछि निर्वाचित प्रतिनिधि पाएका थिए । ठुलो अपेक्षा पछिको गणतन्त्र र सङ्घीयता बोकेर उनीहरूको घरघरमा सिंहदरबार आएको दाबी गरिएको थियो । यसैले पनि होला परिस्थिति सल्टिँदै गयो । एक किसिमको सम्झौताबाट काम सुरु भयो, नयाँ र फरक तौरतरिकाले । समय क्रममा उनीहरूले नै धेरै सहयोग गरे मलाई, र हिजो आएर आत्मालोचना गरेर गए, त्यो नै मेरो लागी पुरै जित भयो । यहाँ आउनु मेरो रहर थिएन, मलाई पनि सिंहदरबार को ह्याङले समाएकै थियो । काठमाडौँ बस्न सरकारको निर्णयले दिएन, विदेश जान शुभेच्छाको हठले दिएन । जागिर छोडेर जन्मघर जानु भनेको सामाजिक रूपमा हारखानु र हुतिहारा साबित हुनु थियो । मलाई बाध्यताले यहाँको माटो, यहाँका मानिस र यहाँको समाज एवं राजनीतिसँग सङ्घर्ष गर्नै पर्ने थियो, गरे पनि । जिते पनि । यो सङ्घर्षमा श्रीमतीको पुरै साथ नभएको भए कुनै पनि वेला म हारिसकेको हुने थिए होला । एक पुरुषको जीवनरूपी गाडीमा श्रीमती भनेको सङ्कट अगाडी आउँदा ब्रेक रहेछ, अवसरले अगाडि पर्खिदा एक्सिलेटर रहेछ अनि स्टेरिङ र क्लचसँगै साथ दिने गिएर रहेछ । कहिलेकाहीँ सोच्छु, श्रीमती विनाको जीवन ठेला गाडा जस्तो हुन्छ होला । न ब्रेक, न एक्सिलेटर न गियर केवल गुरुत्वको बलमा हिँडाउने र मुढेवलमा रोक्ने जस्तो । ढङ्ग पुर्‍याएर ब्रेक, एक्सिलेटर वा गियर प्रयोग नगर्दा आफ्नै हातमा स्टेरिङ हुँदा पनि दुर्घटना व्यहोर्ने पनि धेरै छन् । तर, यिनीहरूको आमाले मेरो जीवनरूपी गाडीलाई दुर्घटनामा पर्न दिइनन् ।

हत्तेरिका । के के सोचिएछ के के । अलि अत्यास लागेर आयो, कति बज्यो हेर्न मन लाग्यो । भित्रबाट हाते घडी लिएर आए । छोरीहरू जिस्काउँछन् । कति पुरानो घडी के बुबाको नंया किन्नुस् न । ’होनी, तिमीहरू भन्दा त पुरानै हो ’ भन्ने गर्छु म । पुरानो कुरा सम्झिँदै झसङ्ग भंए अनि नाडीमा नलगाई हातमै लिएर बिस्तारै यसलाई खेलाइरहे, पहिलोचोटी पाएको वस्तु झैँ । पुलुक्क शुभेच्छालाई हेरे, तर उनी आफ्नै तालमा थिइन । पहिलो पटक लगाए पछि यो घडी लगाउन छुटेको कुनै दिन छैन, अहिले सम्म बिग्रेको पनि छैन । यी भुराहरूलाई के थाहा, यो घडीको सुईले मेरो जिन्दगीको सुई कति कति घुमाएको छ भन्ने । उनीहरू भन्ने गर्छन्, ’आमा भन्दा पनि पुरानो होला है बुबा’ (आमा नै भन्न सिकाएकी छन् उनहरूकी आमाले, ममी वा मामु भन्दैनन् यिनीहरूले) । आज यही वाक्य सम्झे फेरि ।

यो ठाउँवाट आजै बिदाइ हुदैछु, सायद सधैँको लागी, सम्झेर भित्रै देखि नरमाइलो लागेर आयो । नगरपालिकाले बिदाइ कार्यक्रम राखेको छ, शुभेच्छा अनि छोरीहरू लिएर ११ बजे जानुछ त्यहाँ । मलाई यस्ता औपचारिक कार्यक्रममा कहिलेही रुचि रहेन । तर, अत्यन्त सामान्य कार्यक्रम गर्ने भने पछि मैले पनि सोचे कि कमसेकम मेरो विगतको अनुभव सुनाउन भए पनि जानुपर्छ । त्यसको लागी तयारी पनि गरिसकेको थिए । यो ठाउँमा बस्ने अन्तिम समय भए पनि भित्तामा क्यालेन्डर थपियो । क्यालेन्डर फेर्ने भन्दा पनि थप्ने बानी रह्यो मेरो । भित्र भित्रका पुराना क्यालेन्डर छुन मन लाग्यो । ७६ सालको नयाँ वर्षमा आएको यहाँ अहिले ९१ सालको नंया वर्ष आउन लागेछ । यो १५ वर्ष कसरी बित्यो थाहै भएन । आज एक पटक फेरि पुराना स्मृतिहरू ताजा भएर आयो । ज्यान गह्रुङ्गो भएर आयो । नजिकै थचक्क सोफामा बसेर ती दिनहरू सम्झिन मन लाग्यो । शुभेच्छा आएर नजिकै बसिन अनि कहिले नदेखे जस्तो गरेर मेरो अनुहार एकोहोरो हेरिरहिन । कता कता मेरो मन पनि भरिएर आयो । सोचेःजीवनमा एउटी नारीले आफूलाई कति सम्म परिवर्तन गर्न सक्दी रहिछे, कतिसम्म त्याग गर्न । किन हो, मलाई पनि आज उनको आँखाहरू एकटकले हेरिरहु जस्तो लाग्यो । उनको आँखाको नानी भित्र विगत फनफनी नाचिरह्यो ।

२०७५ सालको पुस महिना ।
शुभेच्छा अचानक फर्केर आएकी थिइन युएसवाट । अचानक यो अर्थमा कि विदेश जाने र यही बसेर देशको सेवा गर्ने भन्ने हाम्रो दुई धार बिचको द्धन्दमा हाम्रो लामो सम्बन्ध ब्रेक अफ भएको थियो । कर्मचारी समायोजनको आगोले पुरै जलिसकेको थिए म । काठमाडौँको मध्य हिउँदको जोडामा पनि म पुरै निष्फिक्रि थिए । उसलाई एअरपोर्टवाट घर पुर्‍याएपछि म मोबाइल नम्बर नमागी र आफ्नो पनि नदिई फर्केको थिए । फर्किदा त्यही पाटन ढोकाको क्याफेमा हार्ड कफी पिएर डेरामा गएको थिए । उ फर्केकोमा न उत्साह थियो न कुनै आक्रोश । समायोजनको एनेस्थियाले पुरै बेहोस जस्तै थिए । सबैतिरबाट आइसोलेट भएर बसेको थिए । पुसको अन्तिम दिन समायोजनको फाराम भरे करियरकै अन्तिम दिन हो जस्तो मानेर । कत्रो ऊर्जा र उत्साह बोकेको म, त्यो दिन पुरै सेलाएको थिए । बिहानै मोबाइल भाईव्रेट गर्‍यो, मन नलागी नलागी उठाए, चिने जस्तै नम्बर लाग्यो तर सेभ रहेनछ । शुभेच्छाले कल गरेकी रहिछे । एकै सासमा के के भन्न भ्याई मैले चाहिँ सुने जस्तो गरे तर सम्झिइन । भेटौँ न भनेकी थिई । ब्रेक भएकी गलफ्रेण्डसंग यत्रो वर्ष पछि किन भेट्नु भन्ने मन नभएको हैन । तर, मलाई जिस्किन मन लाग्यो र प्याच्च भनिदिए अं हुन्छ, १४ फेवमा भेटौला नि त । उसले तुरुन्तै जवाफ फर्काई ओके साँझ ५ बजे त्यही भेटौँ ल । ’कहाँ ?’ मैले सोधे : ’त्यही के । …सधैँ भेट्ने क्याफेमा …पाटन ढोका, भुल्यौ र ?’ ’ओके ’ । यति भनेर मैले फोन काटिदिए । समायोजनको रन्कोले थलिएको म, उसको बारेमा धेरै सोच्ने मन लागेन । पिउने बानी परिसकेको थियो, त्यो दिन पनि पिएर सुतिदिए, ढुक्क भो । स्मृतिबाट फेरि अलप भई शुभेच्छा । समायोजन बारे के हुदैछ वा के होला भन्ने गन्ध सुँघ्न, चियोचर्चो गर्न, अनलाइन पढ्न,सिंहदरबार भित्रका क्यान्टिन चहार्दै कुरा बुझ्न अनि सामान्य प्रशासनको आँगनमा रमिता लाउनै व्यस्त भइएको थियो । अफिसमा काम गर्ने वातावरण थिएन, म तल पर्ने पक्का जस्तै भएर होला सहानुभूति स्वरूप हाकिमले पनि काम लगाउन छोडिसकेका थिए ।

त्यो दिन, अर्थात् फागुन २ गते, २०७५ ।
ढिला उठियो । सपना अनौठो देखिएछ । कता कता डर पनि लागेर आयो । सिंहदरबारले हामी नवप्रवेशी कर्मचारीहरूलाई प्रदेश र स्थानीय तहमा पठाउने गरी कानुन कार्यान्वयनमा ल्याएपछि कर्मचारीहरू बिच वर्गीय विभाजन सुरु भएको छ । सिंहदरवारसंगको प्रत्यक्ष सम्बन्ध टुट्न लागेकोमा केहीलाई खुसी नै लागेको, केहीलाई अलमल भएको र केहीलाई चाही सारै क्रुद्ध नै बनाएको थियो । हुन त यो मामिला सर्वोच्च अदालत सम्म पनि पुगेको थियो । सिंहदरबार भित्र कर्मचारीकै सम्भावित आन्दोलनलाई मध्यनजर गरी ठुलो सङ्ख्यामा प्रहरी सुरक्षा कर्मी परिचालन गरेको पहिलो पटक देख्दै थिए । सिंहदरवारसंगै झुण्डिरहनुले मलाई त्यो वेला सम्म कुनै खास लाभ र सुविधा प्राप्त भएको चाही थिएन । तर अचम्मै हुँदो रहेछ, यो सिंहदरवारको ह्याङ भनेको । स्थानीय तह र प्रदेशको पहिलो निर्वाचन भए पछि गाउँ गाउँमा सिंहदरबार भन्ने ह्वीम नै चल्यो । यही अन्योल र अनिश्चयले मेरो मन पनि शान्त थिएन । सायद यही भएर होला, सपना पनि त्यस्तै त्यस्तै देखिन्थे ।

म झसङ्ग भए । आज त भ्यालेण्टाईन्स डे पो हो त । आज शुभेच्छाले भेट हुने पो कुरा गरेकी थिई । त्यसैले अफिस जान पनि मन लागेन, सन्चो भएन भनिदिए । दिनभर यसै टहलिँदै टाइम पास गरेर उसले भनेकै समयमा म क्याफे पुगे । पहिलो जस्तो क्याफेको बाहिर उभिएरै पर्खिन मन लागेन । हुलका हुल जोडीहरू आफ्नै तालमा रमाउँदै, हुत्तिँदै वत्तिदै यताउता गरिरहेका थिए । त्यो दिन बिहीबार थियो, त्यसैले बङ्गलामुखी जाने र फर्कने जोडीले गर्दा पाटनको छुट्टै रौनक थियो । कुनै वेला हामी पनि नछुटाई बिहीबार साँझ बङ्गलामुखीको दर्शन गर्थ्यौ । अहिले चाहिँ समायोजनको पिरलो भन्दा पनि त्यो विगत सम्झेर मन सारै अमिलो भएर आयो, अनि केही नसोची भित्र छिरिहाले । क्याफे पनि आज खचाखच थियो । उ पनि आई हाली । तर अचम्म चाहिँ के लाग्यो भने उ त्यही पहिरनमा आई कि जुन उ र म धेरै पहिला मैले नै गिफ्ट दिएको थिए, मेरो जागिरको पहिलो तलब बुझेको पैसाबाट । मेरो त अहिले सेभ नै हुँदैन तिम्रो जस्तो, पछि राम्रो स्यालरीवाला जब गरे पछि म पनि तिमीलाई गिफ्ट गर्छु है भनेकी थिई । तर, त्यो मौका नआउँदै हामी अलग भयौ ।

मैले यति सोच्दै गर्दा उ त्यो क्याफेको नंया ईण्टेरियर र ले आउट हेर्दै बिस्तारै आएकी थिई । साच्चिकै त्यो क्याफे पहिला भन्दा निकै परिवर्तन भएको थियो पहिले भन्दा हरेक हिसाबले । मुसुक्क हाँस्दै सामुन्नेको मेचमा बसी उ । उसको पहिरन देखेर म दङ्ग परेको थिए । जिस्किन मन लागेन । आफै बुझी उसले । अनि नजर तल गर्दै भनी : केही याद आयो ? मैले भनेः उम आयो । उसले दुवै कुहिना टेबुलमा टेक्दै मुठ्ठीले पुक्क परेका गालालाई दबाब दिँदै भनिः अं साँच्ची प्रवीण तिमीसँग जोडिएका हरेक स्मृति भुल्न चाहन्थे म उति वेला, अनि तिमीसँग जोडिएका हरेक वस्तु पनि । तिम्रो मोबाइल नम्बर समेत डिलिट गरेर गएकी थिए र त्यो अहिले आएर त्यो नम्बर पत्ता लगाउन मलाई हप्ता दिन लाग्यो । यसो भन्दा उ मचक्क हाँसी, मैलै औपचारिकता निभाए । पहिला उ यसरी हाँस्दा म पुरै संसार उज्यालो देख्थे । उ चुप लागेको देखेर मैल सोधेँ अरू के छ । उसले भनिः मैले सबै त्यागेर गए पनि मेरा सबै सामानहरू माइजूले बडो जतनसँग सम्हालेर राखिदिनु भएको रहेछ । र यो पनि । कुनै विशेष दिनमा लगाउला भनेर सोचेको थिए, यतिकै भयो, अनि आज तिमीलाई भेट्ने दिन यही लगाएर भेट्न मन लाग्यो । (भित्रभित्रै किन हो मलाई रमाइलो लागेर आयो यो सुनेर) । तिमीसँग जोडिएका सबै चिजहरूले मलाई पुरै विगतमा फर्कायो । यो १ महिना म यसैमा भुले नि । उ पनि अलि सिरियस देखिन थाली । ममा कुनै उत्साह नदेखेर होला उसले सोधी प्रवीण के भो तिमीलाई, किन ओइलाएको रु मैले वोरिंग गरे कि , कि कतै डेट थियो र आज रु कफी आइसकेको थियो । कफीको चुस्कि लिँदै मैले भनेँ हैन हैन, युयसवाट तिमीले के गिफ्ट ल्याइदिएको होला भनेर सोचीरा हो के भन्दै जिस्किदिए । (समायोजनको रन्कोलेले थला परेको मेरो लागी यो मर्म र प्रसङ्ग त के शब्द नै अपरिचित थियो होला सायद, किन भन्नु र ।)

म सिंगै आए नि तिम्रो लागी, अरू के चाहियो भन्दै पुरै निधार खुम्च्याउँदै तिखो आँखा बनाई । सँगै राखेको सानो ब्यागबाट झिकेर सानो प्याकेटमा दिई, हतार भईहाल्यो, हेरु यही रु भन्दै खोलेर हेरे । Maurice Lacroix  लेखेको आकर्षक घडी रहेछ । खासमा मोबाइल लिन सुरु गरेको केही वर्ष पछि हातमा घडी लगाउन छोडेको थिए मैले । ’लगाउन’ : भनी उसले । अनि थपिः ’सारै हतारमा फर्किनुपर्‍यो त्यसैले सपिङ गर्नै भ्याइन हेरन । हतार हतार माइजू, तिमी र पुन्टेलाई मात्र एउटा एउटा सामान किनेको ।’ मैले खोलेर लगाईहाले, अलि ठुलो भयो । ’मिलाउन मिलिहाल्छ नि’ भनी उसले । मैले ’मेरो त हातको साईृज भनी भुलिसकेकि रहिछौ है’ भने मैले । अनि युसवाट त आई फोन पो ल्याइदिनुपर्छ नि के घडी ल्याईरा’ भने मैले । अनि उसले आफ्नो हातको आई फोन दिँदै भनेकी थिई ’लिउ न त यही आईफोन नंया हो आउने वेला किनेको । मसँग अर्को पनि छ, म त्यो नै लिउँला ।’ (पहिला हामी आफ्ना कतिपय सामानहरू साटेर युज गर्थ्यौ उ वेला, त्यही रमाइलो लाग्थ्यो ।) मैले भने हैन, ठिकै छ । म त्यो अर्को लिउँला नित भनेर यो आईफोन उसकै हातमा पोको पारिदिएको थिए । उ बोल्दै गई खासमा मैले धेरै सोचेर नै घडी ल्याईदेको हो । फेसबुकमा तिम्रा सबै पोस्ट र फोटा हेर्थै मैले । हरेक फोटोमा जति हेरे पनि तिम्रो नाडीमा घडी देखिन त्यसैले ल्याईदेको । हो, मोबाइल चलाउँदै जाँदा नाडीमा घडी वाध्न छाडेका थिए मैले ।

अहिले त यो घडी बिग्रेको दिनको कल्पना पनि म गर्न सक्दिन । अरू टेबुलतिर हेरे, अर्कै रौनक थियो । त्यसको तुलनामा हामी बिचको वातावरण निरस लाग्दो थियो । भ्यालेन्टाइन डेको कुनै रङ्गले हामीलाई छोएको थिएन । उ पनि पहिला जस्तो चञ्चल थिइन, अलि गम्भीर नै देखिएकी थिई । अगाडि भनिः ल भन न त चार वर्ष कसरी वितायौ रु कुनै वेला मलाई सम्झेनौ है रु मैले पनि ढुक्क भएर भनेः म वाचामा पक्का थिए । मलाई कुनै पछुतो छैन । उसले नजिकै आएर भनी : त्यो त विगत भो । भोलिको बारेमा केही सोचेका छैनौ रु बहस गर्न मन लागेन अनि भने ’भोलिको लागी भोलि नै सोचौला नि । फेरि भोलि कसले देखेको छ र शुभ’ (धेरै नजिक अनुभव गर्दा उसलाई मैले शुभ नै भन्थे, अचानक त्यही नाम नै मुखबाट निस्कियो मेरो) । तिमी धेरै सिरियस भएछौ आजकल । ठिक छ । तिमीसँग धेरै शेयर गर्नु छ मलाई । भनन त मैलै भने । आज हैन, अर्को दिन उसले भनी । किन नि रु मैले साधे । एक दिनमा नि सकिन्न । हप्तौँ लाग्न सक्छ । के छ र त्यस्तो धेरै मैले भने । धेरै छ । विगतको अनुभव अनि अव आउने दिनहरूको बारेमा । तिमीसँग धेरै कुरा गर्नु छ । तर यस्तो पब्लिकमा पनि हैन । मेरो कुरा बुझ्न तिमी बाहेक अरू कोही छैन यहाँ ।

अँ । बरु भन कहिले भेट्ने रु कहाँ भेट्ने रु अलि समय मिलाऊ है सहर भन्दा बाहिरै जाउला । ’जाउला नि त नगरकोट’ केही नसोची भनिदिए मैले । ओके । ’भन कहिले जाने रु ’ उसले यसो भन्दा बेकार भनेछु जस्तो पो लाग्यो मलाई । ’तर यो नेपाल हो नि, यु युस हैन है’ मैले भने । उसले भनी ’उम् थाहा छ नि । अर्को साता तिर प्लान गर ल । ’ खै के सोचेर हो, मुन्टो हल्लाइदिए मैले पनि । केही वर्ष पहिला आआफ्नो विल तिरेर अलग्गिएका हामी आज मैले विल तिर्न लाग्दा मेरो नाडी त्यो नारीले च्याप्प समाई र मुसुक्क हाँस्दै भनी ’डलर बाँकी नै छ नि मसँग’ । बाहिर निस्केर हल्का हग गर्न भुलिन उसले । तर पहिला जस्तो प्रेमिल हग नभएर यसपालि चाही परीक्षामा कम नम्बर ल्याएर हतोत्साही भएको विद्यार्थीले उसको शिक्षकले ढाडस दिँदै प्रोत्साहित गर्न गरेको हल्का हग जस्तो लाग्यो मलाई । मेरो उत्साहहीन र निरीह प्रतिक्रियाको बदलामा उ खुसीले मस्किँदै हात हल्लाउँदै बाटो लागी, पहिलो जस्तै । मैले हेरिरहे उ पर पुगुन्जेल । एउटा स्पष्ट फरक महसुस गरे कि पहिला उ चञ्चल, अस्थिर र केटाकेटी जस्तो लाग्थ्यो भने म परिपक्व, जिम्मेवार र उच्च मनोबल सहित उत्साहित थिए । आजको दिनमा परिस्थिति र समयले हाम्रा यी गुणहरू एक आपसमा साटफेर गरिदिएछ । उ परिपक्व, जिम्मेवार, उत्साहित र स्थिर देखिई, म चाहिँ पुरै अस्थिर, चञ्चल र हतोत्साहित मनस्थितिमा । आफैसँग लाज पनि लागेर आयो । सोचे ’स्टुपिड म’ ।
पृथ्वी साच्चिकै गोलाकार रहेछ । …………………………….

एक हप्ता पछि हाम्रो भेट नगरकोटमा भयो । शुभेच्छासँगको त्यो नगरकोटको भेटले हामी बिचको सम्बन्ध मात्र हैन, मेरो सोच, शैली र जीवनको गोरेटो नै पुरै युटर्न गरिदियो ।
क्रमशः …..

सिंहदरवार ह्याङ-१ 

सिंहदरवार ह्याङ-२

Tags :
प्रतिक्रिया दिनुहोस