कोरोना भाइरस : सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना भाइरस : सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ


प्रशासन संवाददाता

२१ माघ २०७६, मंगलबार


काठमाडौं । विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले नेपाललगायत विभिन्न देशले उच्च सतर्कता अपनाएको छ ।

नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सावधानी अपनाइएको छ । चिकित्सकले व्यक्ति आफैँले सावधानी अपनाउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने बताएका छन् । स्वास्थ्य सेवा विभागका डा हेमन्त ओझा विशेष गरी सरसफाइमा ध्यान दिने, माक्स लगाउने, भिडभाडमा नजाने, बिरामीलाई छोएमा हात राम्ररी सफा गर्नेलगायत सावधानी अपनाए यसबाट जोगिन सक्ने बताए ।

अध्यागमन विभागका कर्मचारीलाई कोरोना भाइरसको विषयमा आज जानकारी दिँदै डा.ओझाले नेपालको सीमा चीनसँग जोडिएकाले केही सङ्क्रमण बढ्ने हो की भन्ने आशंका भए पनि अहिलेसम्मको अवस्थामा नेपाल सुरक्षित रहेको बताए । पर्यटकसँग हेलमेल हुने भएकाले अध्यागमनका कर्मचारीले भने विशेष सावधानी अपनाएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

अन्तरक्रियाका क्रममा विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डा रुबेलले रोगको औषधि पत्ता नलागेकाले लक्षण अनुसारको उपचार गरिने जानकारी दिँदै व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्नेमा जोड दिए । चीनको वोहान प्रान्तमा देखिएको उक्त भाइरस सोही क्षेत्रबाट आएका एक नेपालीमा पनि देखिएपछि सङ्क्रमण बढ्न सक्ने आशंकामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालको अवस्था सामान्य रहेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताए । सावधानी अपनाएर काममा लाग्न उनले कर्मचारीलाई निर्देशन दिए।

नोभेल कोरोना भाइरस विश्वका २२ बढी मुलुकमा देखिइसकेको छ । यसले रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन ९डक्लुएचओ० ले पुष्टि गरिसकेको छ ।

नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस